सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण सञ्चालनमा आउन नसकेका उद्योग, प्रतिष्ठान एवम् यातायातका साधनको बिमा पोलिसीको म्याद लकडाउनको अवधिसम्म थप गर्ने व्यवस्था गरिए पनि निर्जीवन बिमा कम्पनीहरूले बिमितहरूलाई दुःख दिने गरेका छन् । देशमा लकडाउनसँगै यातायातका साधन थन्किएपछि सञ्चालकहरू तनावमा छन् । बिमा समितिले पनि बिमितहरूलाई राहतको व्यवस्था गर्न निर्देशन दिइसकेको अवस्थामा पनि बिमा कम्पनीहरूले सरकारको नीति र बिमा समितिको निर्देशनसमेत लत्याएर बिमितसँग पैसा असुलिरहेका छन् । विपद्का बेला आफ्ना बिमितहरूलाई सहयोग गर्नुपर्नेमा नवीकरण छुटसमेत नदिएर धरानका अधिकांश निर्जीवन बिमा कम्पनीहरूले कमाउ धन्दा चलाएका छन् । यो बिमितहरूमाथि गरिएको अव्यवहारिक र अव्यवसायिक कार्य हो । यस्तो गैरजिम्मेवार कार्यको अन्त्य हुनु जरुरी छ ।

त्यसो त एक नम्बर प्रदेशको आर्थिक ऐनले पनि सवारी साधन बिग्रेको वा अन्य कुनै कारणबाट चलाउन नपाएको भनी नेपाल सरकार, प्रदेश सरकारले ठह¥याएको कुनै व्यक्ति वा संस्थाको नाममा दर्ता भएको सवारी साधनलाई सवारी साधन कर नलाग्ने व्यवस्था गरेको छ । धरानका निर्जीवन बिमा कम्पनीले यो व्यवस्थालाई पनि मानेनन् । बिमालाई व्यापार मात्र होइन, सेवा पनि भन्ने गरिएको छ । समस्यामा पर्दाको जोखिम वहनका लागि नै कुनै व्यक्ति वा संस्थाले पैसा तिरेर बिमा गराएको हुन्छ । तर बिमा कम्पनीहरू आफ्नो व्यापारमा मात्र केन्द्रित हुँदा यस्ता समस्याहरू आउँछन् । बिमा कम्पनीहरूले बिमितहरूको सुविधालाई ध्यान नदिने हो भने भोलिका दिनमा बिमाको व्यापार घट्ने निश्चित छ । सबै प्रकारको बिमा निश्चय पनि राम्रै उद्देश्यले गरिएको हुन्छ । जीवन बिमा होस् या निर्जीवन बिमा विस्तारै नेपालमा पनि बिमाको बजार बढिरहेको छ । तर बिमितलाई झुक्याउने, ढाँट्ने, छल्ने बिमा कम्पनी र तिनका एजेण्टहरूका कारण बिमाप्रति आमजनमानसले अहिलेपनि विश्वास गर्न सकेका छैनन् । बिमा गराउने बेलामा अनेक प्रलोभन देखाएर पैसा हात पार्ने अनि बिमा पाउनका लागि धेरै झन्झट व्यहोर्नु पर्ने समस्याका कारण पनि जनमानसमा यसको प्रभाव बढ्न सकेको छैन ।

विश्वमा विकसित मुलुकहरूले हरेक कुराको बिमा गराउने गरेका हुन्छन् । त्यहाँका अधिकांश नागरिकले जीवन र निर्जीवन बिमा गराएकै हुन्छन् । विकसित मुलुकहरूमा बिमा नीति सहज पनि छ । तर नेपालमा भने बिमा एजेण्टहरूलाई पनि रातारात धनी बन्ने सपना देखाएर प्रशिक्षण दिइन्छ । अनि तिनै एजेण्टहरू बिमितलाई पनि वास्तविकताभन्दा बढाई चढाई गरेर बिमा गराउँछन् । निर्जीवन बिमा भने कतिपय अवस्थामा सरकारको नीतिका कारण पनि गर्नुपर्ने अवस्था छ । वास्तवमा बिमा बिमित र कम्पनी दुवैलाई फाइदा हुने व्यवसाय हो । तर मौकामा कमाउ धन्दा चलाउने, बिमितलाई सुविधाभन्दा दुःख बढी दिने बिमाका कर्मचारी र एजेण्टहरूका कारण यो व्यवसायले आम नागरिकको विश्वास जित्न सकेको छैन । त्यसैले बिमा व्यवसायलाई अझ बढाउने हो भने बिमा क्षेत्रमा भएका विकृतिहरूको अन्त्य गरिनु आवश्यक छ । त्यसको शुरुवात यो लकडाउनको समयमा सरकार र बिमा कम्पनीका नीति निर्देशन लत्याउने कम्पनीहरू र तिनका कर्मचारीहरूलाई कारबाही गरेर अघि बढाउनु आवश्यक छ ।