विजयपुर । खोटाङका बाँदरबाट पीडित बनेका किसानहरू सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बाँदर नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार लामो समयदेखि बाँदरको आतंकका कारण खेतीपाती नष्ट हुँदै आएपछि किसानहरू कृषि औजारसहित सडकमा निस्किएका हुन् । दिक्तेल बजारमा किसानहरूले बाँदर नियन्त्रणको माग गर्दै विरोध ¥याली निकाले । हलो, जुवा, कुटो, कोदालो, दाँते, बेल्चालगायत कृषि औजार बोकेर सडकमा उत्रिएका उनीहरूले सरकारको ध्यानाकर्षण गराउँदै बाँदर नियन्त्रण गर्न माग गरे । प्रदर्शनमा सहभागी किसानहरूले “बाँदर व्यवस्थापन गर्नै पर्छ”, “गाउँमा बाँदर भरियो, कृषक भोकै परियो”, “नेपाल सरकार जिन्दाबाद, बाँदर घटाउ जनताको साथ”, “जग्गा सबै बाँझै छन्, खेती गरे खाइदिन्छ”, “किसान सबै एक होऔं” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरूले बाँदरको समस्या समाधानका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । किसानहरूका अनुसार बाँदर आतंकका कारण बाली जोगाउनै मुस्किल छ । बाँदरकै कारणले बाली उत्पादन शून्यजस्तै भएपछि धेरै परिवार आफ्नो घरजग्गा छाडेर बसाइँसराइ गर्न बाध्य भएका छन् । गाउँमा खेतीयोग्य जमिन बाँझिँदै गएको र जीविकोपार्जनको विकल्प नभएपछि बसाइँसराइको विकल्प नभएको कृषकहरूको गुनासो छ ।

तस्बिरः रासस
































