धरान/ साथीसङ्गी विदेशिरहेका बेला इलाम चुलाचुली गाउँपालिका–२ का महेश्वर लिम्बू चाहिँ हाते कागज उद्योगबाटै जीवनको अर्थ खोजिरहेका छन् ।

चुलाचुली–२ मा माइपोखरी हाते कागज उद्योग स्थापना गरेर लिम्बू आफ्नै गाउँमा पाखुरी बजार्दै दैनिक पौरख गरिरहेका छन् । त्यही पौरखबाटै घरपरिवारको लालनपालन, छोराछोरीको शिक्षादीक्षा सबै चल्छ । उद्योगमा केही कामदार छन् । उनीहरूलाई पनि मासिक तलब दिन सक्ने बनेका छन् । गाउँघरका मानिसहरू सामान्य दैनिकी बिताउँछन् । घर वरपरका छिमेकीहरू कृषिकर्म गरेर समय व्यतित गरिरहन्छन् ।

तर, फरक उनी छिमेकीहरू जस्तै कर्म गर्छन् । तर, आफ्ना लागि मात्रै हैन, अरूलाई पनि काम दिन सफल छन् । आठ जना कामदारलाई रोजगार दिएको उनी सुनाउँछन् । डेढ वर्ष भयो उद्योग सञ्चालनमा आएको । कुनै बेला उनी पनि छिमेकीहरूजस्तै कृषि कर्म गरेर जीवन डो¥याउँथे । तर, अहिले उनको दैनिकी फरक छ । यही पेशाले ५–६ जनाको परिवार मात्रै धानेका छैनन् । रुपैयाँ पैसा पनि कमाएका छन् । घर बनाउँदै छन् । १० लाख रुपैयाँ लगानी लगाएर शुरुवात गरेको उनको उद्योगमा दैनिक ५० केजी बराबरको हाते कागज उत्पादन हुन्छ । मासिक एक लाख रुपैयाँ कच्चा पदार्थका लागि खर्चिन्छन् । हाते कागजका लागि अर्घेली नामक रूखको बोक्रा र बाबियो भए पुग्छ । त्यसमा केमिकल लगाएर बनाइन्छ । जसलाई नेपाली कागज पनि भन्ने गरिन्छ ।

यही उद्योगबाट उनी कामदारलाई दिएर पनि मासिक ४०–५० हजार रुपैयाँ बचाउने गरेको सुनाउँछन् । ‘महिनाको नहुँदा पनि ४०–५० हजार रुपैयाँ बच्छ’ उनी भन्छन्, ‘गर्न सक्दा अझ राम्रो छ, मार्केट पनि राम्रो छ ।’ उनले उत्पादन गरेको हाते कागज स्थानीय बजारमा मात्रै हैन, काठमाडौंसम्म बजार पुग्छ । महेन्द्र राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा उनको उद्योग छ । स्थानीय बजार दमकमा पनि बिक्री हुन्छ ।

‘तर, भरपर्दो बजार भनेको काठमाडौं नै हो’ उनी भन्छन्, ‘स्थानीय बजारमा त धेरै बिक्री हुँदैन ।’ उद्योग स्थापना गर्न उनले धेरै मेहनत गरेका छन् । दुई वर्ष अगाडि मात्रै हो, उनले हाते कागजबारे जानकारी लिएको । झापामा हुँदा उनको घर नजिकै कागज उद्योग थियो । त्यही उद्योगमा काम गरेको देखेरै उनले सिके । हेर्दाहेर्दै सिकेका उनले दुई चारदिन उद्योगका मान्छेहरूबाट जानकारी लिए ।

‘त्यसपछि यहाँ आएर उद्योग खोलेको हुँ’ उनी भन्छन् । विशेष गरी हाते कागजलाई चाहिने कच्चा पदार्थ पहाडी क्षेत्रमा मात्रै पाइने भएकाले उनको रोजाइ चुलाचुली रहेको उनी बताउँछन् । बाबियो जुन महाभारत शृङ्खलामा बढी पाइन्छ भने अर्घेली जातको रुख पनि पहाडी क्षेत्रमा मात्रै पाइन्छ । ती कच्चा पदार्थको अभावमा कागज बनाउन नसकिने उनको भनाइ छ । उनले उद्योगमा ५ ग्रामदेखि २० ग्रामसम्मको हाते कागज बनाउँछन् ।

हिउँदमा भन्दा गर्मीको समयमा बढी उत्पादन गर्न सकिने उनको भनाइ छ । ‘जाडो महिनामा कागज सुक्न नै समय लाग्छ । चिसो हुन्छ । घाम लाग्दैन’ उनी भन्छन्, ‘गर्मीमा चाँडै कागज सुक्छ र धेरै उत्पादन गर्न सकिन्छ ।’ उनका अनुसार उद्योगबाट मासिक २ सय कोरी (एक कोरी बराबर २० वटा हुन्छ) सम्म कागज उत्पादन गर्ने गरेको छु । ५ ग्रामको कागजलाई ८ देखि ९ सय रुपैयाँसम्म बिक्री गर्ने गर्छन् भने १० ग्रामको कागजलाई १२ देखि १३ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको उनी सुनाउँछन् । १५ ग्रामको १८ सय र २० ग्रामको कागज बनेमा २२ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ ।