• वेणु काफ्ले

विषय प्रारम्भ
आर्थिक, सामाजिक दृष्टिकोणबाट विश्वको वातावरण नियाल्दा एउटा भयावह दृश्य आँखा अगाडि अटाई नअटाई नाच्न थाल्छन् । यो पीडाबाट नेपाल पनि अछुतो रहेको छैन । कोभिड १९ को विश्वव्यापी महामारीले नेपाली जनमानसमा धेरै प्रकारका परिवर्तनहरु आत्मसात् गरेर अगाडि बढ्न उत्प्रेरित गरिरहेको छ । आर्थिक रुपले विकासोन्मुख अवस्थामा रहेको राज्य विकासका गतिलाई अझ धिमा गतिमा अगाडि बढाउन बाध्य बन्दै गएको छ ।

हाम्रो देश राजनैतिक रुपमा गणतान्त्रिक मुलुक बनिसकेको वर्तमान परिवेशमा लीला दिदीले नेतृत्व गरेको पार्टी आज सरकार सञ्चालनको नेतृत्व गरिरहेको छ । सरकार झण्डै दुइ तिहाइ नजिक छ ।जनतालाई देखाएका सुन्दर नेपालको सपना साकार बनाउने अवसर प्राप्त भएको छ । नेपालका दुई ठूला कमनिष्ट पार्टीहरु एकीकृत भएका छन् । सामाजिक, आर्थिक, राजनैतिक, लैंगिक रुपमा पछाडि परेका जनसमुदायलाई राष्ट्रको मूल धारमा समाहित गर्ने कामको प्रारम्भ भएको छ । पढ्नसमेत नपाएका नेपाली महिलाहरु राजनैतिक नेतृत्व गर्न सक्षम भएका छन् । आमाको नामबाट नागरिकता पाउने कुराले कानुनी आधार पाएको छ ।पैत्रिक सम्पतिमा छोरीको समान अधिकार, विभेदकारी कानुनको अन्त्य, महिला हिंसा विरुघद्ध कानुनी उपचार पाउने व्यवस्थाले महिला र पुरुष विचको विभेदलाई केहि हद सम्म नियन्त्रण गरेको छ ।

नेपालमा राजनैतिक रुपले विकासको गति समातेका बेला नेकपाभित्र वैधानिक तरिकाले पार्टी सञ्चालन नगर्ने, नेताहरुलाई देवता र दानवको रुपमा चित्रित गर्ने पार्टी एकीकरणका नाममा पार्टीगत गतिविधिहरु व्यवस्थित नगर्ने, जनसंगठनहरु अस्तव्यस्त बनाउने जस्ता समस्याहरु देखापरेका छन् । यी यस्ता समस्याहरु रहेको वर्तमान परिवेशमा यो क्षेत्रबाट निर्विकल्प नेतृत्व गर्नूहुने आदरणीय अग्रज लीला दिदीको अभाव खड्किएको छ ।
लीला दिदी हामी वीचबाट अस्ताउनु भएको पनि आज दश बर्ष वितिसकेको छ । पछिल्लो पुस्ताले वहाँलाई नचिन्नु स्वभाभिक नै हो तर पुरानो पुस्ताले पनि वहाँलाई सम्झन सकोस् भनी लीला दिदीका बारेमा छोटो परिचय पस्कन चाहन्छु ।

नेपालको महिला मुक्ति आन्दोलनको नेतृत्व गर्नेधरै अग्रज महिलाहरुले आफ्नो जीवनको ऊर्जाशील समयलाई व्यक्तिगत स्वार्थभन्दा पनि सामाजिक र राजनैतिक परिवर्तनका लागि गरिरहे । जसको निरन्तरताको मेहनत र परिश्रमका बावजुद आज नेपाली समाजले राजनैतिक स्वतन्त्रता प्राप्त गरेको छ । समाजमा रहेका थेप्रै कुरीति र कुसंस्कारमा सुधार आएको छ, तर यसलाई निमिट्यान्न पार्न सकिएको छैन र यसरी नेपाली समाजको परिवर्तनमा नै नेपाली महिलाहरुको मुक्ति सम्भव रहेको भन्दै पूर्वी नेपालको सुनसरी जिल्लालाई मुख्य कार्यथलो बनाएर नेपाली समाजको परिवर्तनको नेतृत्व गर्ने एक महिला नेतृ हो लीला श्रेष्ठ (सुव्बा) । वि. सं. २०४६ को राजनैतिक परिवर्तन पछाडिको संसदीय अभ्यासमा पहिलो महिला उपसभामुखका रूपमा आफ्नो छविलाई स्थापित गर्न सफल व्यक्तित्वको रूपमा लिइन्छ लीला श्रेष्ठ (सुव्बा)–लाई ।

