• भूमिराज पराजुली

दमक / आकाश गर्जिन थालेपछि झापा गाउँपालिका–३ टप्पुका टेकबहादुर कामीको मुटु पनि निचोरिएर आउँछ । तीन वर्षअघिको घटना दिमागमा नाच्न थाल्छ । २०७४ साल साउन महिनाले उनलाई दोस्रो पटक एक्लो बनायो ।

२०५६ सालमा पहिलो पटक एक्लो बने । श्रीमती हर्कमाया गुमाएका उनले एक दशक पीडामै गुजारे । २०६६ सालमा कान्छी श्रीमतीका रूपमा कमलालाई भिœयाए । कमलाको पेटमा लालाबाला पनि हुर्कियो । २०७१ सालमा छोरीका पिता बने । एकपछि अर्को खुसी प्राप्त गरेका टेकबहादुरले २७ साउन २०७४ मा जीवनमै नसोचेको बज्रपात सहनु प¥यो । कन्काई खोलाको भँगालोले श्रीमती कमला र साढे तीन वर्षीया छोरी सम्झनालाई निल्यो ।

कन्काईको भँगोलोले दोस्रो पटक टुहुरो बने । त्यो घटना अहिले पनि मनमा ताजै छ । आकाश गर्जिंदा उनको मुटु पनि गर्जिन्छ । श्रीमती कमला र छोरी सम्झना बित्ने अघिल्लो दिन हाजिरामा छिमेकीको खेतमा दिनभरि रोपाइँका लागि बिउ उखेलेका थिए । छोरी सम्झना घरी खेतको आलीमा घरी बिउ उखेल्न ब्याडमा छिरेको झल्झली सम्झिँदै उनी भक्कानिन्छन् । ‘मलाई पनि त्यही भँगालोले किन लगेन १’–उनी भन्छन् ।

टेकबहादुर पाँचथरबाट सुख खोज्दै झापा झरेका थिए तर झापाले उनलाई कहिल्यै सुख दिएन । झापा झरेको दुई वर्ष नबित्दै २०५६ सालमा जेठी श्रीमती हर्कमाया गुमाए । एक्लो जीवन बाँचिरहेका उनी कमलालाई दोस्रो सहारा बनाए तर कन्काई नदीले उनीहरूको मिलनलाई देखी सहेन । अन्ततः उनलाई बुढेसकालमा एक्लो बनाइछाड्यो ।

भेलले बगाएको श्रीमती र छोरीको सद्गत गर्न पनि राम्रोसँग पाएनन् । चार दिनपछि शव नचिनिने अवस्थामा भेटियो । त्यही पनि संस्कार अनुसार सद्गत गरे । भएको झुपडी नदीले कहाँ पु¥याइदियो अत्तोपत्तो थिएन । पुनः झुपडी बनाएर जीवनमा अन्तिम दिनहरू गनिरहेका छन् । वर्षा लागेपछि उनको सुताइ घरमा हुँदैन । छिमेकी देवेन्द्र राईको घरमा जान्छन् । श्रीमती र छोरीको यादमा त्यो झुपडी छाडेका छैनन् ।

सिङ्गो गाउँ नै उच्च जोखिममा
२०७४ सालमा कन्काईमा आएको बाढीको भँगालो गाउँ पस्दा टेकबहादुरको परिवार मात्र होइन, नौ जनालाई एकै रातमा निल्यो । टेकबहादुरको जस्तै समस्या भोग्ने त्यस क्षेत्रमा धेरै छन् । हरेक वर्ष त्यहाँका नागरिकले बाढीको कहर खेप्दै आएका छन् । झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झापाले समेत झापाका साना–ठूला २८ नदीनालामध्ये मुख्य ९ वटा नदी नालाले दमक नगरपालिकाबाहेकका पालिकामा प्रभावित पार्ने गरेको जनाएको छ । हरेक वर्ष बाढीबाट प्रभावितहरूलाई विभिन्न क्षेत्रका स्कुल, सामुदायिक भवन, रेडक्रस, मन्दिरलगायतका भवनमा राख्ने गरिन्छ ।

