दमक / पञ्चायतकालमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीमा ‘हाट बजार’ बसाइएको ऐलानी जग्गामा व्यापारीहरूले कब्जा जमाएका छन् ।
स्थानीय अगुवाहरूले व्यापारिक प्रयोजनका लागि व्यापारीहरूलाई २०२१ सालमा भूमिसुधार लागू भएपछि अस्थायी पट्टापुर्जा प्रदान गरेका थिए । पट्टापुर्जा प्राप्त गरेका व्यापारीहरूले बजारको जग्गा किनबेच गर्दै आफ्नो नाममा पारेका हुन् । अहिले सोही बजार भएर हुलाकी मार्ग निर्माणको चरणमा छ ।

तर, व्यापारीहरूले हुलाकी मार्ग विस्तारले बजारको जग्गा काटिन लागेको भन्दै अवरोध गर्दै आइरहेका छन् । गौरीगञ्ज गाउँपालिकाले हुलाकी सडकका लागि मध्यबिन्दु एकिन गर्दै दुवैतर्फबाट १५–१५ मिटर नाप लिन थालेपछि व्यापारीहरूले विरोध गरेका हुन् । नेपाल सरकारले हुलाकी सडक निर्माणका लागि १ अर्ब ५० करोड रूपैयाँमा गौरीगञ्जको रतुवा खोलादेखि २९ किलोमिटर पूर्व बाटो निर्माण गर्न ठेक्का लगाइसकेको छ ।

गाउँपालिकाले ऐलानी जग्गा भएकाले विरोध गर्नुको कुनै तुक नरहेको जनाएको छ । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बजारको जमिन संरक्षण गर्नका लागि गाउँपालिकाले नै कानूनी बाटो अँगाल्ने बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने भनी स्पष्ट व्यवस्था रहेको उनले बताए । गाउँपालिकाले चाहेको खण्डमा बजारका जग्गाहरू फिर्ता लिन सक्ने बताए ।

यस्तो थियो विगत
करिब ५ दशकअघि ऐलानी रहेको जग्गा भूमिसुधार लागू भएपछि जमिनदार भीमप्रसाद चौधरीले २५ बिघा १ कठ्ठा जग्गा बजार विस्तारका लागि दिएका थिए । समाजसेवी भक्तबहादुर कर्णेललगायतको अगुवाइमा खजुरगाछी बजारमा पसलहरू बसाइएको थियो । व्यापारिक प्रायोजनका लागि उनीहरूलाई अस्थायी पट्टापुर्जा बनाई तत्कालीन गाउँपञ्चायतले पसल वहाल कर उठाउँदै आएको थियो ।

तत्कालीन गाउँ पञ्चायतका वडाध्यक्ष पर्वत राजवंशी भन्छन्, ‘प्रत्येक पसलहरूसँग पसल हेरी पञ्चायतले कर उठाउने गथ्र्याे ।’ वि.सं. २०२४ सालमा तत्कालीन प्रधानपञ्च चैतु राजवंशीले गाउँसभाबाट निर्णय गरी पसल हेरी १ सयदेखि २ सय पचास रूपैयाँसम्म कर उठाउने गरेको तत्कालीन वडाध्यक्ष राजवंशीले बताए । २०३६ सालमा गाउँपञ्चायतका प्रधानपञ्च हीराकाजी श्रेष्ठ थिए । गाउँ फर्क राष्ट्रिय अभियानका समयमा उनले केही व्यक्तिलाई बजारको जग्गाको धनीपुर्जा दिलाएका थिए ।

क्रमिकरूपमा विभिन्न समयमा बजारको ऐलानी जग्गा राजनीतिक पहुँच र पैसाको चलखेलमा व्यक्तिको नाममा दर्ता भयो । करिब ५० जना व्यापारीहरूलाई जग्गाको अस्थायी निस्सा अर्थात् पट्टापुर्जा बनाई तत्कालीन गाउँपञ्चायतले कर उठाउँदै आएको थियो । अहिले पनि कतिपय व्यापारीसँग पट्टापुर्जा नै छ । त्यसैका आधारमा उनीहरू बजारको जग्गा भोगचलन गरिरहेका छन् । खजुरगाछी बजारमा बसोबास गर्ने एक पुराना व्यवसायीले भने, ‘मसँग पनि जग्गाको पट्टापुर्जा नै छ । धेरै पटक जग्गा दर्ता गर्ने प्रयास गरियो तर भएन । टाठाबाठाहरूले जग्गा दर्ता गरे । कतिपयले जग्गाधनी पुर्जा बनाई बेचबिखन पनि गरिसकेका छन् ।’

तत्कालीन खजुरगाछी गाविसका पुराना कर्मचारी श्यामनारायण सिंह गन्गाईले वि.सं. २०२८ सालको फिल्ड बुकमा दिएका पट्टापुर्जाहरू गाउँ पञ्चायतकै सम्पत्ति रहने भनी उल्लेख भएको बताए । व्यापारीहरूलाई व्यापारिक प्रयोजनका लागि दिए पनि पछि आवश्यक परे फिर्ता गरी गाउँ पञ्चायतले खाली गराउन सक्ने भनी गाउँ पञ्चायतको निर्णयसमेत रहेको तत्कालीन गाउँ पञ्चायतका निर्णय पुस्तिकाहरूमा पढेको पुराना कर्मचारी गन्गाईले बताए ।