उदयपुर/ सिन्कौलीले उचित मूल्य नपाउँदा उदयपुरका सिन्कौली कृषकहरू चिन्तित भएका छन् । गतवर्षभन्दा निकै ढिलो बिक्री वितरण शुरु भएको सिन्कौलीको मूल्य घटेपछि कृषकहरू चन्तित भएका हुन् ।
गतवर्षसम्म पात सुर्केर बोरामा हालेको सिन्कौली प्रतिकेजी ४० रुपैयाँको दरले बिक्री वितरण हुँदै आएको थियो । तर यस वर्ष विभिन्न बहानामा सिन्कौली ठेकेदारले ३८ रुपैयाँ केजी सिन्कौली लिन थालेको कृषकहरूले बताएका छन् ।
रौतामाई गाउँपालिका–५ धोद्रे, खानी डाँडा, ढाँड, मझौले, गुराँसे, चुचेआँप, फलामे, दुर्कुचुङ, जगरेलगायतका गाउँ बस्तीमा लगाइएको सिन्कौलीले उचित मूल्य नपाएको कृषकहरूले बताएका छन् । करिब ८ वर्षसम्म एक भाउ रहेको सिन्कौलीको मूल्य बढ्नुपर्नेमा घटेको सिन्कौली कृषक कमलबहादुर राईले बताए ।
यस वर्ष गतवर्षहरूको तुलनामा निकै ढिलो सिन्कौली बिक्री वितरण शुरु भकोएको हो । सिन्कौली ढिलो बिक्री भएपछि गाउँमा आर्थिक सङ्कटसमेत परेको कृषक राईले बताए । सडकको पहँुच पुगेसँगै सिन्कौलीले बजार पाएपछि गाउँघरका गरिब परिवारको मुख्य आर्थिक स्रोत बनेको सिन्कौली समयमा बिक्री वितरण नहँुदा कृषकहरू आर्थिक समस्यामा समेत परेको उनले बताए ।
सिन्कौली बिक्री वितरण हुन थालेपनि मूल्य घटेपछि कृषकहरूलाई निल्नु न ओकल्नु भएको कृषक राईले बताए । कृषक राईले भने “कृषकहरूलाई सिन्कौली नबेचुँ भने घरमा छाक टार्नको समस्या, सिन्कौली बेच्दा प्रतिकेजी २ रुपैयाँ घटेको छ ।, छाक टार्नकै लागि भए पनि केही कृषकहरूले सिन्कौली भाँच्ने सुकाउने र बेच्ने गर्दैछ ।”
यस क्षेत्रका कृषकहरूको मुख्य आयस्रोत भनेकै सिन्कौली हो । सुन्ताला नहुनेको पनि सिन्कौली भएकाले मुख्य आयस्रोतको रूपमा सिन्कौलीलाई लिएको कृषक राईले बताए । सिन्कौली रोपेको करिब ४ वर्षदेखि त्यसले आम्दानी दिन थाल्दछ । यसलाई अन्य नगदेबालीलाई जस्तो धेरै मेहनत पनि गर्नु नपर्ने उनले बताए ।
कृषक राईले भने “सरकारले उचित मूल्य तोकी दिनुपर्छ । गरिब कृषकले उत्पादन गरेको कृषीजन्य वस्तुले उचित मूल्य पाउनु पर्ने र कम्तीमा पनि चामलसँग बराबरीमा खरिद बिक्री हुनुपर्दछ । सिन्कौलीको मूल्य बराबरी भयो भने गरिब कृषक सहज रूपले बाँच्च सक्दछन् ।”
सडक गोरेटो रौता पुगेसँगै सिन्कौली बिक्री हुन थालेको थियो । गाउँघरको सिन्कौली नजिकै राम्रो मूल्यमा बिक्री वितरण हुन थालेको १५ वर्ष भन्दा बढी भएको कृषक अमृत राईले बताए । सिन्कौली बिक्री हुन थालेपछि गरिब कृषकहरूको गतिलो आयस्रोत बनेको उनले बताए ।
घर वरपर पाखोबारीमा भएको सिन्कौलीले बजार पाएपछि मकै, धान र कोदो उत्पादन हँुदै आएको खेत बारीमासमेत सिन्कौली रोपेको कृषक राईले बताए । सिन्कौलीको पाँच भएको हाँगा भाँचेर सुकाएर पात सुर्केर बोरामा खाँद्दाको दुःखको उचित मूल्य नपाएकाले कृषकहरू मारमा परेको उनले बताए ।