जीवनका मोडहरू
जन्मः नेपालको इतिहासमा पहिलो महिला उपसभामुखका रूपमा सर्वसम्मत निर्वाचित महिला नेतृ लीली श्रेष्ठ (सुव्बा) को जन्म वि. सं. २००५ साल कात्तिक ५ गते ताप्लृजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सम्मागु पाँचपले (साबिक सिगैंचा गा. वि. स. वडा ९)–मा भएको थियो । आमा सुकमती र बाबु अम्बरबहादुर मेयाङ्वोका चार छोरा र दुई छोरी गरी छ सन्तानमध्ये चौथो सन्तानका रूपमा लीला श्रेष्ठको जन्म भएको थियो ।
शिक्षाः लीला दिदीको जन्म ताप्लेजुङमा भएता पनि समयको चक्रसँग घुम्दै जाँदा १२ वर्षको उमेरमा परिवारका साथ धरान झर्नुभएको थियो । धरान उपमहानगरपालिका क्षेत्रमै रहेको हालको सहिदस्मृतिमा. वि.बाट आफ्नो शैक्षिक जीवनक प्रारम्भ गरेर धरानकै डिपो मा. वि. बाट वि. सं. २०२४ सालमा प्रवेशिका परीक्षा उतीर्ण गर्नुभएको थियो । उच्च शिक्षा अध्ययनका क्रममा केही समय राजधानीको अमृत साइन्स क्याम्पसमा अध्ययन गर्नु भएता पनि प्रवीणता प्रमाणपत्र तह भने धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट २०२९ / ३० मा पूरा गर्नुभएको थियो । स्नातक र स्नातकोत्तर अध्ययनका लागि तत्कालीन समयमा धरानबाट भारतको बनारस जाने चलन देखिएकाले वहाँ पनि त्यतै लागेको देखिन्छ । वहाँले बनारसको काशी हिन्दु विश्वविद्यालयबाट सन् १९८० मा द्वितीय श्रेणीमा स्नातक र सन् १९८२ मा इतिहास विषयमा द्वितीय श्रेणीमै स्नातकोत्तर पूरा गर्नुभएको थियो ।
दाम्पत्यः युवा अवस्थाको प्रवेश र प्रवेशिका परीक्षाको सफलतापश्चात् लीला दिदी धरानमा रहेको पूर्वाञ्चल यातायात कम्पनि प्रा. लि. मा कार्यतर रहँदाको समयमा परिचय भै सहकार्य गर्नुभएका वहाँका सहयात्री ध्रुवलाल श्रेष्ठसँग पारिवारिक असहमतिका बावजुद अन्तरजातीय बिवाह गनुर््भएको थियो । सुखद दाम्पत्यका सबै उपलब्धीहरू मिले तापनि परिवार–सुखको प्राप्ति मानिने सन्तानलाभबाट वञ्चित हुनु प्राकृतिक बाध्यता बन्यो सायद वहाँलाई ।
आदतः घरपालुवा जनावरहरू कुकुर र बिरालाप्रतिको अतिशय स्नेहभाव सायद लीला दिदीको मातृत्वको असीमित प्रेम थियो । अध्ययनशीलता वहाँको विशेषता थियो । वैचारिक र साहित्यिक किताबहरू पढिरहने श्रेष्ठ समकालीन राष्ट्रिय र अन्तराष्ट्रिय राजनैतिक, सामाजिक, आर्थिक परिवेशप्रति सचेत र जानकार हुनुमा यही सबल कारण थियो ।
आर्थिक रूपबाट पछाडि परेका सामाजिक रूपबाट पछाडि पारिएका व्यक्तिहरुप्रति सादरभाव राख्ने दिदीले पैदल यात्राका क्रममा भेटिएका अपरिचित मजदुर किसानसँगको व्यवहार देख्ने जो कोही पनि वहाँबाट प्रभावित हुन्थ्यो ।श्रमको सम्मान गर्ने स्वभावले होला कुनै एउटा श्रमिक र उच्च पदस्थ व्यक्तिका बीचमा गर्ने व्यवहार र बोलीचालीमा कुनै फरक धारणा राख्नुहुन्नथ्यो ।
समाजमा फरक स्वभावका र एक अर्काका परस्पर विरोधीहरुलाई समेत एकै स्थानमा राखेर सहजरूपमा काम गर्ने वातावरण तयार गर्न सक्ने क्षमता दिदीमा देखिन्थ्यो । नेपाली समाजमा प्रचलित एउटा उखान कुकुर र बिराला (परस्पर विरोधी स्वभावका एक अर्कालाई जन्मजात शत्रु मान्ने) जीवहरुसमेत मिलेर दिदीको घरमा एउटै थालीमा खानेकुरा खाएको पहिलो पटक देख्ने व्यक्ति अचम्मित हुन्थ्यो ।

