इटहरी/ यही माघको १० गते सुनसरीको वराहक्षेत्र–१ स्थित भाइको घरमा गएका मोरङ सुन्दरहरैचाका लक्ष्मण राईले झुण्डिएर आत्महत्या गरे ।

सुनसरीको वराहक्षेत्रकै गङ्गाबहादुर विश्वकर्माले गत पुस २४ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । गत मङ्सिर २९ गते पनि वराहक्षेत्रकै जमुनी परियारले आफ्नै घरमा सलको पासो लगाएर आत्महत्या गरिन् । सुनसरीको वराहक्षेत्र नगरपालिकामा अहिले दैनिकजसो आत्महत्या र विषादी सेवनका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कले देखाउँछ । वराहक्षेत्र मात्र नभई सुनसरीमा आत्महत्याका घट्ना बढिरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

सुनसरीमा चालू आर्थिक वर्षको अहिलेसम्म १ सय ४३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता विनोद शर्माले सुनसरीमा आत्महत्या बढ्दो क्रममा रहेको बताए । यो अवधिमा २० वर्षमुनिका १९ जनाले आत्महत्या गरेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त सङ्ख्या अघिल्लो वर्षको दाँजोमा बढी हो । आत्महत्याका घटना बढ्नुलाई प्रहरीले पारिवारिक कलह नै प्रमुख कारक ठानेको छ । घरायसी विवाद, झै–झगडा, गरिबीसँगै अशिक्षा र चेतनाको कमीका कारण आत्महत्या गर्ने गरेको अनुसन्धानको क्रममा देखिएको डिएसपी शर्मा बताउँछन् ।

एकल परिवार, व्यस्त जीवनशैली, सामाजिक बेवास्ता आदि कारणले मानिसले भोगेका समस्या सुनाउने र सुन्ने जमात हराउँदै जाँदा आत्महत्या गर्नेको सङ्ख्या भयानक रूपमा बढिरहेको छ । अहिले सुनसरीको मुख्य शहरसँगै ग्रामीण क्षेत्रमा समेत आत्महत्या बढ्दो रहेको डिएसपी शर्मा बताउँछन् । गत आर्थिक वर्षमा सुनसरीमा आत्महत्या गर्ने १ सय ६४ जनामध्ये १ सय २३ जना पुरुष, २६ जना महिला र १५ जना बालिका रहेका छन् । प्रेममा असफलतासँगै पारिवारिक झगडा, आर्थिक विपन्नका कारण उत्पन्न तनाव, लागूपदार्थ सेवन र यी सबैका कारण हुने डिप्रेसन एवम् मानसिक समस्याका कारण आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको प्रहरीको भनाइ छ ।

किन भइरहेछ यस्तो ?
नेपालमा गरिबी, बेरोजगारी, सामाजिक असुरक्षा, प्राकृतिक विपत्ति, बदलिँदो जीवनशैली र मानसिक स्वास्थ्य सेवाको अभावका कारण आत्महत्या गर्ने दर बढेको छ । शहरी एकल परिवारमा कमाउने व्यस्तता हुन्छ । त्यसले मानिसहरूलाई तनावपूर्ण र एक्लो बनाएको छ । परिवारका प्रौढ सदस्यहरूको सान्निध्य नपाएका बालबालिका फेसबुक र युट्युबको लतमा परेका छन् । आत्महत्या बढ्नु यसको असर पनि हुन सक्ने प्रहरीको विश्लेषण छ ।

आर्थिक, सामाजिक, प्राकृतिक आदि कारणहरूले आत्महत्याको दर प्रकोपकै रूपमा बढे पनि रोकथाममा सरकारी चासो देखिँदैन । स्वास्थ्य मन्त्रालयले पाउने कुल बजेटको २ प्रतिशत मानसिक स्वास्थ्यमा खर्च गरिरहेको छ । यसैलाई नेपाल सरकारको आत्महत्या रोकथाम प्रयास मान्नुपर्ने अवस्था छ ।

आत्महत्या गर्नुभन्दा केही अघि र आत्महत्या गर्ने बेलामा व्यक्तिको मनस्थिति कस्तो हुन्छ, यसै भन्न सकिन्न । ‘सुसाइड नोट’ हरू पढ्दा ‘कसैलाई दोष नदिनू’ वा कसैलाई केही भनेको भन्दा बढी थाहा पाइँदैन । नेपालमा सामाजिक–सांस्कृतिक विचलन, मानसिक रोग, पारिवारिक कलह, अनमेल विवाह, यौन दुर्बलता, आपसी अविश्वास, असुरक्षाको भावना, अन्याय, द्वन्द्व, बेरोजगारी, गरिबी, इन्टरनेटको दुरुपयोग, लागूपदार्थको दुव्र्यसन, जीवनमा सधैँ असफलता आदि कारणले आत्महत्या बढ्दो छ ।

नेपाली सामाजिक जीवनमा अस्वस्थ प्रतिस्पर्धा, असमानता, घरेलु हिंसा, नैतिक शिक्षाको अभाव र नक्कल गर्ने मनोविज्ञान पनि आत्महत्यामा उत्तिकै जिम्मेवार कारक देखिएको विज्ञहरूको भनाइ छ । घरपरिवार र साथीभाइको हौसला, मनोवैज्ञानिक र मनोचिकित्सकहरूको परामर्श एवम् उपचारबाट आत्महत्याको दर घटाउन सकिने उनीहरू बताउँछन् ।

प्रदेश १ मा धेरै
प्रदेश १ मा आत्महत्याको घटना बर्सेनि बढ्दो क्रममा देखिएको छ । दैनिक दुई जनाभन्दा बढीले प्रदेश १ मा आत्महत्या गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । ०७३/७४ मा जम्मा १ हजार ९ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेको यो सङ्ख्या बढेर ०७४/७५ मा ११ सय ६९ पुगेको देखिन्छ । त्यही तथ्याङ्क बढेर गत आर्थिक वर्षमा १२ सय ३६ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ । चालू आर्थिक वर्षको अहिलेसम्म २ सय ८४ जनाले आत्महत्या गरिसकेका छन् ।

आ.व. ०७४/७५ मा यो सङ्ख्यामा वृद्धि भएर आत्महत्या गर्ने बालकको सङ्ख्या ३८ र बालिकाको सङ्ख्या ५८ पुगेको देखिन्छ । त्यस्तै गत आ.व.मा यो सङ्ख्या झन् बढेको देखिन्छ । गत आ.व.मा ४९ जना बालक र ८३ जना बालिकाले आत्महत्या गरेका छन् । यसमध्ये पनि १४ जिल्ला रहेको प्रदेश १ मा अन्य जिल्लाको तुलनामा मोरङ र सुनसरीमा आत्महत्या गर्नेको सङ्ख्या बढी देखिएको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।