• हर्ष सुब्बा

(२०५०/०५१ मा नेपाल पत्रकार सङ्घ र स्विडेनको गोथेनवर्ग युभिर्सिटी, आमसञ्चार विभागसँगको पत्रकारिता तालिम आदान–प्रदान कार्यक्रम अन्तर्गत एक महिने तालिममा सहभागी हुनका लागि बुझाइएको छलफलपत्रको रूपमा तयारी गरिएको लेख । २७ वर्षअघिको अप्रकाशित लेखले त्यस बेलाको नेपाली पत्रकारिताको स्थिति झल्काउँछ । लेखको अङ्ग्रेजी अनुवाद नरप्रसाद लिम्बू लुम्फुङ्वाले गर्नुभएको थियो ।)

नेपाली प्रेसको इतिहास त्यति लामो छैन । नेपाली पत्रकारिताको इतिहास भनेको प्रजातन्त्र प्राप्तिका लागि गरिएको सङ्घर्षकै एउटा पक्षको रूपमा रहेको छ । यो छोटो इतिहासमा राजनीतिक विचारबाट प्रभावित रही नेपाली प्रेस तथा पत्रकारिता अघि बढ्दै आएको प्रष्ट देख्न सकिन्छ । नेपालमा प्रजातन्त्र प्राप्तिका लागि नेपाली प्रेसले खेलेको भूमिका यसैबाट पनि आँक्न सकिन्छ ।

नयाँ भूमिका
भर्खरै नेपालमा बहुदलीय प्रजातन्त्रको बहाली भएको छ । हिजो प्रजातन्त्र प्राप्तिका लागि नेपाली प्रेसले जुन भूमिका निर्वाह ग¥यो, अब प्राप्त प्रजातन्त्रलाई जोगाउन त्योभन्दा उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने भएको छ । अब नेपाली प्रेस तथा पत्रकारिताले निर्वाह गर्नुपर्ने नयाँ भूमिका निकै जटिल छ । त्यो नयाँ भूमिका कस्तो हुनुपर्दछ भन्ने कुराको चर्चा अहिले नेपालमा हुन थालेको छ । तर, यो विचार अहिले प्रारम्भिक चरणमा नै भएकोले यसले निश्चित अवधारणाको स्वरूप लिन सकेको छैन । यस्तो अवस्थामा यो विचारलाई व्यापक छलफलको विषय बनाइनु पर्दछ ।

मेरो विचारमा नेपाली पत्रकारिताको त्यो नयाँ भूमिका व्यावसायिक पत्रकारिता र क्षेत्रीय आधारमा प्रेस तथा पत्रकारिताको विकाससँग सम्बन्धित छ । २०४६ सालको जुन आन्दोलनले नेपालमा दोस्रो पटक प्रजातन्त्र ल्यायो, त्यसलाई विश्लेषण गर्दा देशको सीमित शहरी क्षेत्र र देशको जनसङ्ख्यात्मक अनुपातमा थोरै शिक्षित वर्गमा मात्र प्रजातन्त्रप्रतिको प्रतिबद्धता रहेको अनुभव गर्न सकिन्छ । राजधानी काठमाडौं र तराई क्षेत्रका केही ठाउँमा मात्र उक्त आन्दोलन सक्रिय रूपमा चलेको कुराले यसलाई पुष्टि गर्दछ । यसरी शहरी क्षेत्र बाहेकका जिल्लाहरूमा अझै पनि राजनीतिक प्रतिबद्धताको अभाव छ भन्न गाह्रो छैन । प्रजातन्त्रको स्थायीत्वका लागि केही गर्ने हो भने यसलाई गम्भीरतापूर्वक हेर्नु पर्दछ ।

आमसञ्चारको माध्यम
नेपालमा आमसञ्चारको माध्यममा सरकारी रेडियोको नाम पहिलो पंक्तिमा आउँछ । टेलिभिजन केही शहरी क्षेत्रमा नै सीमित छ । यसपछि आउने आमसञ्चारको माध्यम समाचारपत्र, समाचार पत्रिका हुन् । तर, पत्र पत्रिकाले नेपालमा पूर्णरूपमा आमसञ्चार माध्यमको स्वरूप लिन सकेको छैन । नेपालमा अहिलेसम्म कुल ७ सय २४ वटा समाचारपत्र, पत्रिका रजिष्ट्रेशन भएका छन् । ५ सय ५९ साप्ताहिक, १ सय ८ दैनिक, ३३ पाक्षिक र ४ अर्धसाप्ताहिक पत्रिका रजिष्टर्ड हुनु नेपालको शिक्षित जनसङ्ख्याको अनुपातमा अत्यन्त धेरै हो ।

