मधुमल्ला/ मधुमल्ला÷मोरङको मिक्लाजुङ गाउँपालिकामा दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको करिब ३ वर्ष भयो । शुरु शुरुमा चिस्यान केन्द्र सञ्चालन हुन्छ भन्दा धेरैलाई पत्यार लागेको थिएन । चिस्यान केन्द्र खुल्ला, दूध सङ्कलन कार्य शुरु होला र यहाँका तमाम कृषकहरू व्यावसायिक पशुपालनमा अग्रसर होलान् भन्ने कसैले कल्पना पनि गरेका थिएनन् ।
गाउँमा दूध उत्पादन र बिक्रीको अवस्था अत्यन्तै नाजुक थियो । सीमित किसानहरूले दूध उत्पादन गर्थे, गाउँमा स्थानीय व्यापारीले दूध खरिद गरिदिने प्रचलन थियो । अन्य कृषि उत्पादन झै दुग्ध उत्पादनमा पनि बजार मागको अवस्था स्थिर हुने कुरै भएन । बजार माग राम्रो हुँदा किसानको दूध व्यापारीले किनिदिन्थे, नहुँदा व्यापारीहरूको आवश्यकता अनुसारको दूध दिएर बाँकी घरतिरै फर्काउनुपर्ने बध्यता थियो । समयमा पैसा नपाउने, बिक्री गरेको दुधको भुक्तानी पाएको दिन एउटा ठुलै युद्ध जिते जस्तो हुन्थ्यो किसानहरूलाई । कृषि व्यवसायले जन्माएको एक मात्र कृषि सहकारी संस्था तोरिबारी लघु उद्यमी कृषि सहकारी संस्थाले आफ्ना सदस्यलगायत गाउँमा रहेका किसानहरूको यस समस्यालाई सम्बोधन गर्ने अठोट ग¥यो । ०७४ साल श्रावणमा विधिवत् चिस्यान केन्द्र खुल्यो । सहकारी संस्थामा पहिलो दिन जम्मा ७२ लिटर दूध सङ्कलन भयो ।
गाउँको चारैतिर वन जङ्गल, उर्वरताले पूर्ण जमिनमा घाँस उत्पादनको राम्रो सम्भावनालाई बुझेको सहकारी संस्थाको सहकार्यमा आधुनिक कृषि व्यवसाय भन्ने मूल नारा बोकी दुग्ध पशुपालनमा व्यवसायीकरण गर्ने उद्देश्यका साथ अघि बढेको लघु उद्यमी कृषि सहकारी संस्थाले आफ्नो दृढ अठोटलाई डगमगाउन दिएन । बीच बीचमा उतार चढाव आउन खोजे पनि संस्थाले निरन्तर रूपमा कृषकहरूलाई व्यावसायिक पशुपालनबाट हुने फाइदाहरूको बारेमा जानकारी गराइ नै रह्यो । फलतः अहिले मिक्लाजुङ गाउँपालिका वडा नंं. ८ मा रहेको दुग्ध चिस्यान केन्द्र चर्चा कमाउन सफल भएको छ ।
गत वर्षभन्दा यस वर्ष संस्थाको दुग्ध उत्पादन क्षमतामा समेत उल्लेख्य मात्रामा वृद्धि भएको तोरीबारी लघु उद्यमी कृषि सहकारी संस्थाका अध्यक्ष रमेश बस्नेतले बताए । गत वर्ष २,१२,७३० लिटर दुध उत्पादन भएकोमा यस वर्ष संस्थाको उत्पादकत्वमा ४२.९७ प्रतिशतले वृद्धि भई ३,७२,९६३ लिटर पुगेको छ । गाउँमै चिस्यान केन्द्र सञ्चालनमा आएपछि पशुपालक किसानहरूको मनमा खुशी छाएको छ । आफ्नो दुध बिक्ने कुरामा कुनै चिन्ता छैन । अहिले सरदर दैनिक दूध सङ्कलन १३०० लिटर छ । सरदर मासिक १६ लाख नगद गाउँ भित्रिन्छ ।
दैनिक एक जना किसानले अधिकतम ४० लिटर र न्युनतम २ लिटर सम्म दुध बिक्री गर्न ल्याउँछन् । मिक्लाजुङ ८ का किसान खडीबहादुर रायले दैनिक ४० लिटर दुध बिक्री गर्छन् । अर्का किसान नरेन्द्र खड्काले पनि सरदरमा दैनिक ३५–४० लिटर दुध बिक्री गर्दै आएका छन् । गत वर्ष प्रतिव्यक्ति औसत उत्पादन २ लिटर थियो भने चालू आ.व. मा उत्पादन वृद्धि भै ३.२५ लिटर पुगेको छ । दैनिक सङ्कलन केन्द्रमा दुध ल्याउनेको सङ्ख्या २५० जना पुगेको छ । हप्तामै २ र ४ जना सम्म नयाँ दुग्ध उत्पादक किसान थपिने गरेको दुग्ध चिस्यान केन्द्रका इन्चार्ज नरेन्द्र खड्काले बताए ।
कृषकले उत्पादन गरेको दुध चिस्यान केन्द्रसम्म ल्याउन नभ्याउने किसानका लागि संस्थाले टोल टोलमै गएर दूध सङ्कलन गर्नका निम्ति २ जना कर्मचारीको व्यवस्था पनि गरेको छ । किसानले उत्पादन गरेको दुधको न्यूनतम मूल्य प्रति लिटर ४६ रुपैयाँदेखि अधिकतम ७५रुपैयाँसम्म पाउने गरेका छन् । चिस्यान केन्द्रमा लिटर मात्र नापेर दुधको मूल्य तोकिदैन ।
मेशिनबाट फ्याट, एस. एन. एफ., ल्याक्टो र पानीको मात्रा परीक्षण गरिन्छ र प्रति लिटर दुधको मूल्य तोकिन्छ । यसो भएसँगै दुधमा पानी मिसाएर बेच्ने नक्कली किसानको भने बिचल्ली भएको छ । मेसिनले दुधमा मिसावट भएको पानीको मात्रा स्पष्ट छुट्याउने भएकाले किसानहरू सजग भई शुद्ध दुध ल्याउने गरेका छन् भने दुधमा शुद्धता कायम गर्न सजिलो भएको छ । चिस्यान केन्द्र सफल भएसँगै वैदेशिक रोजगारबाट फर्केका युवासमेत दुग्ध उत्पादन व्यवसायमा जोडिन थालेबाट गाउँमा चिस्यान केन्द्र स्वरोजगारको राम्रो विकल्पको रूपमा स्थापित भएको देखिन्छ ।
एकातिर सदस्यले आफ्नो दैनिक उत्पादित दुधको राम्रो मूल्य पाएका छन् भने अर्को तर्फ संस्थाले दुधको सङ्कलन बजारीकरणबाट आएको दुधको मुनाफा समेत किसानले पाउने गरेका छन् । संस्थाले दुध उत्पादनलाई प्रोत्साहन गर्न बेला बेलामा बिकाशे घाँसको बीउ, बिरुवा बितरण, पशु खरिदको लागि सहुलियतदरको कर्जा, बिना ब्याजको कर्जा, सुफत मूल्यमा चोकर, गाई आहार व्यवस्थापन, पशुपालन प्रविधि तालिम आदिको व्यवस्था मिलाए पनि पर्याप्त हुन नसक्दा लक्षित उद्देश्य प्राप्त हुन सकेको छैन ।
संस्थाले मधुमल्ला, तोरिबारीमा चिस्यान केन्द्र सफल भएसँगै कार्यक्षेत्र भित्रको मिक्लाजुङ ३, सुन्दरी चोक स्थित उन्नत जात पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाएको छ । मिक्लाजुङ ३ मा रहेको सुन्दरी चोकमा जीर्ण अवस्थामा रहेको चिस्यान केन्द्रलाई सुधार गरी त्यस क्षेत्रमा रहेका पशुपालक किसानलाई दूध उत्पादनमा सहजीकरण गर्ने गरी संस्थाले तयारी शुरु गरेको छ । यसबाट मिक्लाजुङको वार्ड नं. ३, ४ र ६ नं. वार्डमा दुध उत्पादन समेत सहज रूपमा बिक्री हुने देखिन्छ । साथै संस्थाले लघु उद्यमी ब्राण्डमा दुध र दुधका परिकार र शुद्ध प्रशोधित पानी मधुमल्ला, उर्लाबारी, दमक र पथरी बजारमा फागुन महिनाबाट बिक्री वितरण गर्ने जनाएको छ ।
सरकारी सहयोग
सहकारीले स्थानिय सरकारबाट ४ लाख र प्रदेश सरकार बाट १० लाख गरि गत आ.व. मा सरकारबाट १४ लाख अनुदान प्राप्त गरी चिस्यान केन्द्रलाई थप व्यवस्थित गर्न सहयोग पु¥याएको छ । सहकारीले वार्ड कार्यालय, गाउँ पालिका, प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग उचित सहकार्य गरी दुध उत्पादनमा सकारात्मक प्रभाव पर्ने विकासे घाँस व्यवस्थापन, पशु आहार व्यवस्थापन, उचित नस्ल सुधार, सहुलियत दरमा पशुको नियमित स्वास्थ्य जाँच, आधुनिक गोठको व्यवस्था, दुधका परिकार बनाई बजारीकरण, किसानलाई पशु खरिदका लागि सहुलियत दरको ऋण व्यवस्थापन आदि कुरा समेटी यस क्षेत्रलाई पशुपालन विशेष पकेट बनाउन सके यस ठाउँमा दैनिक ५००० लिटर दुध सङ्कलन हुन सक्ने सम्भाव्यता रहेको सहकारी संस्थाका अध्यक्ष बस्नेत बताउँछन् ।