विराटनगर । विगतमा कुखुराको मासु बेच्न र मासु काट्नबाट व्यस्त रहने विराटनगर–११ पिचराका सन्तोष भुजेल अचेल दिनभरि पसलमा झिँगा धपाएर बस्छन् । केही साताअघिसम्म उनीसँग ग्राहकले रोजेको कुखुराको मासु जोख्न र काट्न भ्याई नभ्याई हुन्थ्यो । ‘न्यू क्वालिटी फ्रेस हाउस’ मा दैनिक ६० देखि ८० केजीसम्म मासु बिक्री हुने गरेको थियो । तर, अहिले समय बदलिएको छ, व्यापार फेरिएको छ ।
“बजारमा बर्डफ्लुको हल्ला चलेपछि कुखुराको मासु बिक्री हुन नै छाड्यो” भुजेलले भने, “अहिले त दिनभरिमा मुस्किलले ५ किलो बिक्री हुन्छ । व्यापार ह्वात्तै घट्यो, पसलको १० हजार भाडा उठाउन पनि धौ–धौ भइसक्यो ।” मासु पसल सुनसान बनेपछि उनी अब विकल्प खोज्ने मनस्थितिमा पुगेका छन् ।
यो अवस्था सन्तोषको मात्र होइन, विराटनगरका अधिकांश मासु पसलहरूको अवस्था अहिले यस्तै छ । कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि उपभोक्ताको भान्साबाट कुखुराको मासु हराउन थालेको छ ।
पिचराकै आसिका श्रेष्ठको परिवारमा हप्ताको पाँच दिन कुखुराको मासु पाक्थ्यो । तर, दुई सातायता उनले फ्रेस हाउसको बाटो नै फेरेकी छन् । “सञ्चारमाध्यममा बर्डफ्लुको समाचार दिनदिनै आउँछ, डर लागेर मासु ल्याउन छाड्यौँ” उनले भनिन्, “अहिले मासुको साटो शाकाहारी तरकारी र अन्य विकल्प रोज्ने गरेका छौँ । केही समय कुखुराको मासु नखाने योजना छ ।”
विराटनगरकै जेनिसा डङ्गोलको भान्सामा पनि अहिले कुखुराको मासु निषेधजस्तै छ । “जताततै बर्डफ्लुकै हल्ला छ, त्यसैले फ्रेस हाउस जान छोडेको धेरै भइसक्यो” उनले भनिन्, “अहिले कुखुराको साटो कहिलेकाहीँ खसीको मासु ल्याउने गरेका छौँ ।”
उपभोक्ताको यही त्रासले बजारमा मासुको मूल्यसमेत घटेको छ । हाल प्रतिकेजी ३ सय ६० रुपैयाँमा जिउँदो ब्रोइलर कुखुरा उपलब्ध भए पनि किन्ने मानिस छैनन् । व्यापारीले कुखुरा नउठाउँदा यसको प्रत्यक्ष मारमा किसानहरू परेका छन् ।
१६ फार्ममा सङ्क्रमण, ६६ हजार कुखुरा नष्ट
कोशी प्रदेशमा चैत ३ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिन थालेको हो । मोरङको सुन्दरहरैंचा–४ स्थित हलेसी महादेव कृषि फार्ममा अचानक कुखुरा मर्न थालेपछि सङ्कलन गरिएको नमुनामा चैत ४ गते सङ्क्रमण पुष्टि भएको थियो । त्यसलगत्तै सङ्क्रमण अन्य फार्महरूमा पनि फैलियो ।
पशुपन्छी महाशाखा प्रमुख दीपा दियालीका अनुसार मोरङ, सुनसरी र झापाका १६ वटा फार्ममा हालसम्म सङ्क्रमण पुष्टि भइसकेको छ । सुनसरीका ८, मोरङका ६ र झापाका २ वटा कृषि फार्ममा सङ्क्रमण देखिएपछि ठूलो सङ्ख्यामा कुखुरा नष्ट गरिएको छ ।
चैत १२ गतेसम्मको तथ्याङ्कअनुसार तीन जिल्लामा गरी ६६ हजार ३२ वटा कुखुरा नष्ट गरिएको छ । जसमा ६४ हजार ८ सय ९७ लेयर्स र १ हजार १ सय ३५ ब्रोइलर कुखुरा छन् । “सङ्क्रमण फैलिने क्रम अहिले पनि पूर्णरूपमा रोकिएको छैन” दियालीले भनिन्, “हामीले जिल्लाहरूबाट क्षतिको विस्तृत विवरण माग गरेका छौँ, त्यो आउने क्रममै छ ।”
सङ्कटमा किसान र व्यवसायी
बर्डफ्लुको मार केवल उपभोक्ता र साना व्यापारीमा मात्र सीमित छैन । ठूलो ऋण लिएर व्यवसाय सुरु गरेका किसानहरू अहिले सडकमा पुग्ने अवस्था आएको लेयर्स कुखुरापालक सङ्घ मोरङ–सुनसरीका अध्यक्ष होम बास्कोटा बताउँछन् ।
“अहिले बजारमा कुखुराको मासुको व्यापार ५० प्रतिशतले घटेको छ” बास्कोटाले भने, “मोरङ र सुनसरीमा मात्रै ७४ वटा लेयर्स कुखुरा फार्म छन् । लाखौँ ऋण लिएर फार्म चलाएका किसानहरू प्रतिफल लिने बेलामा सङ्क्रमण देखिएपछि ठूलो आर्थिक सङ्कटमा परेका छन् ।”
मन्त्रालयले ‘रेपिड रेस्पोन्स टिम’ परिचालन गरेर सङ्क्रमण नियन्त्रणको प्रयास गरिरहेको बताए पनि बजारमा फैलिएको त्रास र किसानको खोरमा देखिएको सङ्क्रमणले पूर्वी नेपालको पोल्ट्री व्यवसायलाई नै धरासायी बनाउने जोखिम बढेको छ ।
विराटनगर–११ पाञ्चालीमा रहेको विराट फ्रेस हाउसका सञ्चालक सन्तोष साह अहिले कुखुराको साटो खसीको मासु जोख्न व्यस्त देखिन्छन् । बर्डफ्लुको त्रासले कुखुराको मासु बिक्री शून्य भएपछि उनले व्यापार टिकाउन रणनीति बदलेका हुन् । उनी भन्छन्, “ग्राहकले कुखुराको मासु छुनै छाडे, त्यसैले अहिले खसीको मासुको व्यापारमा बढी ध्यान दिएको छु ।”
































