यसपटक एक साताभित्र भएका विश्वका दुई ठूला सौन्दर्य प्रतियोगिताको नतिजा अलि फरक देखियो । डिसेम्बर ८मा भएको ६८ औं मिस युनिभर्सको उपाधि दक्षिण अफ्रिकाकी जोजिबिनी तुन्जीले जीतिन् भने डिसेम्बर ८मा भएको ६९औं मिस वल्र्डको उपाधि जमैकाकी टोनी एन सिंहले जितिन् । विश्वका चर्चित दुई ठूला सौन्दर्य प्रतियोगिताको ताज कालो वर्णका सुन्दरीको शिरमा परेपछि सौन्दर्यको मानक बदलिएको हो ? भन्ने चर्चा शुरु भएको छ । सुन्दरता के हो ? अनि सौन्दर्यको मानक के हो ? भन्ने विषयमा विश्व बजारमै पटक पटक बहस हुने गरेको छ । सुन्दरता रूपमा खोज्ने कि गुणमा ? यो आफैंमा विवाद र प्रत्यक्ष बहसको विषय पनि हो । तर, विश्व बजारमा फैलिरहेका सौन्दर्य प्रतियोगिताहरूले गोरो छालालाई सौन्दर्यको पहिलो मानक स्थापित गरेका छन् । गोरो छाला, अग्लो कद भएका मात्र सुन्दर हुन् भन्ने मानसिकता हाबी भएको विश्वमा पछिल्लो समय कालो वर्णका सुन्दरीले ताज पहिरिइरहँदा सौन्दर्यको मानक बदलिएको हो वा बजार बदलिएको हो भन्ने प्रश्न पनि सँगै आउन थालेको छ ।

अहिलेसम्मको मिस वल्र्डको इतिहास हेर्दा भेनेजुएला र भारतका युवतीले बराबर ६ पटक प्रतियोगिता जितेका छन् भने बेलायतले ५, साउथ अफ्रिका, अमेरिका, आइस्ल्याण्ड, जमाईका र स्विडेनले तीन÷तीन पटक जितेका छन् । त्यस्तै चीन, रुस, पेरु, अष्ट्रिया, जर्मनी, अर्जेन्टिना, अष्ट्रेलिया, नेदरल्यान्ड र कोष्टारिकाले दुई दुई पटक जितेका छन् । विश्वका ठूला सौन्दर्य प्रतियोगिताहरूका अहिलेसम्मका नतिजा हेर्दा गोरो वर्णका युवतीहरू सबैभन्दा धेरै पटक विजेता बनेका छन् । कालो वर्णका युवतीहरू अत्यन्तै न्यून सङ्ख्यामा मात्र सुन्दरी प्रतियाेिगताका विजेता बनेका छन् । सौन्दर्य प्रतियोगितालाई यसका विरोधीहरूले सौन्दर्य प्रशाधनको व्यापारका लागि रचिएको नाटक भन्ने गरेका छन् । विश्वको सौन्दर्य प्रतियोगिताको इतिहास हेर्दा पनि यो बजारसँग सम्बन्धित देखिन्छ । त्यसैले विश्वको सौन्दर्य बजारसँगै यस्ता प्रतियोगिता निर्देशित हुने गरेको आरोप लाग्ने गरेको छ । शुरुको समयमा साउथ अमेरिकाबाट भित्रिएको सौन्दर्य प्रतियोगितामा त्यसपछि युरोपियनको दबदबा रह्यो । युरोपपछि भारतीय उपमहाद्विपमा प्रवेश गरेको सौन्दर्य प्रतियोगिताको चार्म चाईना पुग्यो र घुम्दै फिर्दै पुनः अमेरिका, युरोप पुग्यो । तर, पछिल्लो समय अफ्रिकातिर सरेको छ । पहिलेका दिनमा जसलाई सौन्दर्यको मानक मानिन्थ्यो अहिलेको पुस्ताले त्यसलाई नमानिन पनि सक्छ ।

सौन्दर्यको मानक समय, स्थान र परिस्थिति अनुसार फरक पनि हुन सक्छ । आधुनिक पुस्ताको फराकिलो दिमागको उपज पनि सुन्दरताका पुराना मानक भत्किएर रूपमा होईन गुणमा सुन्दरता खोज्नेहरूको बाहुल्यता पनि छ । यसपटकका दुवै प्रतियोगिताले कालो वर्णका युवतीलाई विजेता बनाउनुको अर्थ विश्वको चेतना अभिवृद्धिसँगै सौन्दर्यको मानक बदलिएको पनि सही हो । तर, त्यसभन्दा बढी अबको सौन्दर्य बजार अफ्रिकातिर केन्द्रित हुने सम्भावना पनि हो । अहिलेको विश्व बजार चाइनाको हातमा गइरहेको छ । अफ्रिकी मुलुकहरूमा चाइनाको लगानी बढिरहेको सन्दर्भमा सौन्दर्य प्रतियोगिताका विजेताहरूले पनि अबको सौन्दर्य बजार अफ्रिकी वा कालो वर्ण केन्द्रित हुने सङ्केत देखाएको छ ।