इटहरी/ इटहरी क्षेत्रमा सुन पसलेहरूका कारण सयांै बचतकर्ताहरूको बिल्लीबाठ भएको छ ।

धेरै ब्याजको लोभमा सुन पसलमा राखेको पैसा फिर्ता पाएका छैनन् । सुन पसलेहरू एक पछि अर्को कारण देखाउँदै हात उठाउन थाले पछि बचतकर्ताहरूको रुवाबासी मच्चिन थालेको हो । करिब दुई वर्ष अगाडि केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले इटहरी उपमहानगरपालिका–२० का सुन पसलमा छापा मारेसँगै यहाँको व्यापारमा गिरावट आउन थाल्यो । व्यापारमा गिरावट मात्र नभएर यहाँका व्यवसायीहरूले गैरकानूनी रूपमा वित्तीय कारोबार गर्दै आएको खुल्न थाल्यो ।

तरहरामा सुन व्यवसाय गर्दै आएका रमेश गजमेरले ७ चैत्र २०७४ मा आत्महत्या गरे । रामधुनी ७ पञ्चायन घर भएका गजमेरले तरहरास्थित मनकामना ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । उनले तरहराका स्थानीय मानिसहरूको ऋण लिएको र चर्को ब्याज शुल्क तिर्दै आएका थिए । तर, पछि उनले सर्वसाधारणको ऋण फिर्ता गर्न नसकेका कारण आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भयो । त्यस्तै इटहरी प्रहरीले गैरकानूनी काम गर्ने दुई जना सुन पसलेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–६ स्थित कान्तिपुर गहना भण्डारका सञ्चालक सुवास श्रेष्ठ र दोर्ण श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरूलाई नेपाल राष्ट्र बैङ्कबाट बैकिङ कारोबारको अनुमति नलिई सुन पसलमार्फत पासबुक छपाइ गरी पैसा सङ्कलन गरेको आरोपमा पक्राउ गरेको हो । उनीहरूले लाखौं रुपैयाँ सर्वसाधरणहरूको तिर्नै बाँकी रहेका कारण पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

इटहरी–८ का मधुमाया कटवालको ४ लाख ४६ हजार, मनिका कटवालको ६ लाख ६० हजार, वराहक्षेत्र नगरपालिका–२ बस्ने रञ्जिता कटवालको ७० हजार, इटहरी–५ बस्ने तारा आचार्यको १ लाख, इटहरी–८ बस्ने कमला श्रेष्ठको २ लाख र मोरङ सुन्दरहरंैचा–५ बस्ने लालचन्द बस्नेतको ५ लाख २९ हजार पैसा फिर्ता नगरेको भन्दै प्रहरीमा जाहेरी दिइएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । सुन पसलेहरू एकपछि अर्को बहानामा फरार हुन थालेका छन् । तरहरा क्षेत्रमा मात्र दर्जन भन्दा बढी सुन पसलेहरू फरार भएका हुन् । तरहरास्थित सिंहदेवी ज्वेलर्सका सञ्चालक दीपक गजमेरले तरहराका सर्वसाधारण मानिसहरूको पैसा लिएर तिर्न नसक्दा अहिले कारागारमा रहेका छन् । करिब १५ करोड रुपैयाँ भन्दा बढी रकम उनले तिर्न नसेकेपछि अहिले उनी झुम्का कारागारमा रहेका छन् ।

उद्योग बाणिज्य सङ्घ तरहराका अध्यक्षसमेत रहेका सुमन गिरी पनि फरार छन् । एक वर्षको भाका राखेर सर्वसाधारणबाट लिएको रकम फिर्ता गर्ने भनिए पनि उनले पैसा तिर्न नसक्दा अहिले पीडितहरू रुष्ट बनेका छन् । यता तरहराको किरातेश्वर ज्वेलर्सका सञ्चालक नरबहादुर राईले पनि बचतकर्ताको करोडौँ रुपैयाँ पैसा तिर्न नसक्दा पीडितहरू रुष्ट बन्दै आएका छन् । तरहराकी इन्दिरा भण्डारीले स्थानीयको डेढ करोड भन्दा बढी पैसा ऋणको रूपमा चलाएको भए पनि फिर्ता नगरेका कारण अहिले सर्वसाधारण आक्रोशित छन् । स्थानीय महेन्द्रकुमारी बस्नेतको मात्रै १४ लाख रुपैयाँ भण्डारीले ऋण मागेको भए पनि लामो समय हुँदा पनि फिर्ता नगरेपछि उनी आक्रोशित थिइन् ।

यता तरहराका सामाजिक अगुवा धु्रव भण्डारीले भने गैरकानूनी रूपमा आर्थिक सङ्कलन गर्नु नै गलत रहेको तर्क गरे । यहाँका व्यापारीहरूले अवैध कारोबार गर्नु नै ठगीको कारण रहेको भए पनि सर्वसाधारणको रकम नतिर्नुले झनै बढी ठगी भइरहेको भण्डारीले सुनाए । इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले भने वडाले आर्थिक कारोबारमा केही पनि गर्न नसक्ने बताए । उनले अहिले तरहरामा कुनै पनि पसलमा पैसा नराख्नका लागि आफूहरूले सचेत गराउँदै आएको जानकारी दिए । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले भने वित्तीय कारोबारको अनुमति नलिईकन कारोबार गर्न नपाउने भए पनि तरहराका व्यापारीहरूले उक्त कारोबार गरेकाले सर्वसाधारणको रकम जोखिममा रहेको औँल्याए । उनले भने ‘ब्याजमा पैसा लिएर पासबुक बनाउने गरेका रहेछन् । यस्तो गर्नेलाई अनुमतिबिना बैकिङ कारोबार गरेसरहको कारबाही हुन्छ ।’