मेची पुल निर्माण सम्पन्न हुन झण्डै चार दशक खर्चिनुप¥यो । २० को दशकबाट शुरु गरेको पुल सग्लो रूपमा पाउन झापाका मेचीबासीलाई ४० वर्ष पर्खिनुप¥यो । पुल त बन्यो तर, अझै प्रयोगमा आउन भने सकेको छैन । सग्लो पुल पाउन झापाबासीलाई जति वर्ष लाग्यो । सायद ‘एप्रोच रोड’ जोडिन पनि त्यति नै वर्ष लाग्ने त हैन, आशङ्काहरू जन्मिन थालेका छन् । २०७५ साल माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुल उद्घाटन गर्दा एप्रोच रोड पनि बनिहाल्ने सङ्केतले जनता खुशी थिए । तर, ११ महिनाको यो कालखण्डमा निर्माण त के प्रक्रिया अगाडि नबढ्दा जनता निराश बन्न थालेका छन् । नेपाल र भारततर्फ नै ‘एप्रोच रोड’ को थालनी नहुँदा फेरि पुलझैं केही दशक कुर्नुपर्ने त होइन भन्ने आशङ्काहरूले स्थान पाउन थालेका छन् ।

पुल विकासको सूचक मात्रै होइन, यो आर्थिक गतिविधि जोड्ने यन्त्र पनि हो । अझ यो पुलको आफ्नै महŒव छ । जुन पुलले नेपालका शहरलाई मात्रै जोड्दैन । यसले भारतका केही शहरलाई जोड्छ । व्यापारीहरूको मनमुटुलाई जोड्छ । र, आर्थिक गतिविधिको नयाँ ढोका खुल्दछ । जसरी देशले समृद्ध बन्ने खाका कोरेको छ । त्यो अधकल्चो पुल निर्माणले सम्पन्न हुँदैन । त्यसलाई जोड्नका लागि इच्छाशक्ति चाहिन्छ, त्यो इच्छाशक्ति व्यक्तिको होइन, राज्यसँग हुनुपर्छ । हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंले टेण्डर लगाएर पनि काम नहुनुले नै इच्छाशक्ति स्खलित भएको प्रष्ट हुन्छ । २०७५ असार २८ गते निर्देशनालयले १ हजार २ सय ९० मिटर सडक निर्माण गर्न टेण्डर खोलेको थियो । लम्बाइका हिसाबले यो सडक कति पनि होइन । काम गर्ने ठेकेदार कम्पनीको चाहना भए पुग्छ ।

साढे ५ करोडमा पाँचथरको याक्थुङ्हाङ निर्माण सेवाले काम गर्ने भनी जुन सम्झौता गरेको छ, त्यो अहिलेसम्म किन हुन सकेन ? सडक निर्माणको ठेक्का प्राप्त गरेर पनि काम अगाडि नबढाउने यस्ता कम्पनीहरूलाई तत्काल कारबाही गर्नुपर्छ । सुशासनले मात्रै विकास र समृद्धि हुन्छ भन्ने हेक्का सरकारले राख्नुपर्छ । विकास र समृद्धि भनेको भाषण मात्रै होइन, काम हो । एप्रोच रोड निर्माणमा मुआब्जाको जुन कुरा आएको छ । त्यसलाई हल गर्ने काम पनि राज्यले तत्काल गरिहाल्नुपर्छ । यस्ता विषयका कारण आर्थिक गतिविधि शून्य हुन्छ । भद्रपुर पूर्वी भागको पुरानो बजार हो । पुल यो बजारको लागि नयाँ मार्ग बन्न सक्छ । भद्रपुरलाई पुरानै स्थितिमा फर्काउनका लागि पनि भूमिका खेल्न सक्छ । त्यही आकाङ्क्षाका साथ त्यहाँका उद्योगी, व्यापारीहरू लागिपरेका छन् । उनीहरू आशावादी छन् । अझै पनि नेपाल र भारततर्फकै एप्रोच रोडका लागि दशकौंसम्म कुर्नुपर्ने हो कि ?