‘पैसा जति कमाए पनि डकार आउँदैन ।’ सञ्चार माध्यम बिबिसिले एकपटक ब्रुनाइका शासक सुल्तानको सम्पत्तिलाई लिएर ‘अझै कति सम्पति कमाउने ? अब त पुगेन ?’ भनेर प्रश्नको सोझो जवाफ हो यो । पैसा कमाउनका लागि मान्छेले अनेक उपाय लगाउँछन् । सीप हुनेले आफ्नो कला सीप प्रयोग गर्छन् । पुँजी हुनेले पुँजी लगानी गर्छन् । रातदिन नभनी पैसाकै लागि पैसाकै पछि दौडेर अन्तिम सास रहेसम्म पैसा नै कमाउने सपना र धुनमा जीवन बिताउँछन् । त्यसैले ब्रुनाईका सुल्तानले भने, ‘पैसा जति कमाए पनि डकार आउँदैन ।’ यहाँ सन्दर्भ जोड्न खोजिएको हो, सही तरिका अपनाएर वैधानिक रूपमा पुँजी लगानी गरेर वा व्यापार व्यवसाय गरेर पैसा कमाउन कसैलाई रोकावट छैन ।

तर, राज्यलाई तिर्ने कर, राजश्व छलेर अधिक पैसा कमाउन भने कसैलाई छुट छैन । पछिल्लो समयमा हुँदाहुँदा नक्कली भ्याट बिल बनाएर पनि कर छली हुन थालेको घटना सार्वजनिक हुन थालेका छन् । यो आर्थिक अपराध हो । कर छली गर्नु भनेको राज्यलाई घाटा पार्नु मात्र होइन त्यो मुलुकको नागरिक हुनुको कर्तव्यबाट च्युत हुनु बराबर हो । नक्कली भ्याट बिल बनाएर राजस्व चुहावट गर्नेहरूको गिरोह सीमावर्ती क्षेत्रमा सक्रिय रहेको पाइएको छ । हुन यो राज्यको सुशासनसँग पनि जोडिएको छ । राज्यले बनाएको नियमलाई उसका कर्मचारीले सही रूपमा कार्यान्वयन गरे नक्कली बिल बनाएर हुने राजश्व छली हुनै सक्दैन । अचेल कर प्रणालीभित्रै अनेक जालसाझी र मिलोमतो गरेर बैङ्किङ प्रणालीलाई नै प्रयोग गरेर कर छली हुने गरेका छन् । कर छलीमा संलग्न गिरोहले कुनै कारोबार नै नगर्ने वा कम आयश्रोत भएको व्यक्तिलाई टाइसुट लगाएको फोटो खिचाएर उसैको नाममा फर्म दर्ता गर्ने, उसैको नाममा बैङ्क खाता खोल्ने तर चेकमा गरिने दस्तखतको अधिकार भने करछली गर्ने दलालले लिएर आर्थिक अपराध गर्ने गरेका छन् । कर छली गर्ने र नक्कली बिल बनाउनेहरूले दर्जनौ फर्म दर्ता गर्ने, प्रेसमा एकै पटक दर्जनौं फर्मको बिल छाप्ने त्यसपछि जसलाई जति भ्याट बिल चाहिन्छ, त्यो बेचेर कमिसन खानेहरूले पनि मुलुकलाई घाटामा पारिरहेका छन् । नक्कली भ्याट बिल बनाएर राजस्व छल्नेहरूमा पूर्वका व्यापारी व्यवसायीहरू नै रहेको हालै सीमावर्ती क्षेत्रबाट बरामद गरेको लाखौंका सामानबाट पत्ता लागेको छ । माघ २ गते सीमा प्रहरी चौकी भण्टाबारीबाट सई कुलबहादुर खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित हनुमान मन्दिर नजिकै चेकजँचको क्रममा करिब एक लाख मूल्य बराबरका विभिन्न सामान बरामद ग¥यो । गोप्य सूचनाका आधारमा विराटनगरबाट राजविराजतर्फ जादै गरेको गाडीबाट बरामद गरिएका उक्त समानहरूको अनलाइन भेहिकल ट्रयाकिङ्ग (भिसिटिएस) कागजात त साथमा थिएन नै, भएको भ्याट बिल पनि नक्कली पाइएको प्रहरीले पत्ता लगायो ।

करिब दुईमहिना अघि पनि राति पूर्वबाट काठमाडौंतर्फ जादै गरेको यात्रुवाहक बसबाट सशस्त्र प्रहरीले अवैध कपडा बरामद गरपछि सोधी खोजी गर्दा देखाएको ५ लाख ५६ हजार रुपैयाँको भ्याट बिल नै नक्कली रहेको फेला प¥यो । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीको तिनकुने स्थानमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा कपडा बरामद भयो । कारोबारको बिल माग्दा नक्कली भ्याट बिल भएकाले देखाएनन् । चार महिनाको अवधिमा सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँचको क्रममा तीनपटक र सीमा प्रहरी चौकी भण्टाबारीले एकपटक नक्कली भ्याट बिलसहित सामान बरामद गरेपछि पूर्वमा नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने गिरोह सक्रिय रहेको पुष्टि हुन्छ । नक्कली भ्याटबिल बनाएर कर छली गर्ने बेइमान गिरोहलाई तह लगाउन राज्य संयन्त्र, भन्सार, त्यहाँ खट्ने कर्मचारी, प्रहरी प्रशासन इमानदार हुनु भने जरुरी छ ।