तर, यी रजिष्टर्ड भएका पत्रिकाहरूमध्ये ४० प्रतिशत पत्रिकाहरू मुस्किलले छापिन्छन् । सूचना विभाग र प्रेस काउन्सिल नेपालको तथ्याङ्कअनुसार यसरी छापिने ९ दैनिक, १६ साप्ताहिक पूर्वाञ्चलमा, १५ दैनिक, ६१ साप्ताहिक, ६ पाक्षिक मध्यमाञ्चलमा, २ दैनिक, ८ साप्ताहिक पश्चिमाञ्चलमा र २ साप्ताहिक सुदूर पश्चिमाञ्चलमा नियमित देखिएका छन् । तथ्याङ्कमा यस्तो देखिए तापनि राजधानी काठमाडौं (मध्यमाञ्चल) बाट छापिने ४ वटा (२ नेपाली, २ अङ्ग्रेजी) र केही साप्ताहिकहरू मात्र राजधानी बाहिरका जिल्लाहरूमा वितरण हुने गर्दछ । यसको अतिरिक्त केही दैनिक र साप्ताहिकको राजधानीभित्र राम्रै वितरणको अवस्था छ ।

सरकारले सबै पत्रिकाहरूको वितरण स्थिति मूल्याङ्कन गर्न सन् १९९३ देखि अडिट ब्युरो अफ सर्कुलेशन गठन गरेको छ । तर त्यसले वितरण सङ्ख्याको सही स्थिति प्रमाणित गर्न सकेको छैन । कान्तिपुर दैनिकले केही साताअघि प्रकाशित गरेको तथ्याङ्कअनुसार काठमाडौंमा छापिने नेपालको प्रमुख दैनिक र साप्ताहिकको तुलनामा राजधानी बाहिर छापिने पत्रिकाको वितरण सङ्ख्या अत्यन्तै न्यून छ । कतिपय पत्रिका विज्ञापन र सरकारी अनुदान पाउनको लागि नियमित छापिएको देखाउन १०÷१५ प्रति मात्र छापिन्छन् । यस्ता पत्रिका वितरणमा आउँदैनन् । अधिकतम् १ हजार र सामान्यतया ५ सयप्रति छापिने राजधानी बाहिरका पत्रिकाहरूलाई राम्रो श्रेणीको पत्रिका मान्नु पर्ने अवस्था छ । यो तथ्यबाट के प्रष्ट हुनआउँछ भने राजधानीमा छापिने सीमित पत्रिका बाहेक नेपालमा क्षेत्रीयस्तरका र स्थानीय समाचार पत्रपत्रिकाको विकास भएको छैन ।

क्षेत्रीयस्तरको प्रेसको महत्व
नेपालको शासनको मूलभूत सिद्धान्त विकेन्द्रीकरण हो । विकास, न्याय, प्रशासन, शान्ति सुरक्षा र राजनीति जस्ता मुख्य विषयलाई क्षेत्रीय तथा स्थानीयस्तरमा परिचालित मुलुकलाई ७५ प्रशासनिक एकाइहरूमा विभाजित गरिएको छ । सरकारी एकाइ र जिल्ला विकास समिति, नगरपालिका, गाविसजस्ता राजनीतिक प्रतिनिधित्वबाट गठन हुने स्वायत्त संस्थाहरूको समूह स्थानीय सरकारका रूपमा जिल्लाहरूमा सक्रिय रहेको छ । तर, जिल्लास्तरमा प्रेस र पत्रकारिताको भूमिका कतै देखिँदैन । प्रेस राज्यको चौथो अङ्ग मानिन्छ । राष्ट्रियस्तरमा प्रेसको महत्व र भूमिका प्रमाणित भइसकेको छ । त्यही महŒव र भूमिका जिल्ला तथा स्थानीयस्तरमा पनि हुनुपर्दछ ।

