इटहरी / चार वर्ष मोरीससमा काम गरेर स्वदेश फर्केका सुनसरी वराहक्षेत्र नगरपालिका–१ चियाबारीका अर्जुन राई विदेश बसाइबाट सन्तुष्ट भएनन् । लामो समय विदेश बस्दा पनि राम्रो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा स्ट्रबेरीसँगै तरकारी खेती गर्दै आइरहेका छन् ।

उनले वराहक्षेत्रस्थित चियाबारी क्षेत्रमा तरकारी किसानको रूपमा परिचय बनाएका छन् । विदेशबाट आएका दीपक राई, टपेन्द्र राई, दीपेन राई, फत्तेमान राई र अमेरिकामा कृषि पढेर आएका ससन देवकोटाले उनलाई साथ दिएका छन् । ती ६ जनाले सामूहिकरूपमा पहिलो पटक स्ट्रबेरी खेतीसँगै तरकारी खेती शुरु गरेका हुन् ।
पानीको अभाव रहेको सो क्षेत्रमा थोपा सिंचाइको माध्यमद्वारा स्ट्रबेरी खेती शुरु गरेको अर्जुन बताउँछन् । उनी भन्छन्, ‘लामो समय विदेश बसे पनि सोचेजस्तो कमाइ नभएपछि अहिले स्ट्रबेरी खेतीमा लागेको छु ।’ यो क्षेत्रमा यसअघि स्ट्रबेरी खेती हुन्छ भन्ने नसोचेको उनले बताए ।

अमेरिकाबाट साथीले २ लाखमा किनेर ल्याएको बिरुवा अहिले राम्ररी हुर्केर स्ट्रबेरी फल्न थालेपछि उनी दङ्ग छन् । शुरुवाती समयमै यो वर्ष स्ट्रबेरी फलेपछि आफू दङ्ग भएको उनी बताउँछन् । ‘पहिला कोदो, मकै फल्ने ठाउँमा म स्ट्रबेरी फलाउँदैछु’–गर्व गर्दै उनी भन्छन् ।

हालसम्म झण्डै ३५ लाख लगानी गरिसकेका उनले अबको आम्दानी पूरै बचत हुने जानकारी दिए । अर्जुनले भने, ‘अहिले नै राम्रो कमाइ नभए पनि हामी उत्साहित भने भएका छौं ।’
लामो समयदेखि किसानहरूलाई तालिम दिँदै आएको हुटेप नेपाल झुम्काका अध्यक्ष डिल्ली कार्कीले किसानहरूलाई ऊर्जा दिन आफूहरू लागिपरेको बताए । अहिले वराहक्षेत्रका विकट स्थानका किसानहरूलाई कृषिक्षेत्रमा सफलता दिलाउन हुुडेप लागिपरेको उनले बताए ।

आग्र्यानिक मल बनाउने कार्यक्रमसमेत अगाडि सारेको उनले बताए । अहिलेसम्म वराहक्षेत्रका ३ सय किसानलाई तालिम दिई बजारीकरणको समेत व्यवस्था मिलाएको कार्की बताउँछन् ।
अम्लिसो खेतीमा किसान उत्साहित

सुनसरी क्षेत्रको विकट मानिने वराहक्षेत्र नगरपालिका वडानम्बर १ को चियाबारी डाँडामा अम्लिसोबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यवसायिक रूपमा खेती गर्न थालेका छन् । यस खेतीबाट दोहोरो फाइदा हुने भएपछि किसान व्यवसायप्रति आकर्षित भएका हुन् ।

अम्लिसोको फूलबाट कुचो, हरियो र पोषिलो घाँस र डाँठलाई दाउराको रूपमा समेत प्रयोग गर्न सकिने भएकोले किसानहरू अम्लिसो खेतीप्रति आकर्षित भएका हुन् । थोरै लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले अम्लिसोलाई नगदेबालीको दर्जा दिने गरेको स्थानीबासी तथा चक्रकुण्ड कृषि सहकारी संस्थाका पूर्व अध्यक्ष सटेन्द्र राईले बताए ।

अम्लिसो रोपेको १–२ वर्षदेखि नै राम्रो आम्दानी गर्न सकिने र थोरै लगानीमा धेरै फाइदा लिन सकिने भएका कारण अहिले यस क्षेत्रका करिब ६ सय घरपरिवारले अम्लिसो खेती गर्दै आएको राईको भनाइ छ । ‘राम्रो आम्दानी हुँदो रहेछ’ उनले भने, ‘अहिले गाउँका अधिकांश घरपरिवारले अम्लिसो खेती शुरु गरेका छन् ।’
अहिले व्यावसायिक रूपमा अदुवा, बेसार र अम्लिसो खेती गर्नेहरूको सङ्ख्या बढ्दै गएको उनले बताए । किसानहरूलाई उत्साहित गर्ने हुडेप नेपाल झुम्काले कृषकलाई थप उत्साहित गरिरहेको राईको भनाइ छ ।

हुडेप नेपालका कार्यक्रम संयोजक राजन ठटालले किसानहरूलाई तालिम दिँदै अनुगमन गरेर उत्साहित गरिरहेको बताए । किसानहरूलाई व्यवसायप्रति उत्साहित गराउन बगरखेती तालिमसमेत दिएको उनले जनाए ।