नेपालीहरूले प्रजातन्त्र प्राप्त गरेको सात दशक भयो । यो अवधिमा नेपालीहरूले प्रजातन्त्रका लागि पटक–पटक सङ्घर्ष गर्नुप¥यो । अहिले पनि नेपालीहरू विभिन्न नाममा स्वतन्त्रताको लडाइँ लडिरहकै छन् । जनताद्वारा जनताकै लागि शासन भन्ने मूल मान्यतामा रहेको प्रजातन्त्र अर्थात् लोकतन्त्रप्रति अहिले आमबुझाइ केही साँघुरो परिदृश्यमा समेटिएको हो कि भन्ने आभाषहरू हुन थालेका छन् । प्रजातन्त्रको घोडचढीमा नेता तथा तिनका कार्यकर्ता मोटाउँदै छन् । जनता थप निर्धा र दुब्ला हुँदैछन् । अधिकारहरू कटौती हुँदैछन् । यसको पछिल्लो उदाहरण अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण नै हो । आत्मश्लाघामा रमाउने प्रवृत्ति भएका नेता तथा मन्त्रीहरूले आफूले चाहेको वा गर्न खोजेको कुरा नहुँदा विभिन्न बहानामा प्रेसलाई खुम्च्याउने प्रयास गरिँदै छ ।

सत्ताको घोडचढीको उन्मादले जनतालाई रैती झैं व्यवहार गरेको अनुभूति लोकतन्त्रका पहरेदारहरूबाट भइरहेको छ । सत्तामा नपुगुन्जेल लोकतन्त्रका लागि भनेर लड्नेहरू नै कुर्सीमा बसेपछि लोकतन्त्रको मर्म बिर्सिदिँदा ‘लोकतन्त्र’ प्रति नै जनतामा निराशा थपिएको छ । एक सय ४ वर्षे लामो निरङ्कुश राणाशासनको अन्त्य भएको वर्ष २००७ सालपछिको यो लामो अवधिमा पनि जनता चाहिँ परिवर्तनका पक्षधर भएर पनि दबिएका दबियै रहे । तर, तिनै परिवर्तन चाहने, बलिदानी र पछि पारिएका जनताको मत पाएर नेता तथा मन्त्री भए । विभिन्न कालखण्डमा आएका प्रजातन्त्र, लोकतन्त्रहरू समाजका बुर्जुवाहरूकै बोलवाला रहिरह्यो । २००७ सालको प्रजातन्त्र जनतालाई भन्दा पनि राजाका लागि आएको प्रजातन्त्र थियो । २०४६ सालमा प्राप्त प्रजातन्त्र अभिजात्य वर्गका लागि आयो । २०६२÷०६३ मा आएको लोकतन्त्र पनि यस्तै–यस्तै वर्गमै घुमिरहेको छ । जो किनारीकृत भएका छन् । तिनीहरू अहिले पनि किनारीकृत नै छन् । उनीहरूको आवाज अहिले पनि सूक्ष्म रूपमै छ ।

स्थूल आवाजमात्रै सुनिँदै आएको छ । तिनै स्थूल आवाजहरू अहिले पनि राज्यसत्तामा हालीमुहाली गरिरहेको छ । देशले प्रजातन्त्र प्राप्तिको सात दशक लामो सङ्घर्षपछि प्राप्त गरेको संविधाने अधिकारहरू प्रदत्त गरे पनि दुईतिहाइको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले निमोठ्ने प्रयास गरिरहेको छ । अभिव्यक्तिको स्वतन्त्रतामाथि पनि कुनै न कुनै वाहानामा रोक्ने दुष्प्रयास राज्यबाट भइरहेको छ । हिजो त्यसैका विरुद्ध आवाज उठाएर यो स्थानमा आइपुगेका अभिजात्य वर्गहरूले यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । प्रजातन्त्र भनौं या लोकतन्त्र भनौं जबसम्म प्रेस स्वतन्त्रता रहँदैन तबसम्म लोकतन्त्र पनि संस्थागत हुँदैन । लोकतन्त्र संस्थागत गर्न मिडियालाई फरक भूमिकामा राखिरहनुपर्छ । मिडियालाई वाच डगका रूपमा उभ्याउनुपर्छ न कि ल्याप डगका रूपमा । लोकतन्त्रलाई खतरामा पार्ने कार्य अहिलेका नेता तथा मन्त्रीहरूबाटै भइरहेको प्रसङ्ग त केही सर्वेक्षणले देखाई नै सकेको छ । दलहरूबाटै लोकतन्त्र खतरामा पर्नु भनेको अर्को खतराको सङ्केत हो । लोकतन्त्र जोगाईराख्न आम नागरिक पनि सक्रिय र सचेत हुनु जरुरी छ ।