विराटनगर  / प्रदेश १ बाट चालू आर्थिक वर्षको पुस १३ गतेसम्ममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । पक्राउ पर्नेमा विप्लव समूहका पोलिटब्यूरो सदस्यदेखि जिल्ला इञ्चार्ज, सचिव र सदस्यसम्म रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीले पक्राउ गरेको विप्लव समूहका कार्यकर्तालाई चन्दा ऐन, राज्यविरुद्ध कसूर, बम विष्फोटक पदार्थ, साङ्गठनिक अपराध, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकतासम्बन्धी कसूर, हातहतियार तथा खरखजाना लगायतका विभिन्न मुद्दा चलाउने गरेको छ । प्रहरीले पक्राउ गरेकामध्ये २१ जना हिरासतमा छन् । १४ जना धरौटी बुझाउन नसकेर र १४ जना पुर्पक्षका लागि गरेर २८ जना कारागार चलान भएका छन् ।

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले उनीहरूलाई पक्राउ गर्न सर्च अभियान शुरु गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवालीले प्रहरीको सक्रियता बढी भएकाले विप्लव समूहका नेता कार्यकर्तालाई पक्राउ गर्न सफल भएको बताए । ‘प्रहरीले सक्रियता बढाएपछि पक्राउ परिरहेकाले मात्रै उनीहरूको सक्रियता प्रदेश १ मा बढी देखिएजस्तो हो’ –उनले भने ।

प्रहरीले निगरानी बढाएपछि पक्राउ पर्ने र आत्मसमर्पण गर्ने क्रम पनि बढेको उनले बताए । प्रदेश १ अन्तर्गत सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाका विकट स्थानलाई उनीहरूले सेल्टरका रूपमा प्रयोग गरिरहेको र त्यस क्षेत्रमा केही गतिविधि देखिएको भए पनि सुरक्षाको दृष्टिले नियन्त्रणबाहिर जाने अवस्था भने नरहेको उनले बताए । ‘यी तीन जिल्लाबाहेक खोटाङ र ओखलढुङ्गाको पूर्वी क्षेत्रमा विप्लव समूहको गतिविधि अन्यत्रको तुलनामा बढी देखिएको छ’ –डिआइजी ज्ञावलीले भने । ठूलो र सङ्गठित सैन्य समूह भने कतै पनि नदेखिएकाले मान्छे तर्साउन केही गरिहाल्छन् भन्ने अवस्था भने नरहेको प्रदेश प्रहरी प्रमुख ज्ञवालीले बताए । सुरक्षा संयन्त्रले विप्लव समूहका हरेक क्रियाकलाप र गतिविधिलाई नजिकबाट नियालिरहेको र उनीहरूका धेरै सूचना सुरक्षा निकायको पहुँचमै रहेको उनले बताए ।

प्रदेशका १४ वटै जिल्लाका इञ्चार्जहरू पक्राउ परिसकेकाले प्रदेशमा उनीहरूले शक्ति सञ्चय गर्न र सङ्गठन विस्तार गर्न सक्ने अवस्था हाल नरहेको प्रहरीको भनाइ छ । सङ्गठन विस्तार गर्न इञ्चार्जहरूले जिल्लाबाट चन्दा सङ्कलन गरेर उनीहरूका सेनालाई पठाउने गरेका हुन् । जिल्ला इञ्चार्ज र सदस्यहरू नै धमाधम पक्राउ परेपछि यहाँ उनीहरूले सङ्गठन विस्तार र शक्ति सञ्चय गर्न नसकेको प्रहरीले जनाएको छ । प्रदेश १ का १४ वटै जिल्लाका विप्लव समूहका इञ्चार्ज पक्राउ गरिसकेको प्रहरीको दाबी छ । पछिल्लो केही महिनायता विप्लव समूहका नेता कार्यकर्ताले आत्मसमर्पण गर्ने र पक्राउ पर्ने क्रम बढेको छ ।

ताप्लेजुङ जिल्ला इञ्चार्ज सागर लिम्बू र सेक्रेटरी नरपति पौडेल, कोशी ब्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ पुष्कर, पाँचथर इञ्चार्ज राजु दास, मोरङ इञ्चार्ज प्रज्वल भनिने कृष्णकुमार श्रेष्ठ, मोरङ जिल्ला जनसरकार प्रमुख विकल्प भनिने दीपक राई, सङ्खुवासभा संयोजक रमेश कार्की र सोही जिल्लाका सेक्रेटरी छिरिङ शेर्पा भनिने पेमाछिरी शेर्पा, उदयपुर जिल्ला इञ्चार्ज लक्ष्मण पौडेल, इलाम जिल्ला अध्यक्ष दीपेन राई, सुनसरी जिल्ला युवा सङ्गठन संयोजक सागर राई, झापा जिल्ला इञ्चार्ज सुमन सिंह बस्नेतलगायत पक्राउ परिसकेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै प्रहरीले विप्लव समूहका मेची–कोशी इञ्चार्ज ४१ वर्षीया उमा भुजेल, मोरङ इञ्चार्ज नरेश भनिने कृष्ण चौंलागाईं, मेची–कोशी ब्यूरो कार्यालय सचिव तथा झापा इञ्चार्ज सुमनसिंह पौडेल र क्षितिज पौडेल पनि पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

स्थानीय तह र उद्योगमा विप्लवको चन्दा आतङ्क विप्लव समूहले स्थानीय तह र उद्योग कलकारखानाहरूमा चन्दा मागेर आतङ्क सिर्जना गरिरहेको भए पनि यसबाट आतङ्कित नहुन प्रदेश प्रहरीले अनुरोध गरेको छ । चन्दा माग गरेको कुरा समयमै जानकारी गराउने हो भने आफूहरूले त्यस्ता व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाही गर्ने प्रदेश प्रहरी प्रमुख डिआइजी ज्ञवालीले बताए । समयमा जानकारी नगराउने र क्षति भइसकेपछि मात्रै चन्दा माग गरिएको कुरा जानकारी गराउँदा चन्दा माग्ने प्रवृत्तिले थप प्रश्रय पाइरहेको उनले बताए । विप्लव समूहका नेताहरूलाई कतिपय ठूला ठेकेदारहरूले पनि आर्थिक सहयोग गरिरहेको प्रहरीको दाबी छ । ठेकेदारहरूले उनीहरूलाई प्रयोग गरेर आफ्ना स्वार्थ पूरा गर्ने र बदलामा आर्थिक सहयोग गर्ने गरेको सूचना आएको प्रहरीको भनाइ छ ।

विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा प्रदेश एकमा एक प्रहरीसहित तीन जनाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । गत वैशाखमा भोजपुरको मैयुङ क्षेत्रमा भएको भिडन्तमा विप्लव समूहका तीर्थ घिमिरेको मृत्यु भएको थियो । त्यस्तै असारमा भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा भएको भिडन्तमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको गोली लागेर मृत्यु भएको हो ।