विजयपर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्देशकको क्षेत्राधिकारमा पर्ने अस्पताल फार्मेसीमा कर्मचारीको मिलेमतोमा साढे २ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ । प्रतिष्ठानले बिरामीका लागि आवश्यक पर्याप्त औषधि उपलब्ध गराउन नसकेको भन्ने आलोचना खेप्दै आएको फार्मेसीमा मातहतका कर्मचारीहरू औषधि खरिददेखि लिएर बिरामीबाट आएका पेसा अपचलन गरेको पाइएको छ । 

प्रतिष्ठानको फार्मेसीमा भएको समस्या बाहिरिएपछि उपकुलपतिको निर्देशनमा बनेको छानबिन समितिको प्रतिवेदनले २ करोड ५२ लाख ६० हजार ९ सय ६८ रुपैयाँ १४ पैसा फार्मेसीमा अपचलन गरेको उल्लेख गरेको छ । प्रतिष्ठानको फार्मेसीमा अनियमितता भएको सार्वजनिक भएपश्चात् २०८२ असोज ३० गते गठित छानबिन समितिले ५ महिना लामो सूक्ष्म अध्ययनपश्चात् बुझाएको प्रतिवेदनमा करोडौं अपचलन भएको उल्लेख गरिएको छ । अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद मातहतमा रहेको अस्पताल फार्मेसीमा कर्मचारीहरूले मिलेमतो गरी प्रतिष्ठानलाई उक्त रकम बराबर प्रत्यक्ष नोक्सानी, दोहोरो भुक्तानी र दैनिक बिक्रीबाट सङ्कलित रकम बैङ्क दाखिला नगरी अपचलन गरेको उल्लेख गरिएको छ । 

हाडजोर्नी विशेषज्ञ डा. विष्णु पोखरेल संयोजकत्वको समितिले प्रतिष्ठानको अस्पताल फार्मेसीको लेखा प्रणाली अत्यन्तै अस्तव्यस्त, अपारदर्शी र संस्थागत बेथितिको चरम् अवस्थामा रहेको निष्कर्ष निकालेको छ । “नेपाल सरकारको ‘अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२’ को भावना विपरीत, प्रतिष्ठानको फार्मेसी सेवा बिरामीलाई सुलभ सेवा दिने उद्देश्यभन्दा पनि निश्चित समूहको व्यक्तिगत लाभ र संस्थागत दोहनको केन्द्र बनेको देखिन्छ” प्रतिवेदनमा भनिएको छ, “जनशक्ति व्यवस्थापनमा आउटसोर्सिङको गलत प्रयोग, आर्थिक हिनामिना हुँदासमेत मौनता साध्नु र जनशक्ति आपूर्तिकर्तासँगको सम्झौताको म्याद समाप्त भएको ५ वर्षसम्म पनि नवीकरण नगरी निजसँगै काम सुचारु राख्नुले नेतृत्वको गम्भीर लापरबाही र मिलेमतोलाई पुष्टि गर्दछ ।” “सफ्टवेयरमा एड्मिन अधिकारको दुरुपयोग, खरिद र बिक्रीको हिसाबमा तादात्म्यता नहुनु तथा स्टक गणनामा देखिएको अन्तरले फार्मेसीभित्र ठूलो मात्रामा आर्थिक अनियमितता र भ्रष्टाचार भइरहेको प्रमाणित गर्छ”– प्रतिवेदनमा भनिएको छ । 

साधारण लेखा ज्ञानसमेत नभएको व्यक्तिलाई जिम्मेवारी सुम्पिनु र कुनै पनि तहबाट जवाफदेहिता वहन नगर्नुले यो एक योजनाबद्ध ‘संस्थागत मिलेमतो’ देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले गम्भीर त्रुटीहरूले प्रतिष्ठानलाई दीर्घकालीन आर्थिक भार थोपर्दै फार्मेसी सेवालाई नै धरासायी बनाएको ठहर गरेको छ । “संलग्न दोषी पक्षहरूमाथि कडा कानूनी कारबाही र प्रणालीमा तत्काल आमूल सुधार नगर्ने हो भने प्रतिष्ठानको साख र सार्वजनिक विश्वास पूर्णरूपमा समाप्त हुने खतरा देखिन्छ”–प्रतिवेदमा उल्लेख गरिएको छ ।

