धरान/ ‘ब्राण्डिङ’ अभावमा नेपालका कृषिजन्य उत्पादनमध्ये सुन्तलालाई अझै विश्वबजारमा पु¥याउन सकिएको छैन । नेपाल सरकारले कृषिजन्य उत्पादनहरूलाई ‘ब्राण्डिङ’ गर्न नसक्दा सुन्तलाजस्ता फलहरू विश्व बजारमा पुग्न नसकेको हो । ब्राण्डिङ गर्ने दायित्व सरकारको हो । अहिले तीन तहको सरकार छ । तर, पनि कुनै पनि सरकारले ब्राण्डिङ गर्नेबारेमा नसोच्दा यस्ता फलहरू नेपाली बजारमै सीमित बनेका छन् ।

जसका कारण किसानले भनेजस्तो मूल्य पाउन सकिरहेका छैनन् । ‘यस्ता काम सरकारले गर्नुपर्छ, विश्व बजारमा नपु¥याए पनि भारतको राम्रो बजारमा त पु¥याउन सकिन्छ’ –धरानका अर्थबारे जानकार कृष्ण अग्रवाल भन्छन् । उनका अनुसार सुन्तलामात्रै नभई नेपालमा धेरै कृषिजन्य वस्तुहरूलाई विश्व बजारमा पु¥याउन सकिने अवस्था रहेको छ । ‘ब्राण्डिङमा हामी प्रवेश नै गर्न सकेका छैनौं, सरकारले पाइला चाल्यो भने सबैले सहयोग र सपोर्ट गर्न सक्छ’–उनले थपे । सुन्तला उत्पादनको अवस्थालाई हेर्ने हो भने पूर्वी पहाडी जिल्लाको धनकुटा प्रमुख मानिन्छ भने भोजपुर, खोटाङ, तेह्रथुम, इलाम जिल्लामा पनि उत्पादन हुन्छ ।

तर, धरानमा आउने अधिकांश सुन्तला धनकुटा, भोजपुर र तेह्रथुमका हुन् । धरानको कृषिउपज बजारस्थलमा आर्थिक वर्ष २०७५/७६ मा ७ हजार ५ सय १९ मेट्रिक टन सुन्तला आएको तथ्याङ्क छ । उक्त आर्थिक वर्षमा औषत मूल्य ७० रुपैयाँ प्रतिकेजी रहेको कृषिउपज बजारस्थलका बजार व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । धनकुटामा पनि खोकुका सुन्तला रसिलो र एकदमै स्वादिलो मानिन्छ । तर, यी सुन्तलाहरू नेपालकै बजारमा खपत भइरहेको छ । जसका कारण मूल्यमा एकरूपता छैन ।

सरकारले ब्राण्डिङ गरेर सिङ्गापुर, थाइल्याण्ड, बर्मा र भारतका राम्रा बजारहरूमा पु¥याउनसके देशलाई नै आर्थिक रूपमा फाइदा पुग्ने अग्रवालको तर्क छ । त्यसका लागि बजार सर्वे गरेर अगाडि बढ्नसके राज्यलाई नै फाइदा पुग्नेछ । त्यसको प्रत्यक्ष लाभ किसानले लिनेछन्, व्यापारीहरूले लिनेछन् । ब्राण्डिङ गर्ने सवालमा तत्काललाई सम्भव देख्दैनन् राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमका संयोजक डा. उमेशकुमार आचार्य । तर, सरकारले चाहेको खण्डमा असम्भव भने नभएको उनी बताउँछन् ।

‘तीन तहको सरकार छ । सरकारले सडकलाई मात्रै विकास भनिरहेका छन्, कृषि मेरो पकेट क्षेत्र हो भनेर पकेट क्षेत्रअनुसार लगानी गर्ने हो भने असम्भव छैन’ उनी भन्छन्, ‘ब्राण्डिङ गर्ने कुरा ठूलो पनि होइन, इच्छाशक्ति भयो भने तुरुन्त हुन्छ ।’ धनकुटा पारि पात्लेले मात्रै ४० टन सुन्तला उत्पादन गर्दै आएको छ । ४ सय रोपनीमध्ये १ सय ६० रोपनीमा बगैंचा फैलिएको छ । धरानको कृषिउपज बजारस्थलबाट मात्रै एक अर्ब बराबरको सुन्तला बिक्री हुँदै आइरहेको छ ।

धरानमा सुन्तलाको थोक व्यापार गर्दै आइरहेका ज्ञानबहादुर बस्नेतका अनुसार १६ मेट्रिक टन जति बिक्री गर्ने गरेको बताउँछन् । मूल्यका हिसाबले अढाई करोड बराबरको सुन्तला बिक्री गर्दै आइरहेका छन् । उनीजस्ता थोक व्यापारीहरूको सङ्ख्या ४ छ भने खुद्रे व्यापारीहरू पनि उत्तिकै रहेका छन् । यस वर्ष करिब ९ हजार ५ सय मेट्रिक टन कारोबार हुने अनुमान गरिएको छ । ‘व्यापारी तथा कृषकको भनाइलाई आधार मान्दा यो पटक बढी कारोबार हुने देखिन्छ’ बजारस्थलका व्यवस्थापक भट्टराई भन्छन्, ‘गत वर्षभन्दा ४० प्रतिशतभन्दा बढी फल्ने अनुमान गरेका छन् ।’