सन् २०२० को सुरुआतसँगै चीनको बुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वका ९६ बढी मुलुकमा फैलिसकेको छ । विश्वभरमा १ लाख १० हजार जना सङ्क्रमित भइसकेका छन् । आजको मितिसम्ममा ३ हजार ८ सय १६ जनाको मृत्यु भएसकेको छ । तीमध्ये सबैभन्दा बढी चिनियाँ नागरिकको मृत्यु भएको छ । दोस्रोमा इटाली, तेस्रोमा दक्षिण कोरिया, इरानलगायतमा कोरोना भाइरसले तहल्का मचाएको छ । अमेरिका, युरोपियन मुलुकमा समेत कोरोनाले तहल्का मचाएपछि कोरोनाबाट बच्नका लागि अनेक उपाय निकाली रहेका छन् । यसैबीच अस्ट्रेलियन नेशनल यूनिवर्सिटीले कोरोना भाइरको सङ्क्रमणमाथि हालै गरेको एक अध्ययनले भयावह अवस्था सृजना हुने सङ्केत गरेको खबर सार्वजनिक भएको छ । अस्टेलियन युनिभर्सिटीले गरेको अध्ययनको दाबी छ कि कोरोना महामारीको खरतनाक अवस्थाको पहिलो एक वर्षमा विश्वमा एक करोड ५० लाख मानिस मर्नेछन् । नियन्त्रणभन्दा बाहिर पुगेपछि कोरोनाले विश्वमा ६ करोड ८० लाख मानिसलाई मृत्युको मुखमा पु¥याउने दाबी गरिएको छ ।

अध्ययनको दाबी अनुसार भारत र चीनमा मृत्यु हुनेको सङ्ख्या कैयौं लाख पुग्न सक्छ । उक्त अनुसन्धानमा साधन स्रोत सम्पन्न अमेरिकामा मात्र कम्तीमा २ लाख ३० हजार, बेलायतमा ६४ हजार, जर्मनीमा ७९ हजार, फ्रान्समा ६० हजार, त्यस्तै दक्षिण कोरिया, इटली, जापान जस्ता विकसित मुलुकमा पनि हजारौंको सङ्ख्यामा मानिसको मृत्यु करोनाबाट हुने दाबी गरिएको छ । उता अमेरिकन हस्पिटल एसोसिएसनले तयार गरेको एक रिपोर्टले त झन् कोरोनाले अमेरिकामा मात्र कम्तीमा ६ लाख मानिसको मत्यु हुने र लाखौंमा सङ्क्रमण हुनसक्ने भएको भन्दै अस्पताललाई चुस्त दुरुस्त राख्नु पर्ने र कोरोना भाइरससँग सामना गर्न सक्ने वातावरण सृजना गर्न सुझाव नै दिइसकेको छ । यी तथ्याङ्क कुनै कपोल कल्पित होइनन् । चीनपछि दक्षिण कोरिया, इटली र इरानलगायत मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण दर मृत्यु दरको आँकडाले अस्ट्रेलियन युनिभर्सिटी र अमेरिकन हस्पिटल एसोसिएसनले गरेको अनुसन्धानलाई पुष्टि गर्दै आएको छ । यहाँ यो तथ्याङ्क किन राखिएको हो भने सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार युक्त, शिक्षा स्वास्थ्यमा अग्रणी, दक्ष योग्य जनशक्तिले भरपुर अति विकसित मुलुकमा त कोरोना भाइरसले यति धेरै ताण्डव प्रदर्शन गर्नसक्छ भने नेपाल जस्तो पूर्वाधार नै नभएको, स्वास्थ्य शिक्षाको क्षेत्रमा बामे सर्दै गरेको अविकसित, झाडा पखाला लाग्दा जीवन जल र ज्वरो आउँदा सिटामोलसमेत नपाउने मुलुकमा कस्तो हविगत होला ? कल्पना पनि गर्न सकिन्न । तर, अझै पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले औपचारिकता मात्र पूरा गरिरहेको छ । कागजी कार्यक्रममा बढी ध्यान दिएको छ । उता कोरोनाको बहाना बनाएर उद्योगी व्यापारीहरूले खाद्य पदार्थदेखि दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सृजना गरेर ‘कालाबजारी’ को माध्यमबाट रातारात पैसा कमाउने सपना देख्न थालेका छन् । जताततै कोरोना नै कोरोना भएपछि उसले कालोबजारी गरेर कमाएको करोडौं वा अर्बौं सम्पत्तिको के काम ? यता तिर पनि सोच्ने कि ? नेपालमा हालसम्म एक जनामात्र कोरोना सङ्क्रमित देखिएको समाचार आएको छ । सिमाना जोडिएको छिमेकी मुलुक चीनमा कोरोनाले तीन हजार बढीका ज्यान लिइरहेको बेला र भारतका विभिन्न प्रान्तमा समेत ३५ जनामा सङ्क्रमित भइसकेको अवस्थामा सरकारले यतिखेर सामान्य प्रेस विज्ञप्ति जारी गरेर झारा टार्ने कामबाहेक केही गरेको छैन ।

कोरोनाले विश्व आक्रान्त भइरहँदा नेपाल सरकारले सावधानीका लागि सार्वजनिक अपिलदेखि मातहतका निकायमा आवश्यक तयारीसहितको निर्देशनमात्र जारी गर्नमै व्यस्त छ । यतिन्जेलमा केही साता वा महिनाका लागि चीनसँग जोडिएका उत्तरी सिमाना र भारतसँग जोडिएका दक्षिण्ीा सिमाना पूरै बन्द गर्नुपर्ने हो । त्रिभुवन एयर पोर्ट पूरै बन्द पनि गर्नुपर्ने हो । शैक्षिक संस्थाहरू पूरै बन्द गरेर एउटा शहरबाट अर्को शहरमा आवत जावतमा कडाइका साथ रोक्नुपर्ने हो । किनकी कोरोना भाइरसबाट बच्न अन्तिम विकल्पका लागि चीनले गरेको अभ्यास नै यहीमात्र थियो । उसले त्यसै ग¥यो । र, अहिले विस्तारै नियन्त्रणउन्मुख हुँदैछ चीनमा । इटलीले एकै पटक १ करोड ६० लाखलाई क्वारेन्टाइनमा बस्न आदेश नै दियो । चिकित्सक नै जोखिममा रहने भएकाले उनीहरूका लागि चाहिने अत्यावश्यक भौतिक पूर्वाधारको तयारी सरकारले गर्नै सकेको छैन । नेपाल भ्रमण गरेर स्पेन फर्केका एक व्यक्ति कोरोनाबाट मृत्यु भएको छ भने अष्ट्रेलिया अध्ययन गर्न नेपालबाट गएका नेपाली युवालाई कोरोना सङ्क्रमण देखिएको समाचार सार्वजनिक भइसकेको छ । यी घट्नाको सङ्केत हो, नेपालमा पनि भित्र भित्रै कोरोना भाइरस सल्किरहेको छ । सरकार भने यसो गर्ने उसो गर्ने भनेर दैनिक बैठक बस्ने, निर्णय गर्ने तर ठोस काम केही नगर्ने नीतिले कोरोना भाइरसलाई सरकारले निमन्त्रणा दिए जस्तै भएको छ । गतवर्ष धरानमा फैलिएको डेङ्गुको महामारी नियन्त्रण गर्न नसकेको फेहरिस्त त छँदैछ । मच्छरले सार्ने डेङ्गुको तुलनामा कोरोना तीव्रगतिले फैलने भाइरस हो । यसर्थ, हालसम्म नेपालमा एकजनालाई मात्र कोरोना देखिए पनि सरकारले अरू कामलाई थाती राखेर कोरोना सङ्क्रमण नियन्त्रण गर्न उदासिन नभई भएभरको बल बुद्धि र उपाय लगाउन जरुरी भएको छ ।