यासोक । पाँचथरमा फौजी किराको प्रकोप बढ्दै जान थालेको छ । किसानले लगाएको मकै बालीमा यो किराको प्रकोप देखा परेको हो ।
जिल्लाको कुम्मायक, तुम्बेवा, फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकामा किराको प्रकोप बढ्दै जान थालेको छ । छोटो समयमा धेरै क्षति पु¥याउने फौजी किरा नियन्त्रण गर्न जिल्लाका स्थानीयतहरूले सक्रियता देखाएका छन् । लक डाउनको समयमा किसानलाई परेको पीडा सम्बोधन गर्दै धमाधम विषादी खरिद गरी अनुदानमार्फत वितरण गर्दै आएको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले बताए ।
‘एकै साथ धेरै वडामा किराको प्रकोप देखा परेको छ । उनी भन्छन्, ‘धेरै क्षेत्रमा किराको प्रभाव देखा पर्न थालेपछि वडाले प्रभावित क्षेत्रको पहिचान गर्दछन् । वडाले पहिचान गरेका किसानलाई कृषि शाखामार्फत विषादी बितरण गर्दै आएका छौं ।’
गाउँपालिकाले १ लाख रुपैयाँबाट विषादी खरिद गरेको छ । प्रकोप प्रभावित किसानलाई प्राविधिक ज्ञान दिएर विषादी प्रयोग गर्न कृषि प्राविधिक खटाएको त्रिखत्रीको भनाइ छ । फौजी किराको प्रकोपका कारण गाउँपालिकाको ५ वटा प्रभावित भएका छन् । फाल्गुनन्दको इम्बुङ, चिलिङदेन, फाक्देप र आङसराङलगायतका क्षेत्रहरू फौजी किराको प्रकोप बढेको हो ।
फौजी किराको प्रकोपबाट क्षति न्यूनीकरण र व्यवस्थापन गर्न कुम्मायक र तुम्बेवा गाउँपालिकाले पनि सक्रियता बढाएका छन् । प्रभावित क्षेत्रको पहिचान गरी विषादी वितरण गर्दै आएको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । ‘प्रकोप नियन्त्रण गर्न २ लाख रुपैयाँबाट विषादी खरिद गरेका छौँ’ चेम्जोङले भने, ‘वडाको सिफारिसका आधारमा कृषि शाखामार्फत विषादी वितरण गर्दै आएका छौ, गत वर्षको जस्तो बढी क्षति हुन नदिने गरी काम गर्दै आएका छौँ ।’
यसअघि कुम्मायक ५ को निगाले कृषि सहकारी संस्थामार्फत् कृषि ज्ञान केन्द्र पाँचथर–ताप्लेजुङले एक सय बढी किसानलाई स्प्रेसहित विषादी वितरण गरिएको थियो । जिल्लाका सुख्खाक्षेत्र कुम्मायक र तुम्बेवा गाउँपालिकामा किराको संक्रमण बढी देखिने गरेको छ ।
गत वर्ष फौजी किराको प्रकोपका कारण आधा उत्पादन घटेको थियो । मकैको बिउ समेत जोगाउँन नसकेका दुवै स्थानीय तहका ४ हजार बढी घरधुरीलाई सयौं टन मकै र बदामको बिउसमेत वितरण गरेका छन् । गाउँपालिकाको सबै वडामा किराको प्रकोप देखा पर्न थालेपछि सुरुवाती समयमै नियन्त्रणका लागि लागि परेको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।
कार्यालयले १ लाख ५० हजारमा विषादी खरिद गरी ७५ प्रतिशत अनुदानमा किसानलाई वितरण गर्दै आएको छ । सबै वडामा रहेका कृषि समूहलाई विषादी वितरण गरी कृषि प्राविधिक खटाएर किरा नियन्त्रणको प्रयास गर्दै आएको थापाको भनाइ छ ।