पथरी । विश्वमा कोराना भाइरस फैलिरहेको बेला कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जारी लकडाउनमा एकान्तबास बन्दाबन्दीको जीवनमा जिउन विवश बनाएको छ । यस्तो अवस्थामा मोरङ पथरीशनिश्चरे नगरका संविधानसभा सदस्य चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ भने लकडाउनको बेला समय बिताउने गज्जबको शैली अपनाएका छन् ।
पथरीशनिश्चरे–१० निवासी संविधानसभा सदस्य राई र वडा नं. ४ निवासी सुस्लिङ लकडाउनको सदुपयोग गर्दै उत्पादनशील क्षेत्रमा लागेका छन् । संविधानसभा सदस्य भएपछि पनि सक्रिय राजनीतिमा लागेका कारण घरपरिवारलाई समय दिन नसकेका सभासदहरूले लकडाउनको समयमा भने घरकै काममा सहयोग गरेर बिताएका छन् । लकडाउनले गर्दा परिवारसँगै बसेर सुखदुःखमा साथ दिन पाएकोमा आफूहरूलाई रमाइलो लागेको बताउँछन् ।
पथरीशनिश्चरे–१० निवासी दोस्रो संविधान सभासदस्य चण्डीप्रसाद राईको दिनचर्या पनि कृषि कर्ममै बढी बित्ने गरेको छ । सभासद राईले लकडाउनको सदुपयोग गर्दै घरमै बसीबसी आम्दानी गरिरहेका छन् । उनले पहिले लेयर्स कुखुरा पालेर खाली भएको खोरमा लोकल कुखुरा पालेर आम्दानी गरेका छन् । लकडाउनको बेला घरमा श्रीमतीलाई सहयोग गर्ने, टेलिभिजन हेर्ने, इन्टरनेटमा समाचार, सूचनाहरू हेरेर दिन बिताउँदै आए पनि खालि समयको सदुपयोग गर्दै कुखुरा पालेका हुन् ।
त्यतिमात्र होइन, सभासद राईले सानो कोठेबारीमा अग्र्यानिक तरकारी खेती पनि गरिरहेका छन् । उनले कोठेबारीमा काक्रा, लौका, बोडी, भिण्डी, खोर्सानी फलाएका छन् । यति थोरै जमिनमा धेरै किसिमको तरकारी फलाएर अरूलाई प्रेरणासमेत दिन सकेका छन् । सरकारद्वारा जारी लकडाउनलाई नागरिकले पालना गरे पनि त्यसलाई खुकुलो गर्नुपर्ने उनको सुझाव छ । भन्छन्, ‘त्यसले आर्थिक र व्यवसायिक रूपले देशले धान्न नसक्ने स्थिति आएकाले त्यसको मोडालिटीलाई परिमार्जन गरेर केही खकुलो बनाउन म सुझाव दिन्छु’ ।
हिजो सभासद हुँदा र अहिलेको जीवन भोगाइमा के फरक छ भन्ने जिज्ञासामा राईले भने,–‘मानिसको जीवनमा विभिन्न किसिमको भूमिकाहरू अदलबदल भई नै रहन्छ, त्यो आफूले चाहेरभन्दा पनि समय र परिस्थितिले जुराएर ल्याउँछ ।’ पञ्चायत माविको प्रधानाध्यापकको भूमिका निभाइरहेका उनी सभासद भएर संविधान जारी गर्न भूमिका निभाए । अहिले नेकपा जिल्ला कमिटी सदस्य एवम् शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हाली रहेका छन् ।
राईजस्तै पथरीशनिश्चरे–४ निवासी पहिलो संविधानसभा सदस्य लालबहादुर सुस्लिङको दैनिकी घरको काममा मद्दत गर्ने र बाँकी समय पुस्तक अध्ययन मै बित्छ । सुस्लिङ सबेरै उठेर बङ्गुरको आहारा दिने, बाख्रालाई घाँस दिने गर्छन् । कोरोना भाइरसका कारण विश्व मै आर्थिक संकट आइलागेको हुनाले त्यसले नेपाल अछुतो रहन नसक्ने भएकाले घरमा बस्दा समेत थोरै भए पनि आम्दानी होस् भनेर बंगुर पालन गरेको उनको भनाइ छ ।
बङ्गुरलाई दाना पानी गरिसकेपछि सरसफाइ गरेर बचेको समय पुस्तक अध्ययनमा बित्ने सुनाउँछन् । पुस्तकमा कार्ल माक्र्स, लेनिन, स्टालिनका जीवनीका साथै कम्युनिष्ट दर्शन अध्ययनमा उनको बढी रुचि रहेछ । लकडाउनले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने बिपन्न परिवारलाई स्थानीय सरकारले थोरै भए पनि राहत वितरण गरेर राम्रै काम गरेको उनको बुझाइ छ ।
फेरि पनि राहतलाई व्यवस्थित गर्न नसक्दा पाउनु पर्ने ज्यालादारी गर्ने अतिबिपन्न परिवारले नपाएको गुनासो आइरहेको हुँदा स्थानीय सरकारले त्यस्ता परिवारको पहिचान गरी राहत वितरण गर्नुपर्ने उनको सुझाव छ । उनले भने ‘समाजका वौद्धिक व्यक्तित्वहरूसँग छलफल बहस गरेर आधारभूत वर्गसम्म राहत पु¥याउन जोड गर्नुपर्छ ।’
त्यसैगरी पालिकाले राजधानीमा रहेका आफ्ना नागरिकलाई ल्याएर राम्रो गरे पनि उनीहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर मात्र घर पठाउन सभासद सुस्लिङले आग्रह गरे । ‘राम्रो सँगसँगै यसले रोग पनि सँगै बोकेर गाउँतिर त ल्याउंदैन भन्ने लागेको छ’ सुस्लिङले भने, ‘त्यसैले स्थानीय सरकारले ज्वरो छ कि छैन भनेर नाप्ने मात्र होइन, क्वारेन्टिनमा राखेर परीक्षण गरिएन भने भोलि समस्या निम्तिन सक्छ ।’ उनले कोरोनालाई परास्त गर्ने एकमात्र उपाय लकडाउनलाई पूर्णरूपमा पालना गर्नु मात्र भएकाले सबैलाई बन्दाबन्दीको पालना गर्न आग्रह गरे ।