विजयपुर । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन् । उनी सुनसरी इनरुवाकी हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपश्चात् उनी मन्त्रालयमा पुगेर पदबहाली गरेकी हुन् । उनलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरे । उनी रास्वपामा स्थापनाकालदेखि नै आबद्ध थिइन् । अघिल्लो निर्वाचनमा रास्वपाले निशा मेहतालाई समानुपातिक सूचीमा राखेको थियो तर सांसद् बन्न सकिनन् । अहिले उनी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’ बाट समानुपातिक सांसद बनेकी हुन् । सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट नर्सिङमा स्नात्तकोत्तर गरेकी छन् । मन्त्री मेहताले स्वास्थ्य जनशक्ति विदेश जाने प्रणाली अन्त्य गराउने गरी काम गर्ने बताएकी छिन् । मेहताले चिकित्सक, नर्सदेखि स्वास्थ्यका जनशक्तिले नेपालमा अवसर नपाएर विदेश जाने प्रणाली अन्त्य गराउने बताएकी हुन् । उनले स्वास्थ्यका जनशक्ति नेपालमा टिकाउन सके स्वास्थ्य क्षेत्रको विकास गराउन सकिने बताइन् । उनले भनिन्, ‘‘चिकित्सक, नर्स, पारामेडिसिन लगायतका जनशक्तिलाई नेपालमा टिकाउन सके, स्वास्थ्य सेवा राम्रोसँग प्रवाह गर्न सकिन्छ ।’’ उनले स्वास्थ्य जनशक्तिको आत्मसम्मान बढाएर उनीहरुको विज्ञता अनुसारको काम गर्न पाउने वातावरण बनाउनमा जोड दिने बताइन् । स्वास्थ्य जनशक्तिलाई खुसी राख्न सके मात्र उनीहरूबाट स्वास्थ्य सेवा राम्रो प्रवाह हुन्छ भन्दै स्वास्थ्यमन्त्री मेहताले नर्सहरुको समस्या समाधान गर्ने बताइन् । स्वास्थ्य सेवा नपाएर मृत्यु हुने अवस्था अन्त्य गराउने पनि प्राथमिकतामा राख्ने बताएकी छिन् । स्वास्थ्यका समस्या अध्ययन गरेर मात्र थप निर्णय गर्ने उनको भनाई छ । सुनसरीकी मन्त्री बनेसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधार हुने अपेक्षा गरिएको छ। रास्वपा कोशी प्रदेश कार्यवाहक सभापति गोमा तामाङ (सरिन) ले बीपीको समस्या र धरानको खानेपानी समस्या समाधान हुने अपेक्षासहित त्यसका लागि पहल गर्ने बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्री बालेन्द्र शाहले पनि खानेपानी समस्या समाधान गर्ने भनेर बोलिसक्नुभएको छ।’ उनका अनुसार केही समयपश्चात् नागरिकका समस्या समाधानका लागि लाग्ने बताएकी छन्। उनले भनिन्, ‘खानेपानीको दीर्घकालीन समाधान गर्न अघि बढ्छौँ।’ सुनसरीले यसअघि पनि शक्तिशाली मन्त्रालय पाउँदै आएको थियो। तर, यस पटक नयाँ दलले नेतृत्व गरेकाले पनि पहिलेभन्दा नागरिकले बढी अपेक्षा राखेका छन्।






























