धरानमा हारेको पत्रकारिता

alt
  • माघ २, २०७६
  • गोपाल दाहाल

धरान / गत मङ्सिर १४ मा सम्पन्न उपनिर्वाचन राष्ट्रिय चर्चाको विषय बन्यो र अहिले पनि नेकपा किन हा¥यो ? वा काङ्ग्रेसले कसरी जित्यो ? भन्ने चर्चा सेलाइसकेको छैन ।

तर यही उपनिर्वाचनमा चर्चा हुन नसकेको विषय हो, पत्रकारिताको पराजय । उपनिर्वाचनको मत गणनापछि मात्र दलहरूको हार जित निश्चित भयो तर पत्रकारिता भने निर्वाचन हुनुअघि नै हारिसकेको थियो । धरानमा पत्रकारिता कसरी हा¥यो ? भन्ने विषयमा न त यहाँका बुद्धिजीवीले चर्चा गरेको सुनिन्छ, न त समाजले नै । राजनीतिक दल र तिनका नेताहरूले त गर्ने कुरै भएन ।

मङ्सिर १४ गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन नेकपाले कात्तिक २२ गते नेकपानिकटका पत्रकारहरूको भेला गरेर ५१ सदस्यीय निर्वाचन परिचालन प्रचार–प्रसार तथा प्रकाशन उपसमिति गठन गरेको घोषणा ग¥यो । ‘सबै कमरेडलाई हार्दिक बधाई अब हाम्रो भेट मैदानमा...’ भन्दै सार्वजनिक गरिएको नामावलीमा राष्ट्रियस्तरका र स्थानीय पत्रपत्रिकामा काम गर्ने धरानका अधिकांशजसो सक्रिय पत्रकारको नाम थियो । सक्रिय पत्रकार मात्र होइन, पत्रकार महासङ्घ सुनसरीका पदाधिकारीहरू नै यो समितिमा थिए । नामावली सार्वजनिक भएको केही समय पछिदेखि नै नेकपाको बढाई–चढाई र काङ्ग्रेसका उम्मेदवार र नेताहरू विरुद्ध आरोप लगाइएका समाचार सञ्चार माध्यम र पत्रकारका इमेलमा आउन थाले । कतिसम्म भने एउटै समाचार पाँच–सात जनाको नामबाट इमेलमा आउन थाले । उनीहरूले पठाएका समाचारका शीर्षक थिए– ‘नेकपालाई जिताउने मनस्थितिमा धरानवासी’, ‘नेकपा उम्मेदवारलाई चोक–चोकमा भव्य स्वागत’, ‘नेकपाले धरानको सडक एक महिनाभित्र निर्माण गर्ने’, ‘यसकारण नेकपालाई महिलाको भोट (कारणसहित) आदि ।

नेकपाले पत्रकार र पार्टी कार्यकर्ता मिसाएर ५१ सदस्यीय प्रचार समिति बनाएको भोलिपल्टै काङ्ग्रेसले पनि आफूनिकटका पत्रकारलाई भेला ग¥यो । धरानमा काङ्ग्रेस निकट पत्रकार थोरै थिए । त्यसपछि इटहरी र इनरुवाका पत्रकारसमेत जम्मा गरेर १०१ सदस्यीय मिडिया परिचालन तथा प्रचार–प्रसार समन्वय समिति गठन ग¥यो ।

यसमा पनि पत्रकार महासङ्घका पदाधिकारीको समेत नाम थियो । नेकपाले गठन गरेको समितिका पत्रकारले जस्तै काङ्ग्रेसका पत्रकारको पनि धमाधम इमेल आउन थाल्यो । काङ्ग्रेसको प्रचार –प्रसार समितिले पठाउने समाचारका शीर्षक भने यस्ता थिए– ‘तिलकको मुख्य एजेण्डा भ्रष्टाचारमुक्त धरान’, ‘कम्युनिष्ट शासनले देशलाई निकास दिन नसक्ने’, ‘धरानको विकास पत्रपत्रिकामा देखियो, विजय भएपछि तिलकले तलब–भत्ता नलिने’ आदि ।

