धनकुटा/धनकुटामा उत्पादित ताजा हरियो तरकारी धनकुटा उद्योग बाणिज्य संघको पहलमा स्थानीय तहको समन्वयमा छिमेकी जिल्लाका बजारहरूमा सहज रूपमा सप्लाई हुन थालेको छ ।

धनकुटामा उत्पादिन आलु, हरियो मोटर कोसा, फूलकोपी, रायोको सागलगायत हरियो तरकारी लकडाउनको कारण बाहिर निर्यात हुन छाडेकाे थियाे । धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा पहलमा स्थानीय तहहरू र स्थानीय प्रशासनको सहयोगमा जिल्लाका बजारहरूमा र बाहिरी जिल्लाहरूमा निर्यात हुन थालेको हो ।

सरकारले लगाएको लकडाउनका कारण तरकारी निर्यात गर्न समस्या भएपछि धनकुटा नगरपालिका, छथरजोरपाटी गाउँपालिका लगायतका स्थानीय तहहरूको सहयोगमा स्थानीय प्रहरी, प्रशासनको सहयोगमा धनकुटामा उत्पादित हरियो तरकारीहरू स्थानीय बजारहरूका साथै छिमिकी जिल्लाका बजारहरूमा सहज रूपमा निर्यात हुन थालेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

छिमेकी जिल्लाका जिल्ला तथा नगर उद्योग बाणिज्य संघको समन्वय र त्यस क्षेत्रका तरकारी व्यापारीहरूको समन्वय तथा सब्जीमण्डी संचालकहरूसँग समन्वय गरी धनकुटामा उत्पादित तरकारीहरू बिक्री वितरणका लागि निर्यात हुन थालेको धनकुटा उद्योग बाणिज्य संघका महासचिव रामबहादुर गोङ्वा तामाङले बताए ।

धनकुटा जिल्लाको स्थानीय बजारहरू धनकुटा, हिले, मुलघाटलगायतका विभिन्न बजारहरूमा र छिमेकी जिल्लाहरू सुनसरीको धरान, इटहरी, इनरुवा, झापाको दमक, बिर्तामोड, मोरङको विराटनगर र पश्चिमतर्फ वीरगञ्जसम्मका बजारहरूमा पुर्याउन थालिएकाे छ । धनकुटाको छथरजोरपाटीको सिधुवा, जोरपाटी, परेवादिन र महालक्ष्मी नगरपालिकाको मूर्तीढुंगा, मारेककटहरे लगायतका क्षेत्रमा उत्पादित तरकारी सहजरूपमा निर्यात हुन थालेको महासचिव तामाङले बताए ।

धनकुटाको सिधुवा बजारबाट मात्र अहिले दैनिक १० देखि १५ गाडी हरियो तरकारीहरू बाहिरी जिल्लातर्फ निर्यात हुन थालेको सिधुवा बहुदेश्यीय सहकारी संस्थाका व्यवस्थापक मेगेन्द्र गुरुङले बताए । लकडाउन अगाडि दैनिक ५० भन्दा बढी गाडीहरूबाट तराईका विभिन्न जिल्लाहरूका साथै छिमेकी देश भारत, बंगलादेशमा सहकारी संस्थाबाट निर्यात हुने गरेको व्यवस्थापक गुरुङले बताए ।