विराटनगर । विराटनगरमा तास खेलिरहेको अवस्थामा एक जनप्रतिनिधिसहित नौ जना व्यापारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीले शनिबार राति विराटनगरस्थित वंशी राठीको घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा विराटनगरका स्थापित व्यवसायीहरू मात्र नभई बहालवाला जनप्रतिनिधिसमेत रहेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ का वडासदस्य शेरसिंह दुगड रहेका छन् । दुगड गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट वडासदस्यमा निर्वाचित भएका थिए । उनी मारवाडी युवा मञ्चको पूर्व अध्यक्ष पनि हुन् ।

वडासदस्य दुगडसँगै पक्राउ पर्ने अन्य व्यापारीहरूमा राजविहारी बिहानी, पवन शर्मा, वासु राठी, बलराम खत्री, महेश राठी, बजरङ्ग राठी, सुशील मुन्दडा र विनीतलाल लालबनी रहेका छन् । पक्राउ परेकाहरू विराटनगरका व्यावसायिक घरानियासँग जोडिएका व्यक्तिहरू हुन् । मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले विशेष सूचनाका आधारमा राति नै टोली खटाएर उनीहरूलाई तास खेलिरहेकै अवस्थामा पक्राउ गरिएको जानकारी दिए । “हामीले उनीहरूको साथबाट झण्डै एक लाख रुपैयाँ नगद र तास बरामद गरेका छौँ” एसपी कटवालले भने, “जुवा ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।”