शारीरिक रूपमा अपाङ्ग हँुदैमा जीवन नै सकिएको सोच बनाउनेहरू समाजमा कैयौं छन् । अपाङ्गतालाई कतिपयले मागी खाने भाँडो बनाउने गरेका छन् । उनीहरू आफूले आफैलाई निरिह, दयनीय, दुखी, निम्छरो बनाएर मानसिक रूपमै कमजोर बन्न पुगेका पनि छन् । वास्तवमा शारीरिक अपाङ्गता देखिने अपाङ्गतामात्र हो । मुख्य कुरो मानसिक र बौद्धिक सबलताले मान्छेलाई सफलताको शिखरमा पु¥याउँछ । शारीरिक रूपले जति सुकै सबल भए पनि उसभित्र मानसिक र बौद्धिक सबलता छैन भने कुनै पनि सफलताको शिखर चुम्न कदाचित् सक्दैन । विश्व ब्रह्माण्डका ज्ञाता तथा ब्लाक होलका खोजकर्ता स्टेफन हकिङ बोल्नै नसक्ने मात्र थिएनन् शारीरिक रूपले पूरै अपाङ्ग थिए । तैपनि उनी ब्रमाण्ड सम्बन्धी अनेक पुस्तक लेखेर आधुनिक समयका सबैभन्दा चर्चित वैज्ञानिकको रुपमा चिनिए । यहाँ वैज्ञानिक स्टेफन हहिङको सन्दर्भमा मात्र जोड्न खोजिएको हो । नेपाली समाजमा शारीरिक रूपले अपाङ्ग हुनेहरू कैयौं छन् । तीमध्ये आफ्नो मानसिक र बौद्धिक स्तरलाई मनदेखि नै प्रखर बनाएर समाजमै सबलाङ्ग भन्दा दक्ष, योग्य र वास्तविक समाजसेवीका रूपमा आफ्नो नाम दर्ज गर्न सफल भएका छन् । समाजसेवीका रूपमा उदाएका ती सबै महिला हुन् । समाजमा महिलाहरू पछि परेको गुनासो जताततैबाट आइरहेका बेला शारीरिक रूपले अपाङ्ग महिलाहरू भने आफ्नो योग्यता, दक्षता र खुबीले स्थापित हुन पुगेका छन् । किशोरी अवस्थामा पोलियो रोगले अपाङ्ग भएकी धरान–१५ बस्ने डम्बरकुमारी श्रेष्ठ हुन् या दुई वर्षको उमेरमा पोलियो भएकी इटहरीकी तृप्ता मगर वा शारीरिक रूपमा असक्त भए पनि मानसिक र बौद्धिक रूपमा सशक्त झापा गाउँपालिका–६ शरणामतीकी यमुना खतिवडा वा धनकुटाकी साहित्यकार झमक घिमिरे।
घरेलु तथा साना उद्योग कार्यालयको जागिरसमेत परित्याग गरेर आफूजस्ता धेरै अपाङ्ग महिलाहरूलाई आत्मनिर्भर बनाउन डम्बर कुमारीले डिप्लोमा हेण्डीक्राफ्ट तालिम सेन्टर स्थापना गरिन् । ०४२ सालमा घरेलु कार्यालयले नै दिएको टेक्सटायलसम्बन्धी तीन महिने तालिमले उनलाई आत्मनिर्भर बन्ने बाटो खुलाइदिएको थियो । गरिबको सम्पत्ति नै सीप हो भन्ने बुझेकी उनले १० हजार बढीलाई तालिम प्रदान गरिन् । ५ सयभन्दा बढीले त व्यवसाय नै सञ्चालन गरेर आर्थिक रूपले आत्मनिर्भर बनेका छन् । शारीरिक रूपले अपाङ्ग महिलाहरूलाई आत्मनिर्भर बनाउन भूमिका खेलेको भनेर उनले ०५९ सालमा राष्ट्रिय सम्मान प्राप्त गरिन् । तृप्ताले आत्मसम्मानका साथ समाजमा शारीरिक रूपले अपाङ्ग महिलाहरूले पनि बाँच्न पाऊन् भनेर ०५५ सालमा नेपाल चेलीबेटी अपाङ्ग महिला सङ्घ स्थापना गरिन् । त्यसपछि ‘आफूजस्तालाई आत्मनिर्भर बनाएर समाजमा स्थापित गराउने’ एक सूत्रीय सोचमै दत्तचित्त भएर लागेपछि ‘अपाङ्गता भएका व्यक्तिले के गर्न सक्छन् र ?’ भन्नेहरुलाई गतिलो जवाफ दिइन् । अपाङ्ग महिलाहरूलाई हेर्ने दृिष्टकोणमा परिवर्तन मात्र ल्याउन सके यो समाजमा समान रूपमा आत्मसम्मानकासाथ बाँच्न सकिन्छ भन्ने बुझेकी छिन् तृप्ताले ।
युमना खतिवडा अचेल बिर्तामोड–४ स्थित तारा नमस्ते बालग्रामका नानीहरूलाई प्राविधिक शिक्षाको ज्योति फैलाइरहेकी छन् । गाउँमा उनलाई नपत्याए पनि उनको मानसिक र बौद्धिक सामथ्र्यका बलले बाल आश्रममा कम्प्युटर र अन्य शिक्षा दिएर अरूलाई सचेत र शिक्षित बनाउन सफल भएकी छन् । ०६८ को जनगणनाअनुसार कुल जनसङ्ख्या मध्ये ५ लाख १३ हजार ३ सय २१ जना फरक क्षमताका व्यक्तिहरू रहेका छन् । अर्थात् कुल जनसङ्ख्याको १ दशमलव ९४ प्रतिशत विशेष क्षमताको व्यक्तिहरू रहेका छन् । तृप्ता मगर, डम्बरकुमारी वा यमुनाहरू यो समाजलाई चुनौती दिएर स्थापित मात्र भएका छैनन् आफूजस्ता अरूलाई पनि साथ र सहयोग गरेर मुलुक बनाउने योग्य नागरिक तयार पारिरहेका छन् । राज्यले आफै नै अग्रसर भएर यति धेरै फरक क्षमता भएका व्यक्तिहरूलाई आत्मविश्वासले भरिएको योग्य दक्ष, आत्मनिर्भर नागरिक बनाउने वातावरण तयार गर्न सके समाजमा कुनै पनि शारीरिक अपाङ्गता भएका नागरिकले हिनताबोध गरेर निरिह बन्नु पर्दैन । फरक क्षमता भएका व्यक्तिलाई सीप प्रदान गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने दायित्व राज्यको हो । अपाङ्गताको परिचयपत्र दिने काममात्र होइन ।
