उक्त क्षेत्रको कृषकहरूले सिन्कौलीबाट वार्षिक ५०÷६० हजार भन्दा माथि आम्दानी गर्दै आएका थिए । तर, मूल्य घटेपछि आम्दानी घट्ने भएकाले कतिपय कृषकहरू कुल्ली काम गर्न घरबाहिर हिँडसकेको कृषक राईले बताए । सिन्कौली वर्षेनी भाँच्नु नहुने भएकाले यस वर्ष भाँचेको बोट अर्को वर्ष भाँच्न नमिल्ने उनले बताए ।
केही वर्षदेखि सडक गोरेटो गाउँमै पुगेपछि कृषकहरूलाई धेरै सजिलो भएको थियो । तर, ढिलो बिक्री वितरण हुनु र बढ्नुपर्ने मूल्य घट्दै गएकाले कृषकहरूलाई समस्या पर्दै गएको कृषक राईले बताए । सबै कुरा हुने ठाउँ भए पनि बजारीकरणको समस्या र उचित मूल्यको अभावले कृषकहरू विदेशिनु परेको उनले बताए ।
ठेकेदारले ट्याक्टरमा ढुवानी गर्दा धेरै खर्च लाग्ने भएकाले यसपालि २ रुपैयाँ ढुवानी खर्च कटौती गरेको पेटी ठेकदारहरूले बताएका छन् । ट्रक पुग्ने ठाउँमा पुरानै मूल्यमा लिएको छ भने ट्याक्टरले ढुवानी गर्नु पर्ने ठाउँहरूमा मूल्य घटाएर सिन्कौली लिन लगाएको बताएका छन् ।
पहिला पहिला तीन दिनको बाटो थाप्लोमा सिन्कौलीको भारी बोकेर सिराहाको लाहान पु¥याएर १०÷१२ रुपैयाँ भारी सिन्कौली बेचेर घरमा आवश्यक पर्ने खाद्य सामाग्री ल्याउने गरेको ज्येष्ठ नागरिक नैनबहादुर राईले बताए । अहिले गाउँ घर नजिकै बिक्री हुन थालेपछि सबैमा खुशी छाएको थियो । तर, भाउ बढ्नुपर्नेमा घटेपछि समस्या परेको उनले बताए ।
पैदल हिँडेर थाप्लो दुखाएर त्यो पनि केही रुपैयाँमा बेच्नुपर्ने अवस्था हटे पनि मूल्य घट्दा आर्थिक समस्या पैदा भएको ज्येष्ठ नागरिक राईले बताए । राईले भने “मैले खट्टाले तीन दिनको बाटो थाप्लोमा नाम्लोले सिन्कौली भारी बोकेर लाहान पु¥याएर त्यो पनि १२÷१३ रुपैयाँमा बेच्थेँ ।, त्यो सम्झिदा आज भोलि गाउँघरमै बिक्री हँुदा खुशी लाग्छ ।, तर, सबै कुराको भाउ बढ्दा सिन्कौलीको पनि बढ्नुपर्नेमा झन् घट्यो ।”
यसपालि गाउँपालिकाबाट परेको सडक मर्मत शीर्षकको बजेटले सडक विस्तार गरी मोडहरू बनाएर ट्रक छिर्ने बनाउने सोच भएको स्थानीय सीताराम राईले बताए । ठेकेदारले ट्रक नजाने ट्याक्रबाट ढुवानी गर्दा बढी ढुवानी पर्ने भन्दै भाउ घटाउँदा कृषकहरू चिन्तित भएसँगै आम्दानीसमेत घट्ने भएकाले गाउँमा छलफल राखेर राम्रोसँगले सडक मर्मत गर्ने सोच रहेको उनले बताए ।
अहिले बाटोको समस्या देखाएर कृषकहरूले उत्पादन गर्दै आएको सिन्कौलीको मूल्य घटाएको छ । सडक बनाएपछि के बाहाना बनाउँदो रैछ हेर्न बाँकी रहेको राईले बताए । सडक बनाउँदा सवैको लागि भएकाले पनि जसरी भएपनि सडकको मोडहरू मर्मत र स्तरोन्नति गर्ने उनले बताए । औषधि तथा विशेष मसलाको रूपमा प्रयोग गर्ने पहाडको अर्गानिक सिन्कौलीले उचित मूल्य पाउन जरुरी छ । सम्बन्धित निकायले यसको बजारीकरण गर्नुका साथै सही मूल्य तोक्न सके मात्रै स्थानीय स्तरमा आर्थिक सुधार हुने देखिन्छ । स्थानीय स्तरबाटै आर्थिक क्षेत्रमा सुधार नगर्ने हो भने समृद्धिको लक्ष्य भेटाउन मुस्किल हुने देखिन्छ ।