चुनावी समाचारहरू पठाइरहँदा पत्रकारहरू दलका झोले कार्यकर्ता बनिरहेका थिए । हो, त्यतिबेलै धरानको पत्रकारिता हारिसकेको थियो । उपनिर्वाचनको मौनअवधि शुरु नहुँदासम्म दुवै पार्टीले गठन गरेका समितिका पत्रकारहरू जोडतोडका साथ आफ्नो पार्टीलाई असल र अर्कोलाई खराब देखाउन तल्लीन थिए । पत्रकारिताको सामान्य सिद्धान्तसमेत बिर्सिएर दलको गुणगान गाउन शुरु गरेकै बेला धरानको पत्रकारिता हारिसकेको थियो ।

जब उपनिर्वाचनको मौनअवधि शुरु भयो, त्यतिबेला नेताहरूसँगै मतदाता फकाउन पत्रकारहरू नै सक्रिय भएको देखियो । अझ मतदानको अघिल्लो साँझ नेकपाले पत्रकारहरूलाई पेट्रोलपम्पमा बोलाएर मोटरसाइकलमा तेल हालिदियो र पेट्रोल पाउने पत्रकारहरू चुनावको दिन बिहानैदेखि ‘प्रेस’ लेखेको ज्याकेट लगाएर र मोटरसाइकलमा ‘प्रेस’ लेखेका कागज टाँसेर पार्टीका मतदाता ओसार्न खटिए । प्रेसको नाममा मोटरसाइकल चलाउने अनुमति पाएकाहरूले दिनभरमा २० देखि ३० जनासम्म मतदाता ओसारेका थिए । के यो पत्रकारिता हो ?

चुनावका बेला पत्रकारले निष्पक्ष बनेर तथ्यपरक खबर पस्किनु पर्ने हो तर उनीहरू दैनिक चुनावमा आफूनिकटको दलको गुणगान गाउन र अरू दलको बदनाम गर्न प्रयोग भएका उदाहरण उनीहरूले नै इमेलमा पठाएका चुनावी समाचारमा देख्न सकिन्छ । सञ्चारकर्मीहरू निष्पक्ष हुनुपर्नेमा अधिकांश सञ्चारकर्मी राजनीतिक दलका कार्यकर्तामा रूपान्तरित भएका छन् ।

एउटा दलको प्रचार–प्रसार समितिमा रहेर काम गरिरहेका सञ्चारकर्मीले कसरी निष्पक्षरूपमा लेख्न सक्ला ? चुनावको केही दिनअघि दलका प्रचार समितिमै रहेका सञ्चारकर्मीहरूले साम्प्रदायिक हिंसा भड्काउने किसिमका समाचार पनि लेखे । आचार–संहिताको समेत ख्याल गरेनन् । दलहरूले सञ्चारकर्मीको यसरी दुरुपयोग गरेर ठूलो गल्ती गरेका छन् । यसले धरानको पत्रकारिताजगत्लाई राम्रो बाटोमा अवश्य अघि बढाउने छैन ।

पत्रकारिताको दुरुपयोग
एक समय धरानलाई पत्रकारिताको उर्वर भूमिका रूपमा लिइन्थ्यो । पत्रकारिताप्रति समाजको बलियो विश्वास थियो । धराने समाजको सहयोग थियो पत्रकारिताप्रति । त्यसको कारण थियो, धरानमा पत्रकारिता गर्नेहरूकै बाहुल्यता थियो । तर पछिल्लो समय पत्रकारिताको आवरणमा राजनीति गर्ने, अन्यत्रबाट फाइदा लिनेहरूको जमात बढ्दो छ । हुन त धराने पत्रकारितामा शुरुको पुस्ताका केही पत्रकारको बानी व्यवहार पनि त्यस्तै थियो ।

तर तीन दशकयता युवा पत्रकारहरूको सक्रियतासँगै धराने पत्रकारिताले फड्को मार्दै थियो । धराने पत्रकारितामा सिर्जनशील युवाहरूको सक्रियता बढेका बेला राष्ट्रियस्तरका मिडियामा धरान र पूर्वक्षेत्रका खोजमूलक खबरहरू प्रकाशन हुन्थे । धराने युवा पत्रकारको लोभलाग्दो क्रेजका बारेमा समेत खबर छापिन्थे । धरानबाट उत्पादन भएका धेरै जना सक्रिय र दक्ष पत्रकार काठमाडौं पुगेर पनि राम्रा मिडिया हाउसमा राम्रै स्थानमा काम गरिरहेका छन् ।