अवसानः लामो समयदेखि स्नोफिल रोगबाट पीडित लीला दिदीको जीवनको अवस्था केही पीडादायक रह्यो । सुखदुःखका अनुभूतिहरु बाँडिए तापनि रोगको पीडा स्वयंले सहनुपर्ने वाध्यता वहाँमा पनि लागु भयो । अस्पताल र घर गरेर उपचार गराइरहनुभएकी लीला दिदी जीवनदेखि हारेको अनुभूति कहिल्यै गर्नुहुन्नथ्यो । स्वास्थ्य अवस्था केही सामान्य हुनसाथ अध्ययनमा क्रियाशील हुने स्वभावले पनि होला आफूलाई सहज देखाउनुहुन्थ्यो । मृत्यु हुनुभन्दा केही दिन अगाडि अस्पतालबाट घर आइमात्र पुग्नु भएको समयमा संयोगले वहाँकोमा पुग्दा र जीवन र भोगाइका बारेमा केही कुरा लेखिदिन आग्रह गर्दा साथी हो म अहिल्यै मर्दिन पर्खनुहोस् समय आएपछि लेखौंला भन्नु भएको शब्द अहिले पनि ताजै भएर कानमा गुञ्जन्छ । तर समयको क्रूरताले वहाँसँगको त्यही भेटलाई अन्तिम बनाइदियो । अन्ततः२०६७ असार २७ लाई आफ्नो जीवनकै अन्तिम दिन बनाउँदै हाम्रा आशा र अपेक्षाहरुलाई अधुरै छाडेर लीला दिदी हामीबाट सदा सदाका लागि बिदा हुनुभयो ।
व्यक्तित्वका आयामहरू
लीला दिदीको व्यक्तित्व बहुआयामिक देखिन्छ । खासगरी राजनीति, साहित्य, समाज र संस्कृतिका क्षेत्रहरूमा वहाँले दिनुभएका योगदान नै वहाँको बहुमुखी व्यक्तित्वका प्रकाशक बनेका छन् ।
राजनैतिक व्यक्तित्व ः सानैदेखि अन्याय, अत्याचार, कुरीति कुसंस्कारप्रति सचेत भएकाले होला लीला दिदीले आफूले कुरा बुझेदेखि भौतिकवादी दर्शनलाई आत्मसात् गरेको कुरा वहाँसँगको सङ्त गर्ने जो कोहीले सहजै अनुमान गर्न सक्थ्यो । त्यसैले होला वहाँ सदैव प्र्रगतिवादी विचारबाट निर्देशित हुनुहुन्थ्यो । यही कारणले नै होला वहाँलाई नेपालको कम्युनिष्ट आन्दोलनभन्दा टाढा रहन नदिएको पनि । ताप्लेजुङमा जन्मिएकी लीला दिदीलाई राजनैतिक दर्शनबाट निर्देशन गर्ने व्यक्तिको खाँचो भैरहेका समयमा स्नातक पढाइको सिलसिलामा बनारसमा भेटिनुभएका नेपाली राजनीति र साहित्यमा स्थापित व्यक्तित्व मोदनाथ प्रश्रितको सङ्गतले तत्कालीन ने. क. पा. मालेमा सक्रिय गरायो ।