जनताको दैनिक जीवनसँग सरोकार राख्ने स्थानीय सरकारको निगरानीका लागि र जनतामा प्रजातान्त्रिक आस्था र प्रतिबद्धताको अभिवृद्धिका लागि स्थानीय तथा क्षेत्रीयस्तरमा प्रेस तथा पत्रकारिताको विकास हुनु अपरिहार्य छ जस्तो मलाई लाग्दछ । डेढ करोड आवादी रहेको देश नेपालको सरकारी तथ्याङ्कअनुसार साक्षरताको प्रतिशत २४ रहेको छ । क्षेत्रीय आधारमा शिक्षित र साक्षर समुदायलाई हेर्ने हो भने अखबार पढ्न सक्ने र अखबार पढेर सूचना ग्रहण गर्न सक्ने अनुपात मध्यमाञ्चल, पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चललाई श्रेणीगत रूपमा राख्न सकिन्छ । तर, प्रत्येका बिहान ताजा समाचार पढ्ने अवसर काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) ३ शहरका बासिन्दालाई मात्र छ । उपत्यकाका ६१ दैनिकमध्ये राजधानी काठमाडौंबाट प्रकाशित हुने १२ वटा दैनिक नियमित बजारमा आउने समाचारपत्र मानिन्छन् भने ३ सय ३९ साप्ताहिकमध्ये २० वटा साप्ताहिक बजारमा आउने पत्रिका मानिन्छन् ।

यसरी राजधानीबाट प्रकाशित समाचारपत्र बाहिरका इच्छुक पाठकले १२ घण्टापछि मात्र पाउँछन् । राजधानीसँग हवाई तथा सडक यातायातको सोझै सम्पर्क भएका केही शहरहरूमा यसरी पुग्ने सीमित यी पत्रिकाहरू अन्य जिल्ला तथा ग्रामीण क्षेत्रमा हुलाकबाट मगाउँदा ७ देखि १६ दिनपछि मात्र प्राप्त हुन्छन् । यो अवस्था समाचारपत्र–पत्रिका वितरण व्यवस्थापनको कमजोरीले मात्र भएको होइन । देशमा यातायात, हवाई सेवाको सीमित उपलब्धता तथा साधन र स्रोतको अभावको कारण नै यो अवस्था रहेको हो । यसरी राजधानीबाट निकै टाढाका जिल्लाहरू प्रिण्ट मिडियाबाट पनि निकै टाढा छन् भन्नु अस्वभाविक हुँदैन । यो स्थितिले देशमा बहुदलीय प्रजातन्त्र बहाल भएयता बहुदलीय प्रजातन्त्रको गतिविधि, सरकार र प्रतिपक्षको धारणा तथा बदलिँदो आर्थिक, सामाजिक मान्यताहरूको सूचना र समीक्षा समाजको व्यापकस्तरमा पु¥याउन नेपाली प्रेसले अपेक्षित भूमिका निर्वाह गर्न सकिरहेको छैन भन्ने जनाउँछ ।

प्रिन्ट मिडियाले खेल्ने भूमिका भनेको समाचार पत्र–पत्रिका पढ्ने रुचि र बानी बसेकाको समाजमा सिर्जना हुने अन्तरक्रिया हो । तसर्थ समाजको साक्षर तप्कासम्मलाई समाचार पत्र–पत्रिका पढ्ने रुचि र बानी बसाउनु प्रिण्ट मिडियाको पहिलो दायित्व हो । यो स्थितिमा पुग्नका लागि त्यस्ता पाठकको हातमा समयमा नै र नियमित रूपमा समाचारपत्र–पत्रिका पुगिरहनु पहिलो शर्त हुन्छ । दोस्रो कुरा त्यसरी सधैँ हेरिने पत्रिकामा राष्ट्रिय सन्दर्भसँगै पाठकको आफ्नो क्षेत्र, समाज र समस्याहरूको सेरोफेरो प्रतिबिम्बित हुनुपर्दछ । यी प्राथमिकताहरू राष्ट्रियस्तरमा वितरण हुने वा राजधानीमा छापिने समाचारपत्र–पत्रिकाले पूरा गर्न सकेका छैनन् र सक्दैनन् । यसको लागि स्थानीय र क्षेत्रीयस्तरका अखबार नै उपयुक्त हुनेछन् भन्ने मेरो धारणा छ ।

