धरान । धरानमा खाद्यान्न तथा औषधिको ‘भण्डारण’ को अवस्था बुझ्नका लागि आज धरान उपमहानगरका केही डिपार्टमेन्ट स्टो र औषधि पसलहरूमा अनुगमन गरिएको छ ।
धरानको इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्कीको नेतृत्वमा बिहीबार वराह डिपार्टमेन्ट स्टोर, भाटभटेनी, धरान-१३ काे कृषि उपज बजार स्थल धरान र धरान–१८ का मेडिलक पसलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा डिपार्टमेन्ट स्टोरहरूमा खाद्यान्न भण्डारणको अवस्था सन्तोषजनक नै रहेको पाइएको छ । वराह र भाटभटेनीमा गरिएको अनुगमनमा खाद्यान्नलगायत अन्य कुराहरू पनि सन्तोषजनक नै रहेको सूचना प्राप्त भएको अनुगमनमा प्रत्यक्ष सहभागी बनेका कृति टिभीका कार्यक्रम निर्देशक मोहन श्रेष्ठले जानकारी दिए ।
धरान–१८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि रहेका मेडिकलमा गरिएको अनुगमनमा भने भारतबाट आउने केही औषधिहरूको अभाव सुरु भएको पाइएको छ । जसमा विशेष गरी डायलसिसमा प्रयोग गरिने औषधिजन्य वस्तुहरूको अभाव सुरु भएको निर्देशक श्रेष्ठले ब्लाष्टकर्मीलाई जानकारी दिए । ‘खाद्यान्नको अवस्था त सामान्य नै पाइयो, तर डायलसिसमा प्रयोग गरिने औषधिहरू अभाव हुन थालेछ’ उनले फोन सम्पर्कमा भने ।
विशेष गरी भारतबाट आउने औषधिहरू सीमा नाका शिल गरिएका कारणले पनि सहज रूपमा आपूर्ति हुन सकेको छैन । जसका कारण अति महत्त्वपूर्ण औषधिहरू आपूर्ति हुन नसक्दा भोलिका दिनमा समस्या उत्पन्न हुन सक्ने सम्भावना बढेको औषधि व्यवसायीहरूले गुनासो गरेका छन् । औषधि व्यवसायी वसन्त चौधरीले डायलसिसमा चाहिने एचडी फ्लुडको अभाव चुलिएको बताए । आमा फार्मेसीका चौधरीका अनुसार एचडी फ्लुडका अलवा हेपारिन, डाइलोजर सेट, एबी सेट, गाइडवर्ड, एनएस, प्यानुलालगायतका औषधि अभाव सुरु भएको छ । ‘एचडी फ्लुड पूरै सर्टेज छ, अरु पनि सामान आएकै छैन’–उनले फोन सम्पर्कमा भने ।
यी औषधिहरू भारतसहित तेस्रो देशबाट आउने गरेका छन् । यी औषधिका लागि संघीय सरकारले पहल गरेमा सहजै भित्र्याउन सकिने सूचना आएको अनुगमनमा खटिएका सुनसरी उद्योग वाणिज्य संघका सदस्य सीताराम आचार्यले बताए । ‘खाद्यान्नमा खासै अप्ठ्यारो अवस्था देखिएन’ उनले भने, ‘नेपालमा उत्पादित औषधिहरूको समस्या देखिएन, विदेशबाट आउने औषधि पाउनै छाडियो भनेर गुनासो गरेँ ।’ । खाद्यान्नमा मुसुरीको दालमा अभाव देखिएको उनले बताए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघ र उपभोक्ता हित संरक्षण मञ्चलगायत सहभागी थिए । समितिले खाद्यान्न र औषधिको मूल्यको अवस्था र भण्डारणको अवस्थाबारेमा अनुगमन गरेको छ ।