२०३६ देखि कम्युनिष्ट पार्टीमा सक्रिय लीला दिदी २०३७ पछि पुनर्गठित अखिल नेपाल महिला संघको सुनसरी जिल्ला समिति बनेदेखि नै महिलाहरुको नेतृत्व गर्दै रहनु भएको थियो । २०४२ सालमा सम्पन्न भएको सुनसरीको पहिलो जिल्ला सम्मेलनले वहाँलाई सचिवको जिम्मेवारी दिएको थियो । त्यसपछिका दिनहरुमा कोशी अञ्चलको नेतृत्व गर्दै अगाडि बढ्नुभएकी लीला दिदी अनेमसंघको २०५५ पुसमा विराटनगरमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।२०४७ सालमा ने क पा मालेको सदस्यता प्राप्त गर्नुभएकी लीला दिदीले तत्कालीन माले र माक्र्सवादीको पार्र्टीएकीकरणपश्चात स्थानीय तहदेखि जिल्ला, अञ्चल, राष्ट्रिय परिषद् सदस्य हुँदै ने क पा एमालेको केन्द्रीय सल्लाहकार कमिटीको सदस्य समेत रहेर काम गर्नुभएको थियो ।

राष्ट्रिय स्तरका निर्वाचनमा सुनसरी जिल्ला इतिहास रच्न सफल जिल्ला हो । २०४६ को राजनैतिक परिवर्तनभन्दा पछाडिका सबै निर्वाचनहरुमा यो जिल्लाका कुनै न कुनै निर्वाचन क्षेत्रबाट ने क पा एमालेले एकजना महिलालाई उमेदवार बनाएकै छ । यसको सुरुवात २०४८ सालको निर्वाचनमा लीला दिदीबाटै भएको हो र हालसम्म पनि यो कायम नै छ । २०४८ सालको आम निर्वाचनमा सुनसरी जिल्लाको दुई नं निर्वाचन क्षेत्रबाट उमेदवार हुनु भएकी लीला दिदी पहिलो पटक पराजित हुनुभएको थियो । २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा सुनसरी जिल्लाको एक नं निर्वाचा क्षेत्रवाट निर्वाचित भएर प्रतिनिधिसभाको सदस्य बन्ने सुअवसर प्राप्त गर्नुभयो । तत्कालीन अवस्थाको प्रतिनिधिसभामा भएका थोरै महिला सांसद्हरुमा वहाँको उपस्थिति संसद्का लागि निकै महत्वपूर्ण थियो । वहाँले उठाएका राजनैतिक र सामाजिक विषयले संसद्मा निकै गहकिलो विषयका रूपमा प्रवेश पाउनुले वहाँको व्यत्तित्वमा उचाइ थपिरहेको थियो । यसै क्रममा तत्कालीन उपसभामुख रामविलास यादवले राजीनामा दिएपछि २०५५ सालमा नेपालको इतिहासमा प्रमुख महिला उपसभामुखका रूपमा सुनौला अक्षरले आफ्नो नाम लेखाउन लीला दिदी सफल बन्नुभयो ।

साहित्यिक व्यक्तित्वः समाज परिवर्तनको यात्रामा हिंडेका यात्रीहरुले समाजमा रहेका खराव कुराहरुलाई त्याग्न सक्नु पर्छ र समाजका अन्य व्यक्तिहरुलाई आफ्नो पछाडि लगाउन सके मात्र साँच्चैको नेता बन्न सकिन्छ । लीला दिदीले नेपालका नवजवानहरुलाई नेपालमै रहेर देशको संमृद्धिका लागि लाग्न शिक्षा दिने फक्ल्याण्ड कथा संङ्ग्रह प्रकाशित गरी चर्चित कथाकारका रूपमा पनि आपूmलाई स्थापित गर्न सफल हुनुभएको थियो ।वहाँका थुप्रै कविताह्रु विभिन्न पत्र पत्रिकामा प्र्र्रकाशित भएको पाइन्छ । वहाँको मृत्युपश्चात् केही मनकारी व्यक्तित्वहरुको सहयोगमा केही समयअगाडि नवीनतम कविता सङ्ग्रह प्रकाशित भएको छ ।