क्षेत्रीय प्रकाशनको स्वरूप
अहिले राजधानी काठमाडौं बाहिरबाट प्रकाशित हुने समाचारपत्र–पत्रिकाको निश्चित वितरण क्षेत्र देखिँदैन । केही साप्ताहिक प्रकाशन हुने स्थानमा स्थानीयस्तरमा राम्रै मानिए तापनि स्थानीय समाचार र विचारलाई पूर्ण रूपमा समेट्न सफल छैनन् । यसो हुनुमा पर्याप्त लगानी नहुनु र व्यावसायिक रूपमा पत्रिकालाई सञ्चालन गर्न तालिमप्राप्त र अनुभवी पत्रकारहरूको टिम नहुनु प्रमुख कारण रहेको छ । यो अवस्थामा व्यावसायिकतालाई प्रमुखता दिएर २ प्रकारको क्षेत्रीय प्रकाशनलाई राम्ररी सञ्चालन गर्न सकिन्छ ।
पहिलो प्रकार हो, स्थानीय प्रकाशन ।

राजधानी बाहिर अहिलेसम्म चलिरहेको प्रविधि लेटर प्रेस (ट्रेडिल र फ्ल्याट मेसिन) को थोरै लगानीबाट नै लोकप्रिय र व्यावसायिकरूपमा सफल स्थानीय पत्रिका सञ्चालन गर्न सकिन्छ । यसको लागि पहिलो कुरा व्यावसायिक पत्रकारिताप्रति प्रतिबद्धता हुन आवश्यक छ । २ देखि ३ जनासम्म व्यावसायिक पत्रकारको टिम र व्यवस्थापन हेर्ने २ जना जनशक्ति जुटेमा त्यस्तो टिमले सञ्चालन गरेको स्थानीय प्रकाशन अहिले राजधानीबाहिर चलेको एक व्यक्ति एक पत्रिकाको स्तर र प्रकारभन्दा अलग हुने निश्चित छ । स्थानीय राजनीति, सामाजिक समस्या, विकास र विविध पक्षमा सूचना र समीक्षामूलक समाचार एवम् टिप्पणीलाई प्रमुखता दिई स्थानीय पाठकहरूप्रति नै केन्द्रित रही सञ्चालन गरिनु पर्ने यस्तो स्थानीय प्रकाशन आर्थिकरूपमा पनि मुनाफाजन्य हुने निश्चित छ ।

दोस्रो प्रकार हो, क्षेत्रीय प्रकाशन । क्षेत्रीयस्तरमा वितरण हुने समाचारपत्र–पत्रिकाले राष्ट्रिय समाचारलाई क्षेत्रीयस्तरमा सबैभन्दा छिटो पाठकहरूसमक्ष पु¥याउन सक्दछ । ५ देखि १० जिल्लामा प्रकाशन भएकै मितिमा पत्रिकाको वितरण गर्नसक्ने व्यवस्थापन र आधुनिक प्रविधिको सङ्गठनात्मक ढाँचा स्थापना गरेर यस्तो क्षेत्रीय प्रकाशन निजीक्षेत्रबाटै पनि शुरु गर्न सकिन्छ । यातायात र हवाई सेवाको दृष्टिले क्षेत्रको केन्द्रमा रहेको स्थानबाट यस्तो प्रकाशन सञ्चालन हुनु उचित हुनेछ । उदाहरणतः पूर्वाञ्चल क्षेत्रलाई समेट्न त्यस्तो क्षेत्रीय प्रकाशन विराटनगर वा इटहरी र धरान उपयुक्त स्थल हो ।

विविध भाषामा प्रकाशनको सम्भाव्यता
क्षेत्रीय प्रकाशनको स्वरूप स्थानीय प्रकाशनजस्तै भए तापनि धेरै जिल्लाका स्थानीय विषयहरूलाई हाईलाइट गरेर गर्नुपर्ने भएकाले यसको बेग्लै महŒव छ । यस्तै क्षेत्रीय प्रकाशनको कुरा गर्दा नेपालका (राष्ट्र भाषा) नेपाली बाहेक अन्य जातीय (राष्ट्रिय) भाषामा पनि समाचारपत्र–पत्रिका सञ्चालन गर्न सकिने सम्भावना पर्याप्त मात्रामा देखिन्छ । यस्तो प्रकाशनमा तत्काल लागनी जोखिमपूर्ण भएकोले निजीक्षेत्रलाई प्रोत्साहित गर्न सरकार आफैले यसको प्रारम्भ गर्नुपर्ने आवश्यकता छ ।

