बिर्तामोड /  खोलाजन्य सामग्रीको निकासी शुल्क गतबर्षको तुलनामा दोब्बर बनाए पछि झापाको मेचीनगरका ब्यवसायी आन्दोलित बनेका छन् । ब्यवसायीले निकासी शुल्क घटाउन नगरपालिकासँग माग पनि गरेका छन् ।
नगर क्षेत्र भएर बग्ने खोलाबाट सामाग्री उत्खनन, संकलन र निकासी गर्दा असुल गर्ने शुल्क दोब्बर बनाएपछि ब्यवसायीते त्यसको बिरोध गरेका हुन् । गतबर्ष २ सय ५० रुपैंयाँ प्रतिट्याक्टर कर तिरेको पुरुवालाई यषबर्ष ४ सय २५ रुपैंयाँ असुल गर्न थालिएको ब्यबसायी देबेन्द्र अर्यालले बताए । उनले यो बर्ष मिक्सगिटीको ३ सय ५० बाट ६ सय ७८ र बालुवाको ३ सय ८५ बाट ५ सय ५० रुपैंयाँ तिर्नुपरेको जानकारी दिए ।
नगरपालिकाले तोके अनुसारको शुल्क तिरेर मेचीनगरमा निर्माणको काम गर्न नसकिने अर्यालले बताए । उनले शुल्क घटाएर ब्यवसाय गर्ने वाताबरण बनाउन माग पनि गरेका छन् । ‘सबैभन्दा प्रभावित चै बिगतको दररेटमा ठेक्का लिएर काम गर्दै गरेका ब्यवसायी हुनेछन्–अर्यालले भने–‘उनीहरुले कि चै घरबारी बेचेर काम गर्नुपर्याे, कि चै ठेक्का छोडेर भाग्नु पर्याे ।’ बजारमा गएर सामग्रीको मुल्य नै भन्न नसक्ने अवस्था रहेको उनले बताए ।
नगरमा एक हजार बढी ट्याक्टर सञ्चालनमा छन् । अर्का ब्यवसायी देवु खड्काले ब्यवसायीको ढाड सेक्ने गरी बृद्धि भएको करले पलायन हुने चिन्ता बढेको बताए । उनले शुल्क घटाउनका लागि खोलाजन्य सामग्री नउठाउने, अरुलाई उठाउन नदिएर पुर्णरुपमा बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम ल्याइने बताए । ऋण लिएर घर निर्माण गर्दै गरेकालाई सबैभन्दा धेरै समस्या हुने चर्काे कर खारेज गर्न उनले आग्रह गरेका छन् ।
नदीजन्य पदार्थ उत्खनन, संकलन र निकासीका लागि गतबर्ष ५ करोड ४ लाख रुपैंयाँमा ठेक्का लागेको थियो । इटहरीको विनिता श्री ट्रेड एण्ड सप्लायर्सले २ लाख २८ हजार घनमिटर नदीजन्य सामग्री उत्खनन, संकलन र बिक्री गर्ने अनुमति पाएको थियो । यो बर्ष २ लाख १६ हजार ६ सय ६५ घनमिटर सामग्री उत्खनन, संकलन र बिक्रीको जिम्मा सोही कम्पनिले पाएको छ । यो बर्ष ४ करोड ३३ लाखमा ठेक्का लागेको छ । रोचक कुरा त के छ भने ठेक्का अंक घटेको भएपनि निकासी कर दोब्बर बनाइएको छ । संकलन गर्ने परिणाममा पनि खासै फरक देखिएको छैन ।
मेचीनगर नगरपालिकाका पुर्वाधार विकास समितिका संयोजक कृष्ण कनालका अनुसार गतबर्ष पहिलो किस्ता तिरेपछि ठेकेदार संस्थाले अर्काे किस्ता तिर्न सकेन । त्यसपछि नगरपालिकाले बैंक जमानतबाट असुल गरेको उनले बताए । यो बर्ष प्ररदेश सरकारले उत्खनन, संकलन र निकासी दर तोकेको हुनाले बिगत बर्षको भन्दा दोब्बर हुुन पुगेको जानकारी उनले दिए ।
‘गतबर्ष नगरपालिकाले ३५ रुपैंयाँ २८ पैसा प्रतिघनमिटर संकलन र ७० रुपैंयाँ ५६ पैसा निकासी शुल्क तोकेको थियो, कनालले भने–‘यो बर्ष प्रदेशले ७० रुपैंयाँ ५६ पैसा संकलन र १ सय ४१ रुपैंयाँ १२ पैसा प्रतिघनमिटर निकासी दस्तुर तोकेको छ, त्यसकारण मुल्यबृद्धि भएको हो ।’ यो बषदेखि प्रदेशले नदीजन्य सामग्रीको उत्खनन, संकलन, बिक्री र निकासी शुल्क तोकेको उनले बताए । उनले इ–बीड गरेर ठेक्का लगाउँदा समेत बिगतमा ‘घाटा भएर’ किस्ता तिर्न नसकेको इटहरीको फर्मले नै ठेक्का पाउँनु संयोग मात्र भएको बताए ।
‘केही स्थानीय तहले गलत ढंगले नै शुल्क निर्धारण गरेका छन्, जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले भने–‘हामी अध्ययन गरेर बिवाद अन्त्य गर्न पहल गर्ने छौं ।’ उनले प्रदेश सरकारले तोकेको दररेट भन्दा फरक दर तोक्ने अधिकार स्थानीय तहलाई नभएको बताए ।
शुल्कमा अत्याधिक बृद्धि भएको भन्दै मेचीनगरका ब्यवसायीले खोलाजन्य सामग्री संकलन गर्न बन्द गरेका छन् । ‘निर्माणको अन्तिम अवस्थामा रहेका संरचनालाई रोकेका छैनौ, एकजना ब्यवसायीले भने–‘तर नियमित संकलन गर्नेलाई भने महङगो शुल्क तिरेर नलैजान भन्ने गरेका छौं ।’ मेचीनगर नगरपालिकाले प्रदेश सरकारसँग समन्वय गरेर शुल्क घटाउन पहल गर्ने बताएको छ ।