तराई क्षेत्रमा शीतलहर अत्यधिक बढेको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु तथा कुहिरो लागेका कारण तामक्रम घट्दो अवस्थामा छ । शीतलहर ‘हुने खानेहरू’का लागि समान्य अवस्था हो तर ‘हँुदा खानेहरू’का लागि शीतलहर ‘ज्यानमारा’ अवस्था पनि हो । यति बेला तराईमा शीतलहर र चिसोका कारण मानिसको ज्यान जाने क्रम शुरु भएको छ । विशेष गरेर पुस माघभरिमा यो तराईमा ज्यान जानेहरूको तथ्याङ्क अङ्कगणितीय रूपमा वृद्धि हुनेछ । जाडो मौसममा हुने शीतलहर गरिबसँग सम्बन्ध राख्दछ । जो गरिबीको रेखामुनि जीवन बिताइरहेका छन्, उनीहरूरु शीतलहरको शिकार हुने गरेका छन् ।

राष्ट्रिय योजना आयोग र अक्सफोर्ड पोभर्टी एण्ड ह्युम्यान डेभलपमेन्ट इनिसिएटिभ ओपीएचआईले सन् २०१७ मा गरेको अध्ययन प्रतिवेदन अनुसार प्रदेश नम्बर ६ मा ५१.२२ प्रतिशत मानिसहरू बहुआयामिक गरिबीको रेखामुनि रहेका छन् । प्रदेश नम्बर २ मा ४७.९७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि छन् । प्रदेश न. ५ मा २९.९२ प्रतिशत र प्रदेश ७ मा यो दर ३३.५६ प्रतिशत रहेको अध्ययनले देखाएको छ । प्रदेश नम्बर ३ मा १२.२४ र ४ मा १४.१९ प्रतिशत, प्रदेश १ मा १९.७ प्रतिशत मानिस बहुआयामिक गरिबीको रेखामुनि रहेको देखाइएको छ । समग्रमा २८.६ प्रतिशत नेपाली बहुआयामिक गरिबीको रेखामुनि रहेको प्रतिवेदनले देखाएको छ । चिसो मौसममा यी २८.६ प्रतिशत मानिसहरू बढी प्रभावित हुने गरेका छन् । विशेष गरेर २८.६ प्रतिशत मानिहरू नै शीतलहरको शिकार हुने गरेका छन् । यो एउटा प्राकृतिक प्रकोप हो । यसलाई मानिसले नियन्त्रण गर्न सम्भव छैन। यसबाट बच्न तथा हुने क्षति न्यूनीकरणका लागि सुरक्षित हुने र सचेतता अपनाउनु नै उत्तम उपाय हो ।

राज्यले आफ्ना नागरिकलाई शीतलहरबाट जोगाउन प्रभावित समयमा न्यानो बाँडेर मात्र पुग्दैन । प्रभावित क्षेत्रमा बेलैमा सचेतना अभियान सञ्चालन गर्नु पर्दछ । गरिबीको रेखामा रहेका नागरिकको जीवनस्तर उकास्न राज्यले रोजगारमुखी योजनाहरू ल्याउनुपर्दछ । उनीहरूलाई सम्पन्न बनाउन सकियो भने जाडोको समयमा आफै सुरक्षित हुन सक्छन् । विभिन्न सङ्घसंस्था, दाताहरूले प्रभावित क्षेत्रमा न्यानो कपडा वितरण गरी सेल्फी खिच्ने र रमाउने भन्दा पनि उनीहरू आफै न्यानो कपडा किन्न सक्ने हैसियत बनाउने उपाय खोजिदिनु चाहिँ महानता हो । एक पटक दिएकाले उनीहरूको जुनी बित्दैन । तर, दाता तथा राज्यले उनीहरूको जीवनस्तर उकास्न रोजगारमूलक योजना गाउँगाउँमा पु¥याउनु पर्दछ । उनीहरूलाई सबल बनाउन सकियो भने पटक पटक न्यानो कपडा बाँडिरहनु पर्ने छैन। शीतलहर प्राकृतिक प्रकोप भएकाले यसबाट जोगिन बेलैमा सावधानी अपनाउनु पर्दछ ।