हालको अवस्थामा फार्मेसी काउन्टरहरूले औषधि बिक्रीबाट सङ्कलित दैनिक रकम बैङ्कमा दाखिला गर्नुपर्नेमा हालसम्म जम्मा नभएको कुल रकम १० लाख ११ हजार ८ सय ६७ रुपैयाँ ११ पैसा रहेको छ । साथै ओपिडी काउन्टरको मौज्दातको घाटा ५२ लाख ३६ हजार ६ सय ५१ रुपैयाँ ३४ पैसा रहेको छ । आकस्मिक कक्षको काउन्टरको मौज्दातको घाटा ४ लाख ८३ हजार ९ सय ६२ रुपैयाँ १७ पैसा छ ।

सर्जरी काउन्टरको मौज्दातको घाटा १९ लाख ५८ हजार ४ सय ३६ रुपैयाँ ७८ पैसा छ । गाइनो काउन्टरको मौज्दातको घाटा ७ लाख ९२ हजार ७ सय ४९ रुपैयाँ १० पैसा गरी जम्मा रकम ८४ लाख ७१ हजार ७ सय ९९ रुपैयाँ ३९ पैसा बराबरको औषधि तथा औषधिजन्य सामग्री फेला नपरेको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै बल्क काउन्टरको मौज्दातको घाटा ७६ लाख ४१ हजार ३ सय १६ रुपैयाँ ४८ पैसा र एक्स्पाइररी काउन्टरको मौज्दातको घाटा ८१ लख ३५ हजार ९ सय ८५ रुपैयाँ १६ पैसा गरी जम्मा १ करोड ५७ लाख ७७ हजार ३ सय १ रुपैयाँ ६४ पैसा बराबरको औषधि तथा औषधीजन्य सामग्री फेला नपरेको प्रतिवेदनमा उल्लेख छ ।

“मौज्दातको कुल घाटा २ करोड ४२ लाख ४९ हजार १ सय १ रुपैयाँ ३ पैसा र बिक्रीबाट सङ्कलित बैङ्क दाखिला हुन बाँकी १० लाख ११ हजार ८ सय ६७ रुपैयाँ ११ पैसा गरी जम्मा २ करोड ५२ लाख ६० हजार ९ सय ६८ रुपैयाँ १४ पैसा प्रतिष्ठानलाई प्रत्यक्ष नोक्सानी देखिन्छ”–प्रतिवेदनमा भनिएको छ । दैनिक बिक्रीबाट सङ्कलित रकम समयमै बैङ्क दाखिला नगरेको कारणले भएको नोक्सानी छुट्टै रहेको प्रतिवेदनले भनेको छ ।

नोक्सानी र क्षतिपूर्तिको जिम्मेवारीका विषयमा प्रतिष्ठानका प्रवक्ता शमसेर श्रेष्ठले विभिन्न समयमा फरक–फरक व्यक्तिले जिम्मेवारी लिएको बताएका छन् । उनले फार्मेसी निर्देशकको नेतृत्वमा हुनुपर्ने तर उक्त समयको नेतृत्वमा जिम्मेवारीबारे जानकारी नभएको बताए । तर, प्रतिष्ठानका अस्पताल निर्देशक जिम्मेवारीप्राप्त व्यक्ति भएको प्रतिष्ठान स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार फार्मेसीको जिम्मेवारी अस्पतालको निर्देशक हुन्छ भने प्रतिष्ठानको हकमा औषधि तथा उपचार समिति (ड्रग एण्ड थेरापिट्सः डिटिसी) समितिको प्रमुख हुन्छ । प्रतिष्ठानमा डिटिसीको प्रमुख निर्देशक हुन्छन् । उक्त समयमा फार्मेसीको प्रमुख भने लक्ष्मण महर्जन थिए ।

अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ को दफा १५ मा औषधि बिक्रीबाट दैनिक सङ्कलित रकमको हिसाब किताब र फरफारक गरी बैङ्क दाखिला गर्ने जिम्मेवारी दायित्व अस्पताल प्रमुख वा निजले तोकेको व्यक्ति लेखा प्रमुखको रहेकोमा सो बमोजिम बैङ्क दाखिला गर्ने जिम्मेवारीसमेत आपूर्तिकर्ताद्वारा खटाइएका कर्मचारीहरूलाई दिइएको छ । फार्मेसीको लेखा शाखाको र हिसाब किताब चुस्तदुरुस्त नराखेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दैनिक बिक्रीबाट सङ्कलित रकमको बैङ्क दाखिला र हिसाबमिलान फार्मेसी लेखा प्रमुख, फार्मेसी प्रमुख तथा माथिल्लो निकाय जिम्मेवारी र उत्तरदायित्वबाट पन्छिएको प्रतिवेदनमा भनिएको छ । यस विषयमा बुझ्नका लागि प्रतिष्ठानका निर्देशक डा. जगतनारायण प्रसादलाई फोनसम्पर्क गर्दा फोन उठाएनन् । फार्मेसीको कर्मचारीले नै औषधि बिक्रीबाट प्राप्त नगद बुझ्न र सङ्कलित रकम आफै बैङ्क दाखिला गराउने जनशक्ति आपूर्तिकर्तासँग सम्झौता नभएको उल्लेख गरेको छ ।

कारबाही गरी असुल गर्न सुझाव

प्रतिवेदनले प्रतिष्ठानको फार्मेसी सेवामा देखिएका गम्भीर विचलन र अनियमितताहरूलाई तत्काल सुधार गरी संस्थागत पारदर्शिता कायम गर्न ‘आर्थिक अनियमितताका सम्बन्धमा तत्काल कानूनी परामर्श लिई प्रत्यक्ष वा परोक्षरूपमा संलग्न पदाधिकारी एवम् कर्मचारीहरूमाथि कडा विभागीय तथा कानूनी कारबाही गर्न र  प्रतिष्ठानले व्यहोर्नु परेको आर्थिक भारको यकिन मूल्याङ्कन गरी उक्त रकम जिम्मेवार व्यक्तिहरू र सम्बन्धित आपूर्तिकर्ताबाट असुलउपर गर्न प्रतिवेदनले सुझाएको छ । सफ्टवेयर प्रणाली मिदास सफ्टवेयरले प्रतिष्ठानको जटिल वित्तीय र मौज्दात व्यवस्थापन गर्न नसकेको उल्लेख गरेको छ ।

प्रतिष्ठानले आफ्नै स्थायी वा करार प्रक्रियामार्फत् आफ्नै दक्ष कर्मचारीहरू नियुक्त गरी सेवा सञ्चालन गर्न सुझाव दिएको छ । वित्तीय व्यवस्थापनका लागि योग्य, अनुभवी र व्यावसायिक लेखापाल नियुक्त गर्नसमेत सुझाव दिएको छ । स्टोरमा प्राप्त हुने औषधि तथा औषधिजन्य सामग्रीहरूको व्यवस्थित रेकर्ड र डाटा इन्ट्रीका लागि फार्मेसी विषयको आधारभूत ज्ञान भएका दक्ष प्राविधिक कर्मचारीहरूलाई मात्र जिम्मेवारी दिइनुपर्ने, फार्मेसीमा खरिद, भण्डारण र बिक्री प्रक्रियाको नियमित अनुगमन गर्न एउटा ‘चेक एण्ड ब्यालेन्स’ प्रणाली विकास गर्न प्रतिवेदनमा सुझाव दिइएको छ । फार्मेसीमा आवश्यक पर्ने औषधि खरिदका निम्ति एकमुष्ठरूपमा बोलपत्र आह्वान गर्नुभन्दा आइटम स्पेसिफिक भई बोलपत्र आह्वान गरेर आपूर्तिकर्ताहरूबीच प्रतिस्पर्धा गराउन प्रतिवेदनमा सुझाव दिइएको छ ।

