विराटनगर । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनिवार्य स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका प्रशिक्षार्थीलाई ‘पास’ गराएको आरोपमा यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख सतिश सत्याल जिम्मेवारीबाट हटाइएका छन् ।
गम्भीर अनियमितताको उजुरी र अनुगमनका क्रममा कैफियत भेटिएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले उनलाई मन्त्रालयमा तानेको हो । मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार बिहीबारको निर्णयानुसार नवौं तहका अधिकृत सत्याललाई मन्त्रालयमा हाजिर गराएर औपचारिक छानबिन प्रक्रिया अघि बढाइएको छ । हाल उनलाई कुनै जिम्मेवारी दिइएको छैन ।
लाइसेन्स जारी वा नवीकरण गर्दा गरिने स्वास्थ्य परीक्षणमा चिकित्सकले फेल गरेका व्यक्तिहरूलाई समेत मोटो रकम लिएर पास गराउने गरेको लिखित तथा मौखिक गुनासो मन्त्रालयमा पुगेको थियो । आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीको निर्देशनमा सचिव तामाङ नेतृत्वको टोलीले केही दिनअघि कार्यालयमा छड्के अनुगमन गरेको थियो । “अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई उत्तीर्ण गराइएको प्रमाण फेला परेको छ” सचिव तामाङले भने, “त्यसलगत्तै उहाँलाई जिम्मेवारीबाट अलग गरी थप अनुसन्धान थालिएको हो ।” अनुगमन टोलीले सत्यालको कार्यकक्षमा रहेका दराजसमेत सिल गरेको छ । स्रोतका अनुसार यसअघि पनि उनलाई पटक–पटक मौखिक सचेत गराइएको थियो ।
यातायात कार्यालयहरूमा हुने मेडिकल ‘सेटिङ’ रोक्न मन्त्रालयले गत कात्तिक १६ देखि विशेषज्ञ चिकित्सक खटाउने व्यवस्था गरेको थियो । झापाको बिर्तामोडमा दुई, इटहरीमा दुई र विराटनगरमा एक विशेषज्ञ चिकित्सक नियुक्त गरी स्वास्थ्य परीक्षणलाई कडाइ गर्न खोजिएको थियो । तर, चिकित्सकले अयोग्य ठहर गरेका सेवाग्राहीलाई समेत कार्यालय प्रमुखकै तहबाट ‘उत्तीर्ण’ गराउने गरिएको मन्त्रालयको दाबी छ ।
यता, सत्यालले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएकालाई पैसा लिएर पास गराएको कुरा निराधार रहेको दाबी गरे । “कतिपय सेवाग्राहीलाई मर्का परेको अवस्थामा नियमसङ्गत रि–चेक (पुनः परीक्षण) को सिफारिस गरिएको हो” उनले भने, “त्यसैलाई गलत रूपमा व्याख्या गरियो ।” घटनाको सत्यतथ्य छानबिन गर्न मन्त्रालयले यातायात व्यवस्था महाशाखा प्रमुख उर्मिला निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई दुई साताभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ । समितिले आइतबारदेखि नै काम सुरु गरिसकेको र प्रतिवेदनका आधारमा थप प्रशासनिक वा कानूनी कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ ।
सत्याल मन्त्रालय तानिएपछि इटहरी कार्यालयको दैनिक प्रशासन सञ्चालनका लागि वरिष्ठ शाखा अधिकृत सुवास कार्कीलाई निमित्त प्रमुखको जिम्मेवारी तोकिएको छ ।































