इटहरी/ वैदेशिक रोजगारीबाट फर्किएका युवा कृषि क्षेत्रमा आकर्षित भएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवाले कृषिकर्ममा लागेर राम्रो आम्दानी गर्न थालेका हुन् ।

इटहरी–१९ तरहराका बमबहादुर गिरी अहिले भवानीपुर बंगुर फर्म खोलेर व्यवसायमा होमिएका हुन् । १५ वर्षसम्म साउदी अरबमा खटिएका उनी अहिले देशमै व्यवसाय गरेर मनग्यै आम्दानी लिइरहेका छन् । विदेशबाट आएपछि व्यवसाय शुरु गरेका गिरी अहिले आफ्नो सुँगुर व्यवासायदेखि सन्तुष्ट छन । आफूले शुरुवाती समयमा करिब ३५ लाख लगानी गरेर व्यवसाय शुरु गरेको गिरी बताउँछन्।

‘मैले विदेशमा गर्ने दुःख यहीँ गर्दै आएको छु । म मेरो व्यवासायदेखि सन्तुष्ट छु’–उनी भन्छन् । फर्ममा अहिले रातोजिम्बो, योर्कशायर, ल्याण्डरेश, ह्याम्पशायर, धराने कालो बंगुरहरूका प्रजातिको सुँगुर पाल्दै आएका छन् । फर्ममा विदेशी बंगुर समेत छन् । गिरीको फर्ममा अहिले करिब २ सय वटा सँुगुर रहेको उनी बताउँछन् । आफू मालिक मात्र बन्ने हो भने व्यवसाय नामै मात्रको हुन्छ । त्यस कारण धेरै समय म बंगुरहरूलाई दिने गरेको छु, गिरीले भने । म यहाँ मालिक हैन मजदुर भएर फर्ममा प्रवेश गर्छु उनी भन्छन् ।

२०७१ सालमा राष्ट्रपति कृषि पुरस्कारबाट गिरी पुरष्कृत समेत भए । नेपाल सरकारबाट अहिले सम्म केही अनुदान नपाएकोमा भने उनी केही दुःखी छन् । युके एट भन्ने संस्थाले भने ४ लाख रुपैयाँ सहयोग गरेको उनले बताए । उत्कृष्ट सुँगुर व्यवसायी भन्दै नेपालका लागि बेलायती राजदूतले समेत आफ्नो फर्ममा अनुगमन गर्न आएको गिरी बताउँछन् । तर, नेपाल सरकारले मलाई खासै सहयोग गरेको छैन, उनले भने ।

सुँगुरको बजारमा माग बढ्दो
उत्पादन गरेका पाठाहरूकोे बजार धेरै भएका कारण सुँगुर व्यवसायी उत्साहित छन् । सोलुखुम्बु जिल्ला हुँदै काठमाण्डौ ललितपुरसम्मका व्यवसायीहरू पाठा किन्न आउने गरेको गिरी बताउँछन् । यसका मुख्य बजार भनेका तरहरा, इटहरी धरानलगायतका शहर हुन् । मागअनुसार पाठाहरू बेच्न नसिकिएको फर्मका सञ्चालक गिरी बताउँछन् ।

विशेष गरी जनजातिहरूले घरै पिच्छे सँुगुर पाल्ने गरेका छन् । त्यससँगै पछिल्लो समयमा खुलेका फर्महरूबाट समेत पाठाहरूको माग बढेको छ । माग अनुसार पाठा पु¥याउन नसकेको उनी बताउँछन् । अहिले बजारमा सँुगुरका पाठाहरूको माग अत्यधिक बढेको छ । पछिल्लो एक वर्ष यता धेरै कृषको सहभागिताका कारण पाठाहरूको माग बढिरहेको छ ।

डाक्टर आफै
विदेशबाट आएर बंगुर फर्ममा होमिएका गिरी अहिले सुँगुरको डाक्टरसमेत बनेका छन् । शुरुमा व्यवसाय गर्दा अल्मलिएका उनी अहिले आफै विज्ञ जस्तै भएका छन् । शुरु शुरुमा डाक्टरको समस्या झेलेका गिरी अहिले आफै सुँगुरको डाक्टर हुन् । बंगुरको कृत्रिम गर्भधारण म आफै गर्छु । फ्रोजन सिमेनलाई ल्याबमा राखेर टेष्ट गरेर आफैले कृत्रिम गर्भधारण गराउँदै आएको बताए । म अन्य साथीहरूकोमा समेत गएर सहयोग गर्न सक्छु । धेरै कुराको ज्ञान मलाई छ, गिरी भन्छन् ।

वर्षको चार पटकसम्म सँुगुरले एक पटकमा ८ देखि १६ वटासम्म बच्चा जन्माउने गरेको छ । उनी भन्छन् । कृषिमा भविष्य देखेर सुँगुरको फर्म खोलेको बताउँछन् उनी । पाठापाठी बेचेर वार्षिक राम्रै आम्दानी हुने गरेको छ । सरकारले बढ्दो बेरोजगारी र युवा पलायन रोक्न व्यावसायिक कृषिमा लाग्ने युवाहरूलाई पाँच प्रतिशत ब्याजदरमै व्यावसायिक कृषि कर्जा दिने निर्णय भए पनि अहिले पनि वास्तविक किसानले अझै पनि कर्जा नपाएको किसानहरू गुनासो गर्छन् ।

बंगुर पालन छोटो समय र थोरै लगानीमा धेरै मासु उत्पादन गर्न सकिने व्यवसायमध्ये एक हो । बंगुर पालनका धेरै फाइदाहरू छन् । बंगुरले एक वर्षमा २ पटकसम्म गर्भधारण गर्दछ । जसबाट धेरै पाठापाठी उत्पादन गरी लाभ लिन सकिन्छ ।