अस्पताल आफैले फार्मेसी नचलाएर सम्झौताविपरीत केटिएमलाई  

प्रतिवदेनमा अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ जारी भएपश्चात् जेठ २९ गतेदेखि फार्मेसी सञ्चालन गर्न जनशक्ति व्यवस्थापन गर्ने निर्णय भएको थियो । फार्मेसीको जनशक्ति व्यवस्थापनमा २०७३ जेठ २६ गते बोेलपत्र आह्वान हुँदा प्रतिष्ठान उपकुलपति प्रा.डा. बलभद्र दास थिए । बोलपत्रमा केटिएम सेक्युरिटी प्रा.लि.लाई कर्मचारीको जिम्मेवारी दिन स्वीकृत गरिएको थियो । सम्झौताअनुसार कर्मचारीले बन्दहड्ताल, कालोपट्टि, तालाबन्दीजस्ता कार्य गर्न नमिल्ने उल्लेख थियो ।

आफूहरू अन्यायमा परेको भन्दै सम्झौताविपरीत केटिएस सर्भिस प्रा.लि.बाट खटिएका सहायक फार्मासिष्टहरू विभिन्न माग राखी २०८२ साउन १८ गतेदेखि बन्दहड्तालमा उत्रिएको प्रतिवेदनमा भनिएको छ । उक्त बन्दहड्तालका विषयमा छानबिन गर्न सहायक अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूको संयोजकत्वमा गठित समितिले भौतिक परीक्षण गरी २०८२ असोज १० गते प्रतिवदेन पेस गरेको थियो ।

उक्त प्रतिवेदन विवरणका आधारमा थप अनुसन्धान गर्न र बीपी फार्मेसीमा भएका औषधिको भौतिक परीक्षणलगायतका अन्य विषयमा अध्ययन गर्न डा. विष्णु पोख्रेलको संयोजकत्वमा गठित समितिले २०८२ फागुन ८ गते प्रतिवेदन बुझाएको थियो । प्रतिष्ठानका निर्देशकबाट चैत ९ गते प्राप्त रायको आधारमा चैत १० गते कार्यकारिणी समितिको बैठकमा पेस गरिएको थियो । प्रतिष्ठानले चैत १० गते नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा निर्देशन माग गरेको छ । 

प्रतिष्ठानद्वारा मन्त्रालयसँग आदेश माग

छानबिन समितिले प्रतिष्ठानलाई हानि नोक्सानी हुने गरी करोडौंको अपचलन गरेको प्रतिवेदन बुझाएको एक महिनापछि यही चैत १० गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई उपकुलपति प्रा.डा. श्रेष्ठले पत्र पठाएका छन् । छानबिन समितिले किटान गरेर प्रतिवेदन दिएपछि तत्काल कार्यकारिणी समितिको बैठकबाट निर्णय गरी मन्त्रालयमा निर्देशनका लागि उपकुलपति प्रा.डा. श्रेष्ठले पत्र पठाएका हुन् ।

मन्त्रालयलाई पठाइएको पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाललाई समेत बोधार्थ दिइएको छ । मन्त्रालयलाई पठाइएको पत्रमा फार्मेसी अस्पताल निर्देशकको क्षेत्राधिकारभित्र पर्ने भएकोले निर्देशक स्वयम् जिम्मेवार हुने उल्लेख गरेको छ । प्रतिवेदन प्राप्त हुने बित्तिकै अस्पताल निर्देशक डा. जगत नारायण प्रसादसँग राय मागेको थियो । उनको रायसमेत संलग्न गरी प्रतिष्ठानले मन्त्रालयलाई प्रतिवेदन बुझाएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठान स्रोतका अनुसार विगतमा उपकुलपति तथा अस्पताल निर्देशकसहित मिलेर काम गरेको र आफूले पनि त्यही कामलाई निरन्तरता दिएको र अनियमिततामा आफ्नो कुनै संलग्नता नभएको राय दिएर पन्छिन खोजेको पाइएको छ । व्यक्तिगत स्वार्थमा तत्कालीन उपकुलपति प्रा.डा. बीपी दास र अस्पताल निर्देशक डा. जगत नारायण मिलेर फार्मेसीको जनशक्ति केटिएम सेक्युरिटीलाई दिने भनेर करारनामा गरिएको थियो । पछि जगत नारायणले मिलेमतोमै उक्त कम्पनीलाई पटक–पटक म्याद थप गरेर जिम्मेवारी दिएका थिए । 

यस विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पत्रबारे जानकारी लिएर प्रक्रिया अगाडि बढाउने बताए ।