अङ्ग्रेजी नयाँ वर्ष आगमनसँगै नेपालमा भ्रमण वर्ष २०२० शुरु भएको छ । सरकारले भ्रमण वर्षको निकै तामझामका साथ शुभारम्भ गरेको छ । बुधबार सङ्घीय राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । अन्य प्रदेशहरूमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूले उद्घाटन गरेका छन् । २० लाख विदेशी पर्यटकहरू नेपाल भिœयाउने लक्ष्यसहित शुरु गरिएको भ्रमण वर्षको शुभारम्भको तामझामलाई सार्थक बनाउन चुनौती पनि उत्तिकै छ । आफ्नो मुलुकबाट सुन्दर शान्त नेपाल घुम्ने उत्साह बोकेर प्लेन चढ्दा पर्यटकहरूलाई जुन उत्साह हुन्छ, त्यो नेपालका विमानस्थलबाट झरेर हिँड्दा हुने धुलो, फोहोरले मन अमिलो बनाउने गर्छ । कतिपय पूरै नेपाल घुम्न भनेर निस्किएका पर्यटकहरू काठमाडांैबाट फर्किएका उदाहरण छन् । भ्रमण वर्ष मनाइरहँदा यस्ता समस्या सुल्झाउन सरकारलाई चुनौती छ ।

भ्रमण वर्षको शुभारम्भ स्थानीय सरकारहरूले पनि उतिकै तामझामका साथ शुरु गरेका छन् । बुधबारको शुभारम्भले भ्रमण वर्ष बढी प्रचारमा केन्द्रित देखिएको छ । मञ्च सजावट, बेलुन उठाउने काम, नाचगान गर्नेलगायतका काम शुभारम्भमा सातै प्रदेशमा उत्कृष्ट देखिएका छन् । हुन त राम्रो शुरुवात नै आधा काम फत्ते भएको मानिन्छ । सायदै यही भनाइ अनुसार नै तीनै तहका सरकारले पर्यटन वर्षको शुभारम्भलाई भव्य बनाएका छन् । तर, नाचगान, बन्दकोठाको गोष्ठी सेमिनार, मञ्च सजावटले मात्र २० लाख पर्यटकहरू नेपाल भिœयाउन सकिँदैन । पर्यटकहरूका लागि आवश्यक भौतिक पूर्वाधार देशभरि कस्ता छन् कहाँ के आवश्यकता छ । कसरी पूर्वाधार विकास गर्ने भन्ने विषयमा तीनै तहको गम्भीर ध्यान जानुपर्ने हो तर त्यतातिर खासै ध्यान पुगेको देखिँदैन ।

पर्यटकहरूको गन्तव्य बन्नका लागि मुख्य चार कुरा अपरिहार्य हुन्छन् । आकर्षण, पँहुच पूर्वाधार विकास र नागरिक सक्रियता । ती चार कुरा सम्पन्न भएका पर्यटकीय गन्तव्य नेपालमा कति छन् । कस्ता खालका पर्यटकहरूलाई कुन स्थानमा घुमाउन लैजाने भन्ने सरकारसँग ठोस कार्यक्रम छैनन्। पर्यटकीय गन्तव्य बन्नका लागि पहिलो आवश्यकता पूर्वाधार विकास हो । तर, यस्ता पूर्वाधार विकासमा राज्यले खासै लगानी गरेको छैन । पूर्वाधार विकास नै नगरि हचुवाको भरमा भ्रमण वर्ष घोषणालाई सार्थक उपलब्धि हासिल गर्न कठिन छ । पर्यटन विकासका लागि गुरुयोजना अपरिहार्य हो । बाटो, सवारी साधन, स्तरीय होटल विस्तार, विद्युत्को पहँुच, इन्टरनेट सेवा युक्त गन्यव्य बनाउनु राज्यको पहिलो कर्तव्य हो । पूर्वाधारयुक्त स्थानको बारेमा पर्यटकहरूलाई जानकारी गराउनुपर्दछ । तामझाम गरेर उद्घाटन, भाषण, गोष्ठी अनि नेताहरूसँगको सेल्फी संस्कृतिले पर्यटक नेपाल भिœयाउन सकिँदैन । नेपालमा भएका पर्यटकीय गन्तव्यको ब्राण्ड विदेशीहरूलाई कसरी बेच्ने ओझेलमा परेका पर्यटकीय स्थलहरूलाई सार्वजनिक गर्ने कार्यक्रममा बढी ध्यान पु¥याउनु वाञ्छानीय हुनेछ ।