धरान/ अम्रिसो कुचोको सिजन शुरु भएको छ । घर भित्रका कसिङ्गर, धुलो बढार्न र सरसफाइ गर्न कुचो अति आवश्यक पर्छ । अम्रिसो नभएको ठाउँमा प्लाष्टिकको कुचो चलाउने गर्छन् । प्लाष्टिकको कुचोले कसिङ्गर राम्ररी नबढार्ने भएकाले अम्रिसो कुचोकै माग अत्यधिक हुने गरेको छ ।

अम्रिसो कुचो नेपालको पूर्वी पहाडका पाखा भित्तामा उत्पादन भए पनि९५ प्रतिशत भारतीय बजारका उपभोक्ताको भरमा खेती हुने गरेको छ । धरानस्थित कृषि उपज बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘नेपालमा उत्पादित अम्रिसो कुचो स्थानीय बजारमा खपत हुँदैन । भारतीय बजारमा निर्भर छ । बर्साेनि उत्पादन बढेको छ । तरपनि प्याकेजिङ, लेबलिङ र ब्राण्डिङको व्यवस्था नुहँदा स्थानीय कृषकहरू मारमा परेका छन् ।’

जेठसम्म कुचोको सिजन हुन्छ । तेह्रथुम, भोजपुर, सुनसरी र मोरङका पहाडी भेग, धनकुटा, सङ्खुवासभा, खोटाङ, उदयपुर, इलाम, पाँचथरका पाखाभित्तामा अम्रिसो कुचो उत्पादन हुने गरेको छ । कृषकले अन्य खेतीका लागि काम नलाग्ने डँंडापाखामा कम मिहिनेतमै उत्पादन हुने अम्रिसोको भारतीय बजारमा अत्यधिक माग छ ।

व्यवस्थापक भट्टराईले भने ‘नेपालमा कुचो उत्पादन हुन्छ । ती कुचो सस्तोमा भारत पु¥याएपछि त्यहीको कम्पनीको ट्याग लगाएर महँगोमा बिक्री गगरिन्छ । यता किसान मर्कामा पर्छन् । राज्यले त्यता तिरपनि ध्यान दिए बेस हुने थियो ।’

धरानको कृषि बजारमा चार वर्षअघि प्रतिकिलो अम्रिसो १ सय ४० रुपैयाँ पुगेको थियो । अर्को वर्ष मूल्य घटेर ४० रुपैयाँ प्रतिकिलोमा झरेको थियो । यस वर्षको सिजनमा प्रतिकिलो ७० रुपैयाँले थोकमा कारोबार भइ रहेको भट्टराईले बताए । दुर्ई वर्षअघिको तुलनामा यो सिजनामा शुरुमै प्रति किलो ६० रुपैयाँदेखि ७५ रुपैयासम्म भएकोले कृषक र व्यापारीले थोरै भए पनि राहत पाएको उनले बताए ।

गत वर्ष प्रतिकिलो ४० रुपैयाँ हँुदा करिब १८ करोड रुपैयाँ बराबरको ४ हजार ३ सय ९८ मेट्रिक टन कारोबार भएको थियो । यस सिजनमा गतवर्षको तुलनामा मूल्य वृद्धि भएकाले र उत्पादन पनि बढेकाले करिब ३१ करोड रुपैयाँ बराबरको ४ हजार ६ सय मेट्रिक टनको अम्रिसोे कारोबार हुने अनुमान गरिएको छ ।

सरकारले कृषि उत्पादनलाई प्राथमिकतामा राखेको बताए पनि लक्षित समुदायमा अम्रिसो सम्बन्धी कार्यक्रमहरू नपुग्ने गरेको कृषक आइतबहादुर राईले बताए । उनले कृषक समुदायको तहसम्म त्यस्ता कार्यक्रम नपुग्दा वास्तविक किसानले लाभ लिनुको सट्टा कृषकका नाममा टाठाबाठाहरूले कार्यक्रम बनाएर बजेट सक्ने काममात्र गरेको बताए ।