बिर्तामोड । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन १४ दिनदेखि लकडाउन भएसँगै अहिले जनप्रतिनिधि स्थानीयको घरघर पुगेर विपन्न परिवारको पहिचान गर्दै उनीहरुलाई राहत वितरण गरिरहेका छन् । आफ्ना पालिकाभित्र बसोबास गर्ने सबै विपन्न परिवारलाई जनप्रतिनिधीले खाद्यान्न वितरण गर्न थालेका हुन् ।

जनप्रतिनिधीले स्थानीय तहका वडा कार्यालय र टोल विकास संस्थामार्फत विपन्नको पहिचान गर्दै राहत सामग्री घरघरमै पु¥याइरहेका छन् । स्थानीय तह नै पिच्छे आ–आफ्नै मापदण्ड र नियम बनाएर विपन्न वर्ग र मजदुरको पहिचान गर्दै राहत सामग्री वितरण गरिँदैछ । जसमा विभिन्न संघसंस्थाको समेत सहयोग रहेको छ । झापाका कतिपय स्थानीय तहले एकद्वार प्रणाली अपनाएर राहत वितरण गरिरहेका छन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार ज्याला मजदुरी गरेर गुजारा चलाउनेका लागि अहिले समस्या भएको छ । उनीहरुलाई लक्षित गर्दै नगरले पहिलो चरणमा राहत वितरण गरेको हो । वडाको सिफारिसमा अहिले कनकाई नगरपालिकाले राहत वितरण गरिरहेको छ अध्यक्ष पोखरेलले भने, ‘यो राहतको पहिलो चरण हो, हामीकहाँ भएका विपन्न परिवार अझैं थपघट हुन सक्छन् ।’

हल्दिबारी गाउँपालिकाले भने आफ्नो गाउँपालिकाभित्र तत्काल हातमुख जोड्न नै समस्या भइहाल्ने परिवार नभएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले भने, ‘कोरोना भाइरस सक्रमणको  पहिलो चरण पूरा गरेर दोस्रो चरणमा मात्रै प्रवेश गरेका छौँ, यो तीन चार चरणसम्म जान सक्छ, त्यसका लागि हामी पूर्वतयारीमा जुटेका छौँ । अहिले हामी जनप्रतिनिधि विपन्न परिवारको बारेमा तथ्यांक संकलन गर्दैछौँ’, अध्यक्ष लिङ्देनले भने, ‘दुई साता लकडाउन हुँदा खान नपाएर हल्दिवारी गाउँपालिकामा कोही पनि मरिहाल्ने अवस्था छैन, अ‍ैचोपैचो गाउँघरमा चल्छ, त्यसकारण हामीले अहिले राहत बाँडेका छैनौँ, कोरोनाको संक्रमण अझ फैलिँदै गए र लकडाउन लम्बिए कोही पनि हल्दिवारी गाउँपालिकावासीलाई हामी भोकै राख्दैनौँ ।’ झापाका स्थानीय तहले छुट्टाछुट्टै विपद् व्यवस्थापन कोष खडा गरेका छन् । कोषमार्फत नै विपद् व्यवस्थापनका लागि तयारीसहित राहत वितरणको काम गरिरहेको बताइएको छ ।

मेची नगरपालिकामा तीन हजार, भद्रपुर नपामा चार हजार २००, बिर्तामोड नपामा छ हजार ८००, अर्जुनधारा नपामा एक हजार ६५०, कनकाई नपामा दुई हजार ७००, शिवसताक्षी नपामा चार हजार, गौरादह नपामा तीन हजार २९, दमक नपामा दुई हजार २५०, झापा गाउँपालिकामा पाँच हजार, बाह्रदशी गापामा दुई हजार ३१८, कचनकवल गापामा तीन हजार ३००, बुद्धशान्ति गापामा एक हजार ७३५, गौरीगञ्ज गापामा तीन हजार ५००, कमल गापामा एक हजार ३८८ कूल ४४ हजार ८७० विपन्न परिवार रहेका छन् भने हल्दिबारी गापामा भने तथ्याङ्क संकलन गर्ने काम भइरहेको जनाइएको छ ।