तर एक दशकयता धरानको पत्रकारितामा दलाली प्रवृत्ति बढ्दो छ । सबैलाई एउटै डालोमा हाल्नु त हुँदैन तर पत्रकारितालाई सम्पर्कको माध्यम बनाएर व्यक्तिगत फाइदामा कुद्ने पत्रकारहरूको सङ्ख्या बढिरहेको छ । यो पत्रकारिताको दुरुपयोग हो । यसलाई रोक्न जरुरी छ ।

धरानलाई कुनै बेला ‘मृत शहर’ भन्ने गरिन्थ्यो । त्यसबेला धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि धरानले पुनर्जीवन पाएको भन्ने गरिन्छ । धेरै बिरामीको जीवन बचाउने र धरानलाई नै पुनर्जीवन दिने यो स्वास्थ्य संस्था अहिले अस्त–व्यस्त छ । आफै बिरामी अवस्थामा छ ।

तर धरानका पत्रकारलाई यसमा गहिरिएर समाचार लेख्न खासै रुचि छैन । बरु केही पत्रकार बीपीबाट आउने विज्ञापनका लागि लोभिएका छन्, अनि केही पत्रकार चाहिँ आफन्तलाई जागिरमा लगाएर मख्ख छन् । त्यसपछि त्यहाँभित्रका कमीकमजोरी लेख्ने नैतिकता भए पो लेख्नु । कुनै पत्रकार जग्गा दलाल, मिटर ब्याजका कारोबारीबाट व्यक्तिगत फाइदा लिने काममा सक्रिय छन् भन्ने धरानवासीमा चर्चा परिचर्चाको विषय नै बनेको छ ।

बीपीजस्तै अन्य कति संस्था, कति परियोजना होलान्, जहाँ यस्तै व्यक्तिगत फाइदाका लागि लागेका पत्रकारहरूले फाइदा उठाइरहेका हुन सक्छन् । तर पत्रकारको खबरदारी कसले गर्ने ? समाजका बुद्धिजीवीहरू पत्रकारका विरुद्ध बोल्न डराउँछन् । बोल्नु पर्ने र खोज्नु पर्ने संस्था पत्रकार महासङ्घ बोल्न सक्दैन । किनकी यो राजनीतिक दलको नेता कार्यकर्ताले घेरिएको छ । यस्ता धन्दामा सक्रिय हुनेहरू धेरैजसो पार्टीकै कार्यकर्ताहरू छन् ।

र यस्तै र यिनै पत्रकारिताका नाममा अनेक काममा संलग्नहरू नै पार्टीमा सक्रिय भएर लाग्छन् । चुनावका बेला पत्रकारिताको आवरणमा ‘पार्टीकारिता’ गर्ने यिनीहरू नै हुन्छन् । यस्तै व्यक्तिहरूले पत्रकारितालाई दिनदिनै समाजबाट हार्न बाध्य पारिरहेका छन् ।

पार्टीकारिता हाबी
‘पत्रकारिता’ हराएर ‘पार्टीकारिता’ हाबी भएको धरानमा मात्र होइन, सायद देशभरै यस्तो लहर बढ्दो छ । त्यसका लागि राजनीतिक दल र तिनका नेताहरूले मलजल गरिरहेका छन् । यही पुस १२ गते काठमाडौंमा नेकपा निकटका पत्रकारहरूको सङ्गठन प्रेस सेण्टरका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमको तस्बिर र समाचार हेर्दा पत्रकारितामाथि पार्टीकारिता हाबी हुँदै गएको प्रष्ट देखिन्थ्यो । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले शपथ गराउँदा प्रेस सेण्टरका केन्द्रीय सदस्यहरू मुठ्ठी उचालेर ‘लाल सलाम’ गरिरहेका थिए ।

सोही कार्यक्रममा प्रचण्डले मिडिया बुर्जुवाहरूको हातमा रहेको बताएका थिए भने प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीको नीतिअनुसार सञ्चार क्षेत्रमा प्रतिक्रियावादीका दुष्चक्रलाई पार गर्न निर्देशन दिएका थिए । सोही दिनको राष्ट्रिय समाचार समितिको बुलेटिनमा प्रकाशित समाचारमा लेखिएको थियो– ‘प्रधानमन्त्री ओलीले पार्टीको नीतिअनुसार समाचार सम्प्रेषण गर्नसमेत आग्रह गर्नुभयो ।’

पार्टीको नीतिअनुसार पत्रकारिता गर्न थालेपछि पत्रकारिताको मूल मर्म कहाँ पुग्ला ? पत्रकारले कुनै पार्टीको नीतिअनुसार होइन, पत्रकारिताकै नीति र मर्मअनुसार काम गर्नुपर्ने होइन र ?

