उदयपुर/ जङ्गलको साल हुँदै खाद्यबालीमा प्रवेश गरेको अमेरिकन फौजी किराले धान बाली खाएर नष्ट गरेपछि उत्पादनमा ह्रास आएको छ । उदयपुरको विभिन्न ठाउँमा लगाइएका धान फौजी किराले खाएर नष्ट गरी क्षति गरेपछि गत वर्ष भन्दा ४ हजार ७ सय ८१ मेट्रिक टन धान कम उत्पादन भएको हो ।
चालु आर्थिक वर्ष २०७६/०७७मा करिब १२ हजार ७ सय ११ हेक्टरमा मात्रै धान लगाइएको थियो । त्यसमध्ये ३ सय ५० हेक्टर क्षेत्रफलको धान फौजी किराले खाएर नष्ट गरी क्षति गरेपछि उत्पादनमा कमी आएको कृिष ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मिले बताए । आव २०७६÷०७७ मा ४७ हजार ९ सय २० मेट्रिक टन धान उत्पादन भएको छ । जुन प्रति हेक्टर ३ दशमलव ७७ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्कले देखाएको छ । फौजी किराको प्रकोपले गत वर्षभन्दा ४ हजार ७ सय ८१ मेट्रिक टन धान कम उत्पादन हुँदा करिब २९ लाख २९ हजार रुपैयाँ बराबरको क्षति भएको रेग्मीले बताए ।
किराले बेलका नगरपालिकामा १ सय हेक्टर क्षेत्रफलमा लगाएको धान नष्ट गरेको थियो भने उदयपुरगढी गाउँपालिकामा ७ हेक्टर, त्रियुगा नगरपालिकामा २ सय ९ हेक्टर र चौदण्डीगढी नगरपालिकामा ३४ हेक्टर क्षेत्रफलको धान, मकै फौजी किराले खाएर नष्ट गरी क्षति गर्दा ३ हजार १ सय ५३ घर परिवार प्रभावित भएको रेग्मीले बताए । जिल्लामा धान हुने सिञ्चित क्षेत्रफल ४६ हजार ७ सय ३२ हेक्टर रहेको छ भने ३ हजार ३ सय ७१ हेक्टर क्षेत्रफल मौसमी धान जुन आकाशे पानीले धान रोप्ने गरेको कृिष ज्ञान केन्द्र उदयपुरको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा करिब १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । उक्त क्षेत्रफलमा ५१ हजार ५ सय १३ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क छ । जुन प्रति हेक्टर ३ दशमलव ८६ मेट्रिक टन धान उत्पादन भएको छ । आव २०७४÷०७५ मा १२ हजार ६ सय ६५ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । उक्त क्षेत्रफलबाट ५१ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ । जुन प्रति हेक्टर ४ दशमलव ०३ मेट्रिक टन उत्पादन भएको देखिन्छ ।
अघिल्लो वर्षभन्दा यस वर्ष लामो खडेरीले गर्दा कम रोपाइँ भए पनि पाक्ने सिजनमा फौजी किराको प्रकोपले गर्दा धान उत्पादनमा गिरावट आएको छ । करिब ३ वर्ष पहिला जङ्गलको सालमा देखिएका फौजी किरा खाद्यबाली मकै, कोदो र कोशेबाली हुँदै धानमा प्रवेश गरेपछि उत्पादनमा गिरावट आएको हो । नेपालको अवस्थामा कृिषमा नयाँ प्रकोपको रूपमा आएका अमेरिकन फौजी किराको प्रकोप नियन्त्रण गर्नका लागि कृषकहरूमा जनचेतनाको अभाव देखिएको छ । किरा नियन्त्रण गर्नका लागि फौजी किराको माउलाई पासो थापेर माउ नष्ट गर्नु नै उचिन हुने ज्ञान केन्द्रले जनाएको छ ।
किराको माउ मार्नको लागि राती बत्ती बालेर बत्ती मुनि बाल्टिनमा पानी राखेर मार्न सकिन्छ । धान बालीमा किरा लाग्यो भने २/४ दिन खेतमा पानी लगाउँदा पनि नियन्त्रण गर्न सकिने रेग्मीले बताए । किराको प्यूपा जमिनदखि करिब १ मिटरभित्र हुने भएकाले पानीको खाल्टा बनाएर नियन्त्रण गर्न सकिने उनले बताए । सबै ठाउँमा पानी नहुने भएकाले किरा नियन्त्रण गर्नका लागि समस्या देखिएको छ । किराको प्रकोप नियन्त्रण गर्नका लागि अन्तिम उपाय भनेको विषदी नै रहेको ज्ञान केन्द्रले जनाएको छ ।