जाँते/ विदेश जाने तरखरमा रहेका २१ वर्षीय निर्मल बोहोराको योजना बिल्कुलै फेरियो । आफ्नै ठाउँको माटोमा पसिना बगाउँदै थालेको टमाटर खेतीबाट आर्थिक प्रगति गर्दै उनको फरक पहिचान बनेको छ ।
निर्मल र उनका काका वसन्त मिलेर १ बिगाहा क्षेत्रफलमा यसपटक लगाएको टमाटर खेतीले राम्रो आम्दामी गरेपछि बोहोरा परिवार दङ्ग छ । ‘अहिलेसम्म ८ लाखको बेचिसकियो । अझै ४,५ लाख जतिको हुन्छ होला ।’– खुशी व्यक्त गर्दै निर्मलले भने । त्यति आम्दामी दिने टमाटर खेतीका लागि १ लाख २० हजार लगानी भएको छ । उनीमात्र होइन, लेटाङ ९ को जाँतेका दर्जनौं परिवार टमाटर खेतीको प्रगतिबाट दङ्ग छन् । टमाटर खेतीले अझ त्यहाँ त तरकारी खेतीको व्यावसायिक अभियानमा ठूलो प्रोत्साहन गरेको छ ।
उसै पनि जिल्लामा तरकारी खेतीका हिसाबले कीर्तिमान बनाएको जाँतेमा उत्तरी मोरङ कृषि महिला सहकारी संस्थाले टमाटर खेतीको लहर नै ल्याउने काम गरेको छ । ०६५ सालमा स्थापित सहकारीले ३ वर्ष अघिदेखि प्रधानमन्त्री कृषि कार्यक्रम अन्तर्गत ४ लाख अनुदानको टमाटरको उि वितरण गर्यो । प्रधानमन्त्री कृषि कार्यक्रमको तरकारी पकेट कार्यक्रममार्फत २ लाख र संस्थाको २ लाख गरी ४ लाख रकमबाट ३ सय २० जना शेयर सदस्यलाई बिउ प्रदान भएको थियो ।
त्यसमध्येमा पनि १ सय घर परिवार कृषकले व्यावसायिक टमाटर खेती गरेर मनग्ये आर्थिक उन्नती गरेपछि टमाटर खेतीको हिसाबले पनि जाँतेको थप परिचय फैलिएको छ । ‘हाम्रो पनि परिचय अनि आर्थिकस्तर फेरिएको छ भने जाँतेको पनि परिचय झन फैलिएको छ ।’– व्यावसायिक टमाटर खेती सञ्चालन गर्ने कृषकमध्येकी नरमाया आले मगरले थपिन् । नरमायाले अरूबेला धान लगाएर वर्षको ३०,४० हजार आम्दामी लिने १० कठ्ठा जग्गामा लगाएको टमाटरले २ लाख कमाइसकेकी छन् । अब बाँकी सबै बेचिसक्दा ६ लाख बढी आम्दामी हुने अवस्था छ ।
२० वर्ष विदेश बसेर आएका घनश्याम खतिवडा, १२ वर्ष विदेश भोगेर आएका गोपालप्रसाद अधिकारी सहितका कृषकहरू अहिले आफ्नै जमिन खनजोत गरी त्यसैबाट राम्रो आम्दामी लिन सकेर अरूका लागि पनि पे्रेरणा बनेका छन् । १४ वर्ष अघि त्यहाँका कमल खड्काले ‘त्रिशुल’ जातको टमाटरको व्यावसायिक खेती थालेपछि त्यहाँको माटोमा सो जातको टमाटर फस्टाउने पुष्टि भएको थियो ।
उत्तरी मोरङ कृषि महिला सहकारी संस्थाले तरकारी पकेट कार्यक्रम अन्तर्गत ३ वर्षमा ९ लाख सरकारी रुपैयाँ प्राप्त ग¥यो । पहिलो वर्ष व्यावसायिक कृषकहरूका लागि टनेल, क्यारेट, काँटा प्रदान गरेको थियो । कम्तिमा डेढ सय बिगाहा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती लगाउने सहकारीको योजना छ । ‘अर्थात् कृषकहरूको सक्रियताले टमाटर खेती अभियान सञ्चालन भएको छ । यसमा थप व्यवस्थित गर्न तरकारी उत्पादनको ‘ब्लक’ कार्यक्रम माग गरिरहेका छौं ।’– सहकारीकी सचिव भूमिका मगरले संस्थाको अभियान यसरी प्रष्ट्याइन् ।
उनले तरकारीको बजारीकरणका लागि सहकारीबाट ‘तरकारी अनुगमन तथा बजारीकरण समिति’ गठन गरिदिएको छ । समितिले बजार भाउ निर्धारण गरेर तरकारीको बजारीकरण गर्ने हुँदा कृषकले तरकारीको उचित मूल्य पाउन सकेको पनि जानकारी गराइन् । ‘४० रुपैयाँदेखि ६० रुपैयाँ किलोसम्ममा यसवर्ष टमाटर बिक्री भइरहेको छ ।’– उनी भन्छिन् । तरकारीका लागि ‘ब्लक’ र त्यसपछि ‘जोन’ हुँदै ‘सुपरजोन’ क्षेत्र बनाउने कुरामा कृषकहरूको उत्साह रहेको सुनाइन् । ‘तर, यी बृहत्कार्यक्रम सञ्चालनका लागि सरकारले हिँउदमा पनि पानी पर्याप्त हुने गरी सिंचाइको प्रबन्ध गरिदिनुपर्छ ।’– उनले आवश्यकता औंल्याइन् ।
यहाँको अलि भिरालो परेको जमिनमा ट्यूबवेल गाडेर पानी आउँदैन । खोला हिँउदमा सुक्ने हुँदा डिप बोरिङको व्यवस्था गर्नुपर्ने आवश्यकता भएको वडाध्यक्ष कृष्णप्रसाद लुइँटेलले बताए । उनले भने ‘सिंचाईको नियमित प्रबन्ध गर्न सक्दा नगर र वडाले समेत कृषि प्रवद्र्धनका थप योजनाहरू ल्याएर जाँतेलाई प्रदेशकै नमूना तरकारीखेती क्षेत्र बनाउन सकिन्छ ।’ सहकारी संस्थाको अगुवाइमा नगरपालिका कार्यालय, कृषि ज्ञान केन्द्र तरहरा सहितको टोलीले टमाटर खेतीको अवलोकन गरेको छ । त्यसबेला टमाटर कृषकहरूले आवश्यक तालिम, सहुलियतमा उपकरण तथा सिंचाइको प्रबन्ध गरिनुपर्ने सुझाव दिएका छन् ।