सामाजिक व्यक्तित्व ः समाज र समाजको वास्तविक चित्रलाई आर्थिक सामाजिक रूपले परिवर्तनका लागि अहोरात्र मेहनत गर्ने सामाजिक व्यक्तित्वका रूपमा पनि लीला दिदीले आफ्नो परिचय बनाउनुभएको थियो । खुल्ला र सहज परिस्थितिमा मात्र नभएर पञ्चायती तानासाही व्यवस्थामा समेत जनताका दुःखपीडामा सहभागी हुन रुचाउने लीला दिदी २०४५ सालको भूकम्पले धरानआसपासका क्षेत्रमा रहेका भूकम्प पीडित जनतालाई राहत वितरण गर्ने क्रममा प्रहरी हिरासतमा पु्ग्नुभएको थियो । समाजमा रहेका विभिन्न सामाजिक संस्थामा आवद्ध भएर सामाजिक कार्यमा सक्रिय दिदीले तत्कालीन समयमा कुन्ता शर्मा, सावित्री श्रेष्ठ, राधा गुरुङ, नैनकला न्यौपाने, सविता न्यौपानेलगायतका महिलाहरुको सहयोगमा महिला र बालवालिकाका क्षेत्रमा काम गर्नका लागि २०४८ सालको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शिल्प विकास तथा अनुसन्धान केन्द्र नामक सामाजिक संस्थाको स्थापना गर्नु भएको थियो ।उक्त संस्था आज पनि सक्रिय रूपमा क्रियाशील छ । 

योगदानको मूल्याङ्कन
व्यक्तिलाई अमर राख्ने उसका सुकर्म र सुकीर्तिले नै हो । लीला दिदीले गरेका यावत् योगदानले पनि समाजलाई बाटो देखाइरहेको छ । धरानलाई पहिलो महिला उपसभामुखको गृहनगरका रूपमा अहिले पनि चिनाएको छ भने धराने जनताले पनि वहाँले पु¥याउनुभएको योगदानलाई बिर्सेको छैन । आज धरानमा लीला श्रेष्ठ सुब्बाका नाममा प्रतिष्ठान गठन भएको छ । वहाँको लगानीबाट सिञ्चित पार्टी वहाँको सम्मानमा धरानमा लीला श्रेष्ठ सुब्बा सुरक्षित मातृत्व कार्यक्रमको घोषणा गरेको छ । धरान उपमहानगरपालिकाले यो कार्यक्रम सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था गरिरहेको छ भने वहाँको अन्तिम अवस्थामा बसोबास रहेको धरान नगरको ७ नं.वडाले यो कार्यक्रम सञ्चालनमा ल्याइसकेको छ ।

लीला श्रेष्ठ सुब्बा स्मृति प्रतिष्ठानको पहलमा वहाँका जीवनसाथी श्री ध्रुवलाल श्रेष्ठले उदारमनका साथ निःशुल्क प्रदान गर्नुभएको धरान –७ को पाँचधुर जग्गामा प्रतिष्ठानको आफ्नै भवननिर्माणको प्रक्रियासमेत अघि बढिसकेको छ । गणतान्त्रिक नेपाल, धरानका प्रथम मेयर तारा सुब्बा संस्थापक अध्यक्ष रहनुभएको प्रतिष्ठान पुनर्गठनसहित क्रियाशील भइरहेको छ ।
यसरी प्रतिष्ठानमार्फत् धरानले हाम्रा प्रथम उपसभामुखका व्यक्तित्वका बहुआयामहरूको अनुशीलनलाई निरन्तरता दिँदै लीला दिदीलाई सम्मानस्मरण गरेर सबैमा प्रेरणा र ऊर्जाको सम्प्रेषण गरिरहेको छ ।
(लेखिकाकाफले लीला श्रेष्ठ सुब्बा स्मृति प्रतिष्ठान, धरानकी अध्यक्ष हुनुहुन्छ ।)