ताप्लेजुङ / ‘पुसे मेला भेटभाको बेला, माया लाउनु नि लै लै धानै नाचेर’ गायक खगेन्द्र यक्सोले गाएको यो गीत पुस लाग्नासाथ पूर्वी पहाडका विभिन्न स्थानमा गुञ्जिने गर्छ । वर्षायाममा लगाएको खेतीपाती मङ्सिरमा थन्क्याएपछि फुर्सदिला बनेका यहाँका स्थानीय पुस र माघ महिनाभर विभिन्न मेला तथा महोत्सवमा व्यस्त हुन्छन् । २ महिनाको फुर्सदको समयमा चासोक तङ्नाम, पुसे मेला, माघे मेलालगायतका विभिन्न मेलाको गाउँ–गाउँमा स्थानीय युवाहरू मिलेर आयोजना गर्छन् ।

बर्सेनि आयोजना गरिने यस्ता कार्यक्रम ३ देखि ५ दिनसम्म आयोजना गरिन्छ । मेलामा जानको लागि एक महिना अघिदेखि नै तयारी हुन्छ । टाढा–टाढाका साथीसँग भेटघाट, सोल्टी–सोल्टिनीको ठट्टा यस्ता मेलाका मुख्य विशेषता हुन् । पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुमलगायतका स्थानमा प्रायःजसो ठाउँमा मेलाको आयोजना गरिन्छ ।

ताप्लेजुङमा पनि विभिन्न स्थानमा मेलाको आयोजना गरिएको छ । विगत ४५ वर्षदेखि निरन्तर लाग्दै आएको पुसे मेला अहिले पनि जारी छ । परम्परागत संस्कार झल्काउँदै तमोर र मैवाको सङ्गमस्थल दोभान बजारमा चार दशकदेखि लाग्दै आएको पुसे मेला यो वर्ष पनि विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथ चलिरहेको छ ।

पुस १ गतेबाट शुरु भएको मेलाले युवा पुस्तादेखि बूढापाकासम्मलाई तानेको छ । लालाबाला डो¥याउँदै पुसे मेला भर्नेको भीड यो वर्ष पनि कम नभएको मेरिङ्देन गाउँपालिका–३ का चन्द्रबहादुर चोङ्बाङ बताउँछन् । गाउँपालिकाको ऐतिहासिक मेला भएकाले मेरिङ्देन गाउँपालिकाले पौष २ गतेदेखि ४ गतेसम्मका लागि सार्वजनिक बिदा नै दियो । वारिपारिका साथीभाइ भेला भएर तीतो–मीठो साटौं, भेट हुने चौतारो बनाऔं भनेर मेलाको शुरुवात भएको चोङ्बाङ् सम्झन्छन् ।

मेलास्थल हालका तीनवटा गाउँपालिकाका १८ वटा वडाको केन्द्र पनि हो । तत्कालीन खाम्लुङमा मात्रै नअटेर छिमेकी गाविस चाँगेमा पनि मेला विस्तार गरिएको थियो । शुरुमा तीन दिन मात्रै लगाउने भने पनि मानिसको जमघट बढ्दै जाँदा स्वतःस्फूर्त पाँच दिन लाग्न थालेको दोभान बजारका बासिन्दाको अनुभव छ । यसवर्ष हान्द्रुङदेखि दोभानसम्मको ¥याफ्टिङ, किसानले ल्याएका विभिन्न प्रजातिका कृषि उपजहरू, सांस्कृतिक झाँकी मेलाका विशेष आकर्षण बनेका छन् ।

खाद्य परिकार, फुटबल तथा भलिबल प्रतियोगिता मेलामा दर्शक भुलाउने माध्यम बनेका छन् । राष्ट्रिय कलाकारहरू प्रमोद खरेल, ज्योति मगर, याङ्की ह्योल्मु, भरतमणि पौडेल आदिको प्रस्तुतिले मेलाको बिहीबार साँझ रमाइलो बनाएको थियो । मेवाखोला माथिको पुलमा आवत–जावत गर्नेहरूले सुरक्षाकर्मीलाई धौधौ बनाएका थिए । परम्परादेखि नै मेलामा आउने युवायुवतीहरू एकापसमा हात समाएर धान नाच्ने, मन माझामाझ गर्ने र मिले विवाह गर्ने क्रम यो वर्ष पनि चल्यो ।

टेलिफोनमार्फत् पहिल्यै चिनाजानी भए पनि मेलास्थलमै भेट भएर विवाह गर्ने पुरानो चलन हो । तमोर र मेवालाई साक्षी राखे जीवन सुखमय हुन्छ भन्ने विश्वास युवायुवतीमा छ । मुलुकमा सशस्त्र द्वन्द्व चलिरहँदा दुई वर्ष मेला नलागे पनि ४० वर्षयता अघि र पछि भने नरोकिएको पुसे मेला बजार व्यवस्थापन समितिका संयोजक हेम चोङ्बाङले बताए । यो वर्ष महोत्सव अवलोकनमा ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनकुटादेखिका मानिस सहभागी भएको व्यवस्थापन समितिका सचिव गणेश कार्की ढोलीले जानकारी दिए ।