लक्ष्मीमार्ग/ विदेशमा मात्र राम्रो कमाइ हुन्छ भन्दै विदेश पैसाको मोहमा दौडने युवाहरूलाई मोरङ बेलबारीका केही वैदेशिक रोजगारी बाट फर्केका युवाहरूले मिहेनत गरे स्वदेशमै राम्रो आम्दानी हुने प्रमाणित गरिदिन थालेका छन् । बेलबारी नगरपालिकाले प्रोत्साहन गर्न थालेसँगै विदेशमा गएर आएका युवाहरूको आकर्षण व्यावसायिक पशुपालन तथा कृषि पेशामा बढ्न थालेको छ ।

प्रायजसो वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरूको पहिलो रोजाइ सुविधा सम्पन्न ठाँउमा जग्गा किनेर घर बनाउनु रहेको भटिन्छ तर बेलबारीमा भने केही युवाहरूले विदेशको कमाइ व्यावसायिक पशुपालनमा लगानी गरेर राम्रो र दिगो आम्दानीको स्रोत बनाइरहेका छन् । बेलबारी–७ का सुरेन्द्र कार्की विदेशबाट आएर आफ्नै माटोमा आफ्नो पसिना बगाइरहेका छन् । विदेशमा भन्दा नेपालकै कमाइ राम्रो भइरहेको उनी बताउँछन् । १० वटा गाई पालेका कार्कीले दैनिक ५० देखि ६० लिटरसम्म दुध बेच्ने गरेको बताउँछन् ।

‘घर परिवारभन्दा बाहिर बस्दा समेत कमाइ गर्न सकिन’, कार्कीले भने, ‘अहिले परिवारसँगै बसेर पनि वार्षिक ५ लाखसम्म आम्दानी गर्ने गरेको छु ।’ गर्न सक्दा नेपालमै सुन फल्छ भन्थे अहिले आफना लागि त्यस्तै भएको सुनाउँछन् । मलेसियामा ६ वर्ष र अरबमा २ वर्ष बिताएका कार्की दुध बेचेरै राम्रो आम्दानी गर्न थालेपछि विदेशको मोह हटेको बताउँछन् । कार्की जस्तैै कतारमा सेक्युरेटीमा ४ वर्ष काम गरेका बेलबारीकै मञ्जुल लिम्बूले बंगुर पालन गर्न थालेका छन् ।

४ वर्षसम्म कतारमा बस्दाको पीडा सम्झदै मञ्जुलले भने विदेश जाँदा लाग्ने खर्चले चार वर्ष अघि नै यहाँ लगानी गरेको थिएँ भने राम्रो आम्दानी गर्न सकिने रहेछ उनी भन्छन् । लिम्बूका १५ वटा माउ बंगुर छन् । बंगुर मासुको लागि बिक्री गर्नुको साथसाथै उत्पादित बंगुरका बच्चाहरू प्रतिगोटा ६ हजार भन्दा माथिको मूल्यमा बिक्री हुने गरेको उनी बताउँछन् । आफू यस पेसामा सन्तुष्ट रहेको उनले बताए ।

बेलबारी ७ बाहुनीका सन्देश खत्री विगत दश वर्ष वैदेशिक रोजगारीको सिलसिलामा तीनवटा देशमा बिताए । विदेशमा विभिन्न कम्पनीमा काम गरेका उनले हाल घरमै वसेर विदेशको कमाइ भन्दा राम्रो आम्दानी गरिरहेका छन् । लामो समय अर्काको देशमा पसिना बगाइयो, खत्रीले भने विदेशमा समेत कमाइ नभएपछि नेपालमा आएर गाईपालन गरेको हुँ ।

अहिले मेरो गोठमा प्रन्ध्र वटा जर्सी गाई छन्, खत्रीले भने । दैनिक १सय लिटर भन्दा बढी दुध उत्पादन हुन्छ, आफूलाई खान राखेर बाँकी सबै बेच्ने गरेको खत्रीले बताए । उनले थपे अहिले केही गाई ब्याउने अवस्थामा रहेका छन् । डेढ बिघा जग्गामा बहुबर्से घाँस तथा अढाई बिघामा सिजन अनुसारको घाँस लगाउने गरेको उनी बताउँछन् । एक जनालाई रोजगारीसमेत दिएर राखेको उनी बताउँछन् ।

उनीहरू जस्तै अरू थुप्रै युवाहरूले बेलबारीमा पशुपालन गरेका छन् । बेलवारी– ९ डाँगिहाटका होमनाथ बास्कोटा पूर्व माओवादी नेता हुन् । विदेशमै १३ वर्ष बिताएका बेलबारी–९ का होमनाथ बास्कोटा केही मिल्ने साथीहरूसहित करिब दुई वर्षअघि स्वदेश फर्किए । विदेशमा निकै राम्रो काम र तलबलाई चटक्कै माया मारेर उनी स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्कंदा नै उनीहरूले नेपालमै केही गर्ने योजना बनाएका थिए । जुन योजना अनुसार नै हाल डाँगीहाटस्थित १० कठ्ठा जग्गामा एचएन ब्राउन लियर्स जातको कुखुरा फर्म (मिर्मिरे एग्रो प्रा.लि.) सञ्चालनमा छ । होमनाथ बास्कोटासँगै राजु डाँगी, नगेन्द्र अधिकारी, जितेन्द्र दाहाल, विष्णु बस्नेत र गोविन्द अधिकारीको संयुक्त लगानीमा उक्त फर्म सञ्चालनमा छ ।

तीनवटा आधुनिक खोर बनाएका उनीहरूले अहिले सम्म एक करोड ३० लाख लगानी गरिसकेका छन् । अझै लगानी बढाउने क्रममा रहेका छन् । हाल ३ वटा खोरमध्ये सञ्चालनमा आएको एउटा खोरमा मात्र अण्डा दिने लियर्स जातका तीन हजार कुखुरा पालेका छन् । उक्त ३ हजार कुखुराबाट ‘दैनिक २७ सय अण्डा सङ्कलन हुन्छ,’ बास्कोटाले भने, ‘त्यसको स्थानीय बजारमा ७० र बाहिर ३० प्रतिशत खपत हुने गरेको छ ।’

विदेशबाट फर्केर नेपालमै कृषि तथा पशुपालनमा लाग्ने युवाहरुलाई प्रोत्सान गर्ने जस्ता कार्यक्रमहरू स्थानीय तहहरूले ल्याएपछि हौसला समेत थपिएको छ । विदेशबाट आउने युवाहरूलाई गरिबसँग नगरपालिका कार्यक्रम नै दिएर प्रोत्साहन गर्ने गरेको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साह बताउँछन् ।

goat bb