शनिबार मुलुकका शीर्षस्थ नेताहरूबीच भएको छलफलको सार थियो, त्यो के भने मुलुक सञ्चालन गर्दा सहमति र सहकार्यको आधारमा गर्ने । वर्तमान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलबाट यस्तो निष्कर्ष आएको थियो । समसामयिक राजनीतिका विषयमा भएको छलफलबाट मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने भनियो । यो सार सह्रानीय छ । मुलुकका लागि हरेक घडी र हरेक क्षण यो आवश्यक पनि हो । मुलुकमा जब–जब सङ्कट आउँछ वा सङ्कटको घडीमा पुग्छ त्यो अवधिमा मात्रै राजनेताहरू एक ठाउँमा उभिने परिपाटी छ, त्यसलाई यो माथिको निष्कर्षले केही हदसम्म चिर्ने प्रयास गरेको छ । तर, राजनीतिक वृत्तमा एउटा उखान छ, ‘राजनीतिमा जे देखिन्छ, त्यो हुँदैन, जे हुँदैन त्यो देखिन्छ ।’ यदि यही उखान जस्तै मात्रै हुने हो भने सहमति र सहकार्य तथ्य होइन, सत्य हुन जान्छ ।

तथ्य एउटै हुन्छ, तर सत्य दृष्टिकोणअनुसार फरक–फरक पनि हुन्छ । हाम्रा राजनीतिक दलका शीर्षस्थ नेताहरू यही सत्यको कोणबाट प्रभावित छन् कि ? तथ्यको कोणबाट ? यसको मापन गर्न केही दिन कुर्नु पर्ला । तर, इतिहासका पाना पल्टाउँदा यस्ता बग्रेल्ती सहमति र सहकार्यहरू टुटेका छन् । हामी यही तथ्य पाउँछौं अर्थात् सर्वजनीन तथ्य । तर, राजनेताहरूको सहकार्य र एकताले मात्रै देश बलियो र समृद्ध बन्छ अनि विकास अगाडि बढ्छ । विकासले मात्रै देशलाई समृद्धिको ढोकामा उभ्याउन मद्दत गर्छ । हामी नेपालीहरूले वर्षौंवर्षदेखि देखिरहेको समृद्धिको ढोका कस्तो हो ? कुन रूपको हो ? हाम्रा नेताहरूले भन्दै आएको स्विटजरल्याण्ड हो कि ली क्वानले बनाएको सिङ्गापुर जस्तो हो कि या अन्य कुनै ? २००७ सालको प्रजातन्त्रपछि हाम्रो देशको परिकल्पना यस्तै–यस्तै देशहरूसँग हुँदै आएको सात दशकभन्दा बढी भइसकेको छ । तर, यथार्थमा परिणत हुन सकेको छैन । हाम्रा राजनेताहरू विकासमा पनि राजनीति गर्छन्, समृद्धिमा पनि राजनीति गर्छन् । जस्तो कि व्यापक चर्चामा रहेको एमसिसी । अमेरिकाले गरिब देशहरूको आर्थिक वृद्धिलाई केही माथि उकास्ने गरी ल्याएको यो अनुदान कार्यक्रम अहिले सत्तारुढ दलका बीचमै मतभेद छ । संसद्मा पारित गर्ने कि नर्गने ? यो अनुदान नेपालका लागि हितमा छ कि छैन ? ठीक हो कि बेठीक । बहस छेडिँदो छ । जनता रणभुल्लमा छन् । यो बेला एउटा आवाज बन्नुपर्छ, कि ठीकमा, कि बेठीकमा ।

राजनेताले मुलुक आफ्ना फाइदाका लागि मात्रै सहमति र सहकार्यमा सञ्चालन गरिनु हुँदैन । सहकार्य र कार्यगत एकता सदैव रहनुपर्छ । त्यसले मात्रै देशको भलो हुन्छ । राजनीति व्यक्ति, परिवारवाद हाबी हुनुहुन्न । देशका लागि हुनुपर्छ । मुलुकको फाइदा र हित हुने कुरामा सदैव एकै कित्तामा हाम्रा राजनेता उभिनुपर्छ । अनिमात्रै जनताले तपाईंहरूप्रति निष्ठापूर्वक विश्वास गर्छन् । कुनै एउटा व्यक्तिलाई माथि पु¥याउन र तल खसाउनका लागि गरिने एकता–एकता नभएर त्यो त फगत् जनतामाथिको छल हो । अनि त प्रजातान्त्रिक प्रणालीमाथिको यो कटाक्ष चीरस्थायी बनिदिन्छ, ‘लोकतान्त्रिक प्रणाली भनेको बोकाको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने प्रणाली हो ।’