बलात्कार आफैमा अमानवीय जघन्य अपराध हो । बलात्कार किन हुन्छ भनेर अनेक मनोवैज्ञानिक, सामाजशास्त्रीय दृष्टिकोणबाट अध्ययन अनुसन्धान भएका छन् । जुनसुकै दृिष्टकोणबाट अध्ययन अनुसन्धान भएपनि सार भने एउटै छ, महिलालाई अवला देख्ने र पुरुषले आफुलाई बाहुबली ठान्ने अनि महिलालाई यौन प्यास मेट्ने माध्यम ठान्ने पितृसतात्मक मान्यता ।
बलात्कारी पुरुष टाढाको वा नचिनेको कमै हुन्छ । अधिकांस बलात्कार चिनेजानेका, आफन्त, प्रेम बहाना गर्ने प्रेमिकाहरुबाटै महिलाहरु दिनदिनै बलात्कृत हुदै आएका छन् । कतिपयले सामाजिक संजाल वा युट्युव वा इन्टर्नेटबाट हेर्न सकिने विभिन्न पोर्न फिल्मको प्रभावले समाजमा बलात्कारका घट्ना बढेको दावी गरेका छन् । कतिपयले युवतीहरुले छोटा र पारदर्शी पहिरन लगाएकाले पुरुषहरु उत्तेजित भएर बलात्कार बढेको पनि भन्छन् । यी सवै तर्कमा कुनै दम छैन । यी तर्कमा दम भए आजभोलि किन पाच छ बर्षका बालिकाहरु बलात्कृत भएका होलान् ? साना बालिकाहरु देख्दा पुरुषमा यौन उत्तेजना बढ्छ कि स्नेह ? समाजमा महिलाले न छोटो लुगा लगाएर बलात्कार बढेको हो न पोर्न फिल्मको प्रभावले । बलात्कार गर्ने पुरुषमा जव सम्म व्यक्तित्व विकार हुदैन, यौन विचलन आउदैन, सेक्सुअल सेडिज्म हुदैन, यौन दुव्र्यवहार गर्नु अपराध हो भन्ने अनूभूति गर्दैन, बलात्कार सामाजिक कलांक हो भन्ने बुझ्दैन, यो महिलामाथि हुने हिंसा र बर्बरता हो भन्ने विषयलाई मिथ्या भन्छ तवसम्म समाजमा बलात्कारका घट्ना भइरहन्छन् । बलात्कार पीडित महिलाले शारिरिक र मानसिक तनावसगै लोकलाज, भयत्रास व्यहोर्नु पर्छ । उसको मानसिकरुपमा आइपरेको पिडाको क्षतिपुर्ती कतैबाट हुनसक्दैन ।
महिलालाई हेर्ने सामाजिक सांस्कृतिक दृष्टिकोणमै खोट भएकाले समाजमा बलात्कारका घट्ना बढेका छन् । एउटा पुरुषले कुनै युवती वा महिलालाई एकान्तमा हिडिरहेको देख्यो भने घुरेर हेर्छ । मौका परे जिब्रो पड्काएर जिस्काउन सक्छ । सिटि मारेर ध्यानाकर्षण गर्न सक्छ । अचानक पुरुष भित्र कामुकताको आगो दन्किन सक्छ । मनोविज्ञानीहरु भन्छन्, ‘तर सवै पुरुषहरु यस्ता प्रवृत्तिका हुदैनन् । महिला देख्दा कामुकताको कल्पना गर्ने पुरुषहरु समाजमा निकै कम हुन्छन् । जस्ले कुनै पनि बेला मौका पाएर जस्लाई पनि बलात्कार गर्न सक्छ । त्यस्ताले आफ्नै आमा, दिदि बहिनी, छोरी भान्जी पनि भन्दैन ।’ बलात्कार गर्ने अधिकांस पुरुषहरु महिलालाई कमजोर अवला नै ठान्छन् ।
मनोवैज्ञानिक अध्ययनले भन्छ, ‘पुरुषले आफुलाइ महिला भन्दा श्रेष्ठ ठान्ने र पुरुषत्वको अहमताले समाज वा घरमा महिला बलात्कार हुन पुग्छ ।’ यौटा अर्को अध्ययनले बलात्कार घट्नामा पुरुषको कामुकताको कारणमात्र हुदैन । त्यहा उसले अवला ठानेको महिलामाथि नियन्त्रण र उमाथि प्रभुत्व जमाउनकालागि मनैदेखि प्रेरित भएर पनि समाजमा बलात्कार घट्ना हुन्छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरकाअनुसार पूर्वका झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुम लगायतका जिल्लामा तीन वर्षको तथ्याङक हेर्दा वर्षेनी महिला तथा बालबालिका बलात्कार सम्बन्धि अपराधको ग्राफ वृद्धि भएको छ । सवैभन्दा बढि बलात्कार सुनसरी मोरङमा भएको प्रहरीको तथ्याकमा छ ।
समाजमा बढ्दो बलात्कार घट्नासंगै बलात्कृत महिलाको हत्या पनि बढेका छन् । यो सामाजिक कलंकलाई निमिट्यान्न पार्न नसके पनि रोकथाम गर्नका लागि राज्यले फरक शैलीको कदम उठाउन जरुरी भइसकेको छ । बलात्कारीले उन्मुक्ति नपाउने गरी दण्ड सजायको व्यबस्था हुन जरुरी छ । त्यो दण्ड सजाय भनेको बलात्कार प्रमाणित भएको लगतै मृत्यु दण्ड नै हो । मृत्यु दण्डको व्यबस्था भए पीडित महिलाले कम्तिमा राहत महसुस गर्न सक्छ । र, समाजमा पुर्णरुपमा बलात्कार घट्ना नभएपनि अहिले दैनिक हुने घट्नाको ५० प्रतिशत रोक्न सकिन्छ । नेपालको संविधान र कानूनमै बलात्कारीलाई मृत्यु दण्डको सजाय तोकिएमा कुनै महिलामाथि बलात्कार गर्न खोज्ने वा प्रयास गर्ने पुरुषले कम्तिमा सय पटक सोच्छ– बलात्कार गर्ने कि मृत्यु दण्ड सजाय भोग्ने भनेर ।