बाथज्वरोले मुटुमा असर गर्छ । रोग लाग्नेबित्तिकै उपचार नभएको खण्डमा मुटुमा असर पर्न सक्छ। बाथज्वरो रोगले गर्दा मुटुका तीन तहहरू पेरिकार्डियम, मायोकार्डियम र इन्डोकार्डियम सुन्निएर मुटु दुख्ने, मुटुका भल्भहरू खराब गर्ने र मुटुको आकार ठूलो भएर जाने गर्छ।
 
बाथज्वरो रोगको परीक्षण के हो ?
बाथज्वरो भएको हो वा होइन भनेर थाहा पाउन रगत परीक्षण गर्नुपर्छ। रक्तपरीक्षणमा सेता रक्तकोषहरूको संख्या निकै बढी देखिन्छ। मुटुमा यस रोगले कुनै खराबी गरेको छ वा छैन भनेर थाहा पाउन इसीजी आदि गर्नुपर्छ।
 
बाथ ज्वरोको उपचार के हो ?
साधारणतया बाथ ज्वरो लागेको खण्डमा दुई–तीन हप्तासम्म आराम गर्नुपर्छ । मुटु सुन्निएको लक्षण देखिएमा २–३ महिना आराम गर्नुपर्छ ।
एकपटक बाथज्वरो आएपछि फेरि–फेरि बाथज्वरो बल्झिरहन सक्ने भएकोले दिनहुँ पेनिसिलिन चक्की सेवन वा प्रत्येक ३–३ हप्तामा पेनिसिलिनको सुई लगाइरहनुपर्छ । मुटुमा असर नपरेकाहरुले कम्तीमा ५ वर्ष वा १८ वर्षको उमेरसम्म (जुन लामो समय हुन्छ) सुई लगाउनुपर्छ ।
 
मुटुमा असर परेकाहरुले कम्तीमा ३५ वर्षको उमेरसम्म र आवश्यकताअनुसार जिन्दगीभर सुई लगाउनुपर्छ । पेनिसिलिनको सुईले मुटुको भल्भ क्षतिग्रस्त हुनबाट जोगाउँछ । पेनिसिलिनको सुईबाट एलर्जी भएमा इरिथ्रोमाइसिन चक्की खानुपर्छ ।मुटुको भल्भ धेरै नै बिग्रिएको रहेछ भने मुटुको अप्रेशन गर्नुपर्छ ।
 
बाथ ज्वरोबाट कसरी बचाउने ?
वातावरण स्वस्थकर बनाउनुका साथै खासगरी बालबालिकाको लागि पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्छ। घाँटी, दुख्ने, हल्का ज्वरो आउने, जोर्नीहरू दुख्नेजस्ता समस्या आउँदा बेलैमा उपचार गर्नुपर्छ। यति मात्र गर्न सकेमा पनि बालबालिकालाई बाथ-मुटुको रोगबाट धेरै हदसम्म बचाउन सकिन्छ।समयमा  चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई बिरामीले चिकित्सकको सल्लाहअनुरुप औषधि सेवन उपचार गर्नु पर्ने जरूरी छ।
(वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाल रोग विशेषज्ञ)