लगातार वर्षा भइरहेकाले पानीको बहाव बढेमा बिरिङ, कन्काई, रतुवा, मेची, निन्दा, देवनिया, फुलवासा, हडिया, टाङ्टिङ, नेते, कमल र बनियानी नदीले बढी क्षति गर्ने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । बाढी प्रभावितमध्ये झापामा कन्काईले कटान शुरु गरिसकेकाले झापा गाउँपालिका–३ का सुवान हास्दा नदीको बहाव गाउँ पस्यो भन्ने सुन्दा मात्र पनि आङ जिरिङ्ग हुने सुनाउँछन् । आफूभन्दा पनि परिवार बचाउन सकिन्छ कि सकिँदैन, घरमा भएका छोराछोरीलाई जोगाउन नसक्दा कतै ठूलै दुर्घटना पो हुने हो कि भन्ने चिन्ता उनमा थपिन्छ ।

हास्दाको जस्तै पीडा त्यहाँका आस्माद महम्मदको पनि छ । अहिले कन्काईको बाँध कटान भएपछि चिन्ता बढेको महम्मदले ब्लाष्टसँगको कुराकानीमा बताए । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायतले कटान गरेको ठाउँमा बाँसका किला गाड्दै बोरा भर्ने काम गरे पनि उर्लंदो कन्काईको भेलले कुन बेला बगाउँछ भन्ने पिर पर्ने गरेको उनी सुनाउँछन् । कन्काईका विभिन्न ठाउँमा तटबन्ध गरे पनि सबैतिर तटबन्ध गर्न नसक्दा झापा गाउँपालिका बाढीको उच्च जोखिममा छ । कन्काईले धार नै परिवर्तन गर्दै टप्पुमा बाँधेको बाँध भत्काउन थालेपछि अहिले टप्पुवासी मात्र होइन, झापाको दक्षिणी क्षेत्रका अधिकांश मानिस आकाश गड्याङगुडुङ गर्दा झस्कन्छन् ।

झापा गाउँपालिकाले विपद् व्यवस्थापनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि त्यतिले मात्र नपुग्ने गाउँपालिकाकी उपाध्यक्ष कुन्तादेवी बुढाथोकी बताउँछिन् । कन्काईले वर्षाको समयमा रौद्र रूप देखाउँदा वास्तवमै झापा गाउँपालिका एक्लैले केही गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । प्रदेश सरकार र सङ्घीय सरकारले समेत बाढीबाट बचाउने दीर्घकालीन योजना सञ्चालन गर्नुपर्ने उनले बताइन् ।

हरेक वर्ष वर्षायाम शुरु भएसँगै कन्काई, बिरिङ, टाङ्टिङ, रतुवा, मावालगायतका खोलाले झापामा रौद्र रूप देखाउँछन् । अविरल वर्षापछि खोलामा पानीको सतह बढेर बस्तीमा पस्दा झापाका धेरै नागरिकले हरेक वर्ष ज्यान गुमाउँदै आएका छन् भने सयौं परिवार विस्थापित हुनुका साथै लाखौंको धनमाल नष्ट हुन्छ । विपद् व्यवस्थापनका लागि विभिन्न उपाय अपनाइए पनि वर्षायाम शुरु भएसँगै झापाका विभिन्न खोलामा आएको बाढीले विशेष गरी साउन र भदौ महिनामा झापाको जनजीवन अस्त–व्यस्त बनाउने गरेको छ ।

यो वर्ष पनि असारको दोस्रो साता कन्काईमा आएको बाढीले झापा गाउँपालिकाको जनजीवन अस्त–व्यस्त बनाएको छ । जिल्लाकै सबैभन्दा बढी बाढी प्रभावित क्षेत्रका रूपमा चिनिएको झापा गाउँपालिकाका सर्वसाधारण सामान्य पानी पर्दासमेत त्रासमा बाँच्नु परेको छ ।

jhapa badhi 1 copy