नेपाल बहुभाषा, बहुसंस्कृति देश भएकाले त्यस्ता भाषा संस्कृतिको संरक्षण र विकासको पहिलो दायित्व सरकारको हुन आउँदछ । यसै सन्दर्भमा सरकारद्वारा २०५० मा गठित राष्ट्रिय भाषा नीति सुझाव आयोगले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय भाषाहरूको विकास र संरक्षणको लागि आमसञ्चारको माध्यममा यी भाषाहरूलाई प्रयोग गर्नुपर्ने सुझाव दिएको छ । आयोगको सुझावअनुसार ‘विभिन्न राष्ट्रिय भाषाहरूमा सरकारीस्तरबाट पत्र–पत्रिका प्रकाशित हुनुपर्ने देखिन्छ । किनभने यस्ता क्रियाकलापबाट यी भाषाहरूको विकास र सम्बद्र्धनका साथै यीसँग सम्बन्धित संस्कृतिको पनि संरक्षण हुन जानेछ ।’

नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने यस्ता भाषाभाषीहरू कतिपय आफ्नो मातृभाषाबाहेक अन्य भाषामा बोल्न र बुझ्न सक्दैनन् । यस्ता समुदायमा उनीहरूकै मातृभाषामा आम सञ्चारबाट सूचना प्रवाह हुनुले ठूलो महŒव राख्दछ । प्रजातन्त्रको स्थायित्वको लागि विभिन्न जाति समुदायको विविध राष्ट्रिय सन्दर्भहरूमा अन्तरक्रियाको पनि ठूलो खाँचो छ । यसको लागि जातीय भाषामा प्रकाशित हुने समाचारपत्र–पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । उपलब्ध तथ्याङ्कअनुसार २०४८ को नेपालको जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या १ करोड ८४ लाख ९१ हजार ७९ मध्ये ९३ लाख २ हजार ८ सय ८० को मूल मातृभाषा नेपाली हो । यसबाट बाँकी ९१ लाख ८८ हजार १ सय ६९ जनसङ्ख्या अन्य मातृभाषाका छन् । यसमध्ये ५ प्रतिशतका ५ वटा भाषाले यी विविध भाषाभाषीका ८१ प्रतिशत जनसङ्ख्या ओगट्दछ ।

नेपालमा ३ प्रकारका जातीय (राष्ट्रिय) भाषाहरू छन्, पहिलो लेख्य परम्परा भएको, दोस्रो लेख्य परम्परा उन्मुख र तेस्रो लेख्य परम्परा नभएका । लेख्य परम्परा नभएका ३०, लेख्य परम्परा उन्मुख १२, लोप हुन लागेका १९ र लेख्य परम्परा भएका ८ समेत ६९ भाषा पाइएका छन् । लेख्य परम्परा भएका प्रमुख भाषाहरूमा नेवारी, मैथिली, लिम्बू, भोजपुरी, अवधी, हिन्दी, उर्दू र भोटे लामा भाषा छन् । यी लेख्य परम्परा भएका भाषाहरूमध्ये नेवार बाहुल्य क्षेत्र काठमाडौं उपत्यकाबाट धेरै वर्षदेखि नेवारी भाषामा दैनिक र साप्ताहिक गरी ४ वटा समाचारपत्र प्रकाशित हुँदै आएका छन् भने जनकपुर, वीरगञ्ज, विराटनगर आदिबाट मैथिली, भोजपुरी र हिन्दी पत्रिका प्रकाशनका लागि दर्तासम्म भएको पाइएको छ । तर पूर्व तथा पश्चिमाञ्चलतिर बाहुल्य रहेको लिम्बू, राई, गुरुङ, तामाङलगायतका भाषामा समाचारपत्र प्रकाशित भएका छैनन् ।

तथ्याङ्कअनुसार लेख्य परम्परा नभएका तर धेरै सङ्ख्याले बोल्ने नेपालको महŒवपूर्ण भाषाहरूमा राई, शेर्पा, तामाङ, गुरुङ, मगर र थारु पर्दछन् । यी भाषाहरूमा समाचापत्र–पत्रिका प्रकाशन हुनु व्यावसायिकरूपमा तत्काल सम्भावना नदेखिए पनि समाचारपत्र–पत्रिका लाई आमसञ्चारको माध्यम बनाउन ठूलो योगदान पुग्ने निश्चित छ ।