धरान/ भारतीय पाउडर दुध प्रतिबन्धित भएपछि वराहक्षेत्रका दर्जन गाउँमा मासिक ४ करोड ८० लाख रुपैयाको दुध उत्पादन हुन थालेको छ । स्थानीय कृषकहरूले उत्पादन गरेका ताजा दुध मध्ये ४० प्रतिशत इटहरी र तरहराका डेरीले खपत गर्ने गरेका छन् भने ४५ प्रतिशत धरान र इटहरीका १० हजार बढी घरघरमा पुग्ने गरेको छ ।
वराहक्षेत्रका कालाबन्जर, रामझोडा, सिमरवन, विशाल चोक, धनपुरी, पिडारी, सालबनी, चक्रघट्टी, राजाबास, प्रकाशपुर, मधुवनका करिब ३ हजार किसानले गाई भैंसीको दुध उत्पादन गरेर शहर पठाउने गरेका छन् । गाउँमा उत्पादित ताजा दुध शहरी उपभोक्ताका चुलासम्म पुग्न थालेपछि स्थानीय कृषकले मूल्य पाएका छन् । मोटरसाइकल र साइकलमा सङ्कलन गरेर घरघर पु¥याउने साना दुग्ध व्यवसायीलाई बढी मार्जिन राख्न सकेका छन् र उपभोक्ताले स्वस्थ र ताजा दुध सेवन गर्न पाएका छन् । गाउँका अधिकांश दुध उत्पादक साना किसानहरूले मासिक रूपमा करिब १५ देखि २० हजार रुपैयाँ बचत गर्न सक्ने भएका छन् । गाउँमा सरदर प्रतिलिटरमा २० रुपैयाँ मार्जिन राखेर कृषकबाट सङ्कलन गर्ने र श्रम समय र खाजा पानीको खर्च कटाउँदा प्रतिलिटर १० रुपैयाँ मार्जिन रहने दुग्ध व्यवसायीहरूले बताए । दैनिक सय लिटर भन्दा बढी दुध बिक्री गर्नेले मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म आय आर्जन गर्न सकेका छन् ।
रामझोडाका साना दुग्ध व्यवसायी नवीन कोइरालाले भने, ‘भारतीय पाउडर दुध नेपालीबजारमा ल्याउन प्रतिबन्ध लगाएसँगै गाउँमा साना दुग्ध उत्पादकहरूको सङ्ख्या पनि बढेको छ । यसले गर्दा एक दुईवटा गाई भैंसी पाल्ने साना किसानहरूलाई दुईचार पैसाको जोहो गर्न सहज भएको छ ।’ गाउँघरको ताजा दुध शहरी उपभोक्ता र होटलवालाहरूले मन पराउन थालेपछि मोटरसाइकलको दुईतिर ट्यामी राखेर धरान, इटहरी धाउने दुधवाला युवा व्यवसायीको सङ्ख्या पनि बढेको उनले बताए । उनले भने, ‘वराहक्षेत्रको गाउँघरमा विहान प्रातःकालै दुध सङ्कलन गरेर शहर पु¥याएर बिक्री गर्नेहरूको सङ्ख्या पनि करिब डेढ दुई सय पुग्छ । रोजगारी पनि भयो । आम्दानी पनि भयो ।
दैनिक सातआठ लिटर दुध उत्पादन गर्ने घरमा पाँच सात सय कमाइ हुन्छ भने कृषकले उत्पादन गरेको दुध सङ्कलन गरेर बजारमा दैनिक सय लिटर जति ल्याएर बेच्नेले पनि दैनिक हजार बाह्रसय आम्दानी गर्न सकेका छन् ।’ कोइराला आफै पनि वराहक्षेत्रकमा २० घरबाट विहान ताजा दुध सङ्कलन गरेर धरानका ८० घरमा दैनिक वितरण गर्छन् । उनले यो पेशा अँगालेको ६ वर्ष भयो । गाउँघरका किसानको गाई भैंसी गोठबाट सङ्कलन गरेको दुध पास्चराइज गरिएको हुँदैन । पाश्चराइज नगरेको दुध बाक्लो, घ्यूसरीको शतप्रतिशत क्रिम भएको हुन्छ । जुन स्वादिलो र बालबालिका विरामी सबैलाई पोषणयुक्त मानिन्छ ।
धरानमा दैनिक सय लिटर ताजा दुध ल्याउने वराहक्षेत्रको भरौलका विनोद दाहालले स्थानीय कृषकहरूले उत्पादन गरेका ताजा दुध सबैभन्दा बढी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक, नर्स र कर्मचारी आवासमा खपत हुने गरेको बताए । उनले दुध बेच्ने पेशा अपनाउँदा आफू रातारात धनी नभए पनि घरपरिवारको जीविका चलेको बताए । उनले भने, ‘भारतीय पाउडर दुध नेपाली उपभोक्ता बजारमा जताततै रहेको बेला गाउँको ताजा दुधले बजार पाउन सकेको थिएन । तर, भारतीय पाउडर दुधमा प्रतिबन्ध लगाएपछि गाउँमै विहान सङ्कलन गरेर मोटर साइकल, साइकलमा दुध ल्याएर शहरका उपभोक्ताका घरघरमा पु¥याउनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।’
भरौल कालाबन्जरका दुग्ध व्यवसायी तथा कृषक भविन्द्र कार्कीका अनुसार सामान्यतया भैंसीको दुध बाक्लो हुने र गाईको दुध पातलो हुन्छ । बजारमा पास्चराइज गरेको डेरीको दुध प्रतिलिटर ८० रुपैयाँसम्म छ । तर, गाउँबाट मोटरसाइकल, साइकलमा सिधै शहरमा ल्याएको ताजा दुध भने सरदर ८५ देखि ९० रुपैयाँ प्रतिलिटरका दरले बिक्री गर्ने गरेका छन् । गाउँमा गाई भैंसीको गोठै हुनेहरूले अरू कृषकबाट सङ्कलन नगरी आफ्नै गाइ भैंसीको मात्र दुध ल्याउने गरेका छन् । सङ्कलकहरूले स्थानीय कृषकहरूबाट गाईको ५५ रुपैयाँ प्रतिलिटर र भैंसीको ६५ रुपैयाँ प्रतिलटरले किनेर शहरसम्म ल्याउने गरेका छन् ।