विजयपुर । नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकी छन् ।

सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा उनले पदबहाली गरेकी हुन् । मन्त्रालयका सचिवद्वय डा. दीपककुमार खराल र डा. राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरे । उनीहरूले मन्त्रालयका गतिविधिबारे ब्रिफिङ गरे ।

कृषि प्रधान देश नेपालमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत कृषि क्षेत्रको योगदान रहेको छ भने ५० प्रतिशत जनशक्ति कृषिमा संलग्न छन् । हाल कुल बजेटको तीन प्रतिशत बजेट यस क्षेत्रमा विनियोजन हुँदै आएकोमा ८० प्रतिशतसम्म खर्च हुँदै आएको सचिवद्वयले जानकारी दिए । मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताइन् । रासस