गत मङ्सिर २९ र ३० गते गण्डकी प्रदेशअन्तर्गत नवलपरासी (पूर्व) नवलपुरमा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय सङ्गठन समितिको बैठक एवम् साङ्गठनिक भेलाले गरेको निर्णय नं. २ मा पत्रकार महासङ्घको सङ्गठन शुद्धीकरण अभियानलाई अझ प्रभावकारी ढङ्गबाट अघि बढाउन तीनै तहका निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, निजामति कर्मचारी, राजनैतिक दलका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीहरूको सदस्यता नवीकरण नगर्ने उल्लेख गरिएको छ ।

महासङ्घले केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरे पनि पार्टी सदस्यता लिएका धेरैजसो पत्रकारहरू नगर, गाउँ र वडा तहमा छन् । उनीहरूलाई चाहिँ महासङ्घले छुट दिन खोजेको हो ?

पत्रकारितालाई पार्टीकारिता बनाउन खोज्नु राजनीतिक दल र नेताहरूलाई पनि तत्कालका लागि फाइदाजनक होला तर भविष्यमा ठूलो समस्या हुनेछ । पार्टीकारहरूले पत्रकारिता होइन, प्रपोगाण्डा मात्र गर्ने हुन् । प्रपोगाण्डाले देश, प्रदेश वा नगर, गाउँ विकासमा सहयोग पु¥याउँदैन । बरु भ्रष्टाचारलाई मलजल गर्छ ।

तर अहिलेको दुनियाँमा प्रविधिको विकासले हात हातमा इण्टरनेट पुगेको छ । सञ्चारको पहुँच धेरैमा पुगेकाले पहिलाजस्तो प्रपोगाण्डाले मात्र दुनियाँ झुक्याउन सकिँदैन । धरानको उपनिर्वाचनले पनि प्रपोगाण्डाले काम गर्दैन भन्ने देखाइसकेको छ । चुनावताका नेकपा निकटका पत्रकारले विकासका कुरा उठाए, पार्टीको बढाई चढाई गरे तर त्यसले मतदातामा ‘काम नगर्ने, प्रचार मात्र गर्ने’ भनेर नकारात्मक सन्देश गयो । त्यसले झनै हराउन मद्दत ग¥यो ।

यस्ता कुराबाट पनि पाठ सिकेर राजनीतिक दलहरूले पत्रकारितालाई पत्रकारिता नै हुन दिनु बेस हुन्छ । पत्रकारलाई पार्टीको मुठ्ठीमा राखेर होइन, स्वतन्त्रता दिएर अघि बढ्दा नै देश विकासमा सहयोग पुग्न सक्छ ।

सबै राजनीतिक दलहरूले पत्रकारलाई कार्यकर्ता होइन, स्वतन्त्ररूपमा आलोचना गर्ने वातावरण बनाउनु आवश्यक छ र पत्रकारहरूले पनि स्वतन्त्र र निष्पक्ष भएर काम गरे पत्रकारिता आफैमा एउटा दह्रो शक्ति हो भन्ने बुझ्नु आवश्यक छ । कसैलाई निष्पक्ष भएर काम गर्न सकिँदैनजस्तो लागे सिधै राजनीतिमा लागे हुन्छ । पत्रकारिताको खोल ओढेर राजनीति गर्नु पत्रकारिताको धर्म र मर्म विपरीत हो ।

कोरोनाको लक्षण देखिए ...

धरान । कोरोनाभाइरसको लक्षण देखिएका अमेरिकी गायक जोन प्र ...

धरानमा कहाँ कसरी राह ...

धरान / धरान उपमहानगरपालिकाले बनाएको फुड वैंकले प्र ...

अमेरिकी राष्ट्रपति ट ...

धरान । कोरोनाको सङ्कटमा गुज्रिरहेका बेला अमेरिकाले विश् ...

ब्राजिलियन पूर्वफुटब ...

धरान । नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved