रङ्गेली/ धर्म, संस्कृति र मानव जातिसँग अन्योन्याश्रित सम्बन्ध भएको वनस्पति हो बाँस । हाम्रो धर्म,संस्कृतिसँग जति घनिष्ट छ, बाँस घरमा पनि त्यतिकै उपयोगी छ । त्यतिमा मात्र सिमित छैन बाँस, आर्थिक गर्जो टार्न पनि अत्यन्त सहयोगी सिद्ध भएको छ ।
खासै मेहेनत नगरी किसानले सजिलै हुर्काउन सक्ने बाँसको माग राम्रो छ । बाँस व्यापारी किसानको घर आगन मै पुग्छन् । खोल्सा, खोल्सी, सुख्खा र बञ्जर जमिनमा सहजै हुर्कने बाँस किसानको आयस्रोत बनेको हो । बाँस खेतीको लागि किसानले खासै मेहन गर्नु पर्दैन । बाँसको तामालाई सामान्य सुरक्षाबाहेक गोडमेल र सिँचाइको झन्जट पर्दैन ।
किसानको घरायसी प्रयोजनमा सिमित रहँदै आएको बाँसले बजार पाउन थालेको छ । खेती नहुने खोल्सा खोल्सी र नदि किनारमा लागएको बाँस खरिद गर्न व्यापारी घरमै आउने किसानहरू बताउँछन् । खोलाले कटान गर्ने भएर खेतको सुरक्षाको लागि लगाएको बाँसबाट पनि राम्रो आम्दानी हुने गरेको रङ्गेली नगरपालिकाका किसान भक्तबहादर खत्रीले बताए । उब्जनी नहुने र खोला किनारको एक डेढ कठा जमिनमा लगाएको बाँसबाट वार्षिक एक सय घना सम्म बेच्ने गरेको उनले बताए ।
मोरङ सुनसरीमा बाँसको खेती नै गर्ने किसानको सङ्ख्या कम छैन । उब्जनी नहुने खेतबारीमा लगाएको बाँसको बिक्रीबाट गर्जो टार्ने किसान मनग्य छन् । घरायसी प्रयोजनका लागि लगाएको बाँस पछिल्लो समय राम्रै मूल्यमा बिक्री हुने गरेको छ । शहरीकरणको विस्तारसँगै बाँसको माग पनि बढेर गएको छ । पहिला गाँउटोलमा बिक्री सिमित रहेको बाँस खोज्न व्यपारी घरमै आउने गरेको धनपाल थानका किसान विजु चौधरीले बताए । गाँउ टोलमा एक दुई घना बिक्ने बाँस आजकाल व्यापारीले झाङ नै उठाउने उनले बताए । गाँउमा ६०÷७० रुपैयाँ घना बिक्ने बाँसलाई व्यापारीले एक सयसम्म दिने गरेको उनले बताए ।
जन्मदेखि मृत्यु संस्कारसम्म बाँस प्रयोग हुने गर्छ । नेपाली समाजको संस्कृतिसँग जोडिएको बाँस अहिले धेरै किसानको जीविकोपार्जनको माध्यमसमेत बन्न थालेको छ । घरायसी रूपमा मात्र प्रयोग गर्दा झ्याङ मै सडेर जाने अवस्थाको बाँस अहिले आयको राम्रो स्रोत बन्न थालेको हो । शहरी करणसँगै बासको माग बढेको छ । अहिले ग्रामीण क्षेत्रमा सडकको विस्तारले बाँस झ्याङसम्म व्यापारी पुग्न थालेका हुन् । ‘गोटा गन्ती होइन हामी त झ्याङ नै उठाउने गर्छौं ।’
व्यापारी सलिम खानले भने ‘बजारमा ल्याएर २ सयदेखि २ सय ३० रुपैयाँ घनासम्म बेच्ने गर्छौं ।’ गाँउबाट बयल गाडामा ल्याउने व्यापारीले विराटनगरमा टोलटोल घुमाएर पनि बाँस बेचने गर्छन् । धेरै जसो उनीहरूको बाँस गाडी नै बिक्ने गरेको व्यापारी खानले बताए । टेन्ट हाउस, घर निर्माण गर्ने ठेकेदार, सहरबासीले बाँस किन्ने गरेको उनले बताए । कटहरी गाँउपालिका,धनपालथान गाँउपालिका,जहदा गाँउपालिका,रङ्गेली नगारपालिकालगायतका ग्रामीण क्षेत्रबाट बाँस विराटनगर ल्याउने गरेको उनले बताए ।
बाँसको माग विराटनगरमा राम्रो रहेको व्यापारी वद्रीप्रसाद गुप्ताले बताए । उनी विगत डेढ दशक देखि रोडशेष चोकमा गाउँबाट डुलुवा व्यपारीले ल्याएको बाँस बिक्री गर्दै आएका छन् ।‘मोरङ पथरी, रङ्गेली, भाउन्ने क्षेत्रबाट आउने बाँस पहिलाको जस्तो राम्रो हुँदैन ।’उनले भने ‘सुनसरीको देवानगञ्ज, हरिनगरा,छिटाहा,भोक्राहातिरबाट राम्रो बाँस आउँछ ।’ गाडामा ल्याएका बाँस व्यापारीले २ सय ३०÷४० सम्म घनाको लिने गरेको उनले बताए । उनले विराटनगरमा २ सय ६०/७० घना बिक्री गर्ने गरेका छन् । बाँस हेरेर त्यसको मूल्य निर्धारण हुने गरेको उनले बताए ।
गाँउमा बाँस सङ्कलन गरेर विराटनगरमा बिक्री गर्ने अधिकांश व्यापारी भारतीय हुने गरेका छन् । भारतभन्दा नेपालमा बाँसको कारोबार गर्न सहज हुने गरेकाले यता आउने गरेको व्यापारीहरू बताउँछन् । उनीहरूले बयल गाडीमा गाँउबाट बाँस सङ्कलन गरेर विराटनगरसम्म ल्याउने गरेका छन् । एउटा बयल गाडामा ७० देखि ८० घनासम्म बाँस ल्याउने गरेका छन् ।