मधुमल्ला/ झापाको बाहुनडाँगीदेखि पश्चिमको डढेलधुरासम्म जोडने राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको मोरङ मिक्लाजुङ खण्डमा विवाद चुलिँदै गएको छ ।
मोरङको मिक्लाजुङ खण्डमा मानव बस्तीलाई बाइपास गरी जङ्गलबाट आयोजना अगाडि बढाएको भन्दै शनिबार मिक्लाजुङ वडा नं. ३ मा भएको एक सार्वजनिक भेलाले स्थानीय गङ्गा घिमिरेको संयोजकत्वमा ४३ सदस्यीय पहल समितिको गठन भएको छ । पहल समितिको अगुवाइमा सोमबार मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईलाई पहल समितिले ज्ञापन पत्र बुझाएको छ । ज्ञापनत्रमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेका मदन भण्डारी राजमार्गले साविक टाँडी गाविसको २० हजार भन्दा बढी जनसङ्ख्यालाई बेवास्ता गर्दै सेवाबाट विमुख गारउन खोजेको भन्दै सो को विरोध सहितको ज्ञापनपत्र बुझाएको छ ।
मदन भण्डारी राजमार्ग परियोजनाले तयार परेको डिपिआरलाई सच्याई आम जनताको भावना समेट्न ज्ञापन पत्रमा माग गरिएको छ । मनव बस्तीलाई समेट्दै मिक्लाजुङ गाउँपालिका वडा नं. ५ को गुप्ती, खोलीटार वडा नं. ४ को लालमाटी खाँकरबारी, हात्तीमारा, सुन्दरी चौक हुँदै हाल निर्माणाधीन अवस्थामा रहेको बक्राहा खोलाको पुलमा जोड्ने गरी मदन भण्डारी राजमार्ग निर्माणमा पहल गरि दिन पहल समितिले माग गरेको छ । साथै पहल समितिले चरण बद्ध सङ्घर्षका कार्यक्रम समेत सार्वजनिक गरेको सचिव गणेश भट्टराईले जानकारी दिए ।
मदन मण्डारी राजमार्ग परियोजनाले भने लेटाङ नगरपालिकाको जाँते मदन चोक, मिक्लाजुङ ६ को धान खेती, माने, मधुमल्ला बजार पुछार, मावा खोला पुल हुँदै दमक जोडने गरी राजमार्ग निर्माण प्रक्रिया अगाडि बढाएको भन्दै मिक्लाजुङ क्षेत्रमा यसको चर्को विरोध हँुदै आएको छ । ज्ञापन पत्र बुझ्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले जनताको माग उचित भएको बताइन् । राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा परियोजनाले समेत मानव बस्तीलाई छुटाउन नमिल्ने र त्यसको लागि आफूले पटक पटक आवाज उठाउँदै आएको राईले बताइन् ।
मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यको अनुपस्थितिमा पहल समितिले उपाध्यक्षलाई ज्ञापन पत्र बुझाएको हो । मदन भण्डारी राजमार्ग परियोजनाले जङ्गल फँडानी गर्दै मिक्लाजुङका जनतालाई सेवा सुविधाबाट वञ्चित गर्दै एकैपटक दमक लैजान खोजेको भन्दै मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले मदन मार्गले चुरे क्षेत्रका जनतालाई समेट्नुपर्नेमा जोड दिँदै आएका छन् । मदन मार्ग अन्यत्रैबाट जाने भएपछि स्थानीयहरू निरास बनेका छन् । रजमार्गले चुरे क्षेत्रका जनताको आय आर्जन र जीविकोपार्जनमा सहज हुने विश्वास गरिरहेका बेला सडकको सर्भे भने मानव बस्तीलाई छुटाएर अन्यत्रै मोडिएको छ ।






























