मधुमल्ला / लख्या देवी महतो उमेर ६१ लागिन् । मोरङ मिक्लाजुङ–९ हेल्थपोस्ट लाइनमा उनको घर छ । त्यही घरमा आफ्नो परिवारका साथ बस्छिन् लख्यादेवी ।
घरसँगै एउटा झुप्रो हालिएको छ । त्यही झुप्रोमा दुईदर्जन बाख्रा पालेकी छन् । लख्यादेवीको बाख्रा पालन पैतृक झैं बनिसकेको छ । करिब चारदशक बढी भयो बाख्रा पालन थालेको । जीवन निर्वाहका लागि लख्यादेवीले बाख्रापालन थालेकी हुन् । गत वर्षसम्म त्यही सानो खोरमा करिब ५०–६० बाख्रा देख्न सकिन्थ्यो । तर, यस वर्ष बाख्राको सङ्ख्या घटेको छ । तीन वर्षअघिसम्म त्यही खोरमा सय बाख्राहरू हुन्थे । चरिचरन क्षेत्र अभाव हुन थालेपछि व्यवसाय खस्कँदै गएको उनी बताउँछिन् । व्यावसायिक भन्दा परम्परागत ज्ञानबाटै बाख्रापालन गरिरहेकी छन् । कृषि तथा पशुपालनका लागि राज्यबाट अनुदान तथा सहुलियत दरमा ऋण दिन्छ भन्ने उनलाई अहिलेसम्म ज्ञान छैन । तीनै तहका सरकाले कृषि तथा पशुपालन व्यवसायलाई उच्च प्राथमिकतामा राखेको छ । तर, लख्यादेवी जस्ता विपन्न किसानहरू यस्ता अनुदानबाट वञ्चित छन् । लख्यादेवी प्रतिनिधि किसान हुन् । स्थानीय सरकार बनेको पनि तीन वर्ष भइसक्यो ।
स्थानीय सरकारले समेत कृषकहरूलाई विभिन्न आयोजना ल्याए । लख्यादेवीलाई स्थानीय सरकारले के के काम गर्दै छ, त्यसबारे जानकारी छैन । व्यवसाय दर्ता गरेर मात्रै अनुदान पाइन्छ भन्ने ज्ञान उनलाई छैन । वास्तविक किसानले अनुदान तथा सहुलियत ऋण पाएका छैनन् । त्यहीमध्येमा उनी पनि पर्छिन् ।