पाँचथर / ऐतिहासिकस्थल फिदिम–४ स्थित सुम्हात्लुङपरिसरमा आज (बुधबार) देखि चासोक मेला शुरु भएको छ ।
बर्सेनी आयोजना गरिँदै आएको चासोक उत्सव रमाइलो मेलासहित शुरु भएको मेला आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपजः संरक्षण एवम् विकास प्रतिष्ठानका अध्यक्ष उपेन्द्र लाओतीले बताए । यसवर्षको चासोक मेला ५ पुषसम्म चल्नेछ । चासोक मेला अन्तर्गत ऐतिहासिक सुम्हात्लुङ मन्दिरपरिसरमा सामूहिक न्वागी पूजा गरिनेछ । मेलामा चौथो सुम्हात्लुङ मिनी म्याराथुन आयोजना हुनेछ ।

मेलामा लिम्बू कविता प्रतियोगिता, पालाम् गायन, केःलाङ, हाक्पारे, सङ्गीनी, बालन, मारुनी नाच, डम्फु नाच, तामाङ सेलो, धामी नाच, साकेला नाच, हुर्रा नाच प्रस्तुति र पक्लुङ लेप्मा(छेलो हान्ने) खेल हुनेछ । व्यवसाय प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजारीकरणका लागि विभिन्न जातजातिको साँस्कृतिक परिकार तथा भेषभूषाको स्टल राखिएका छन् ।

किराती अन्तर्गतका राईहरूले ‘साकेला÷साकेन्वा’, सुनुवारहरूले ‘स्याँदर’ र याक्खाहरूले ‘फोलस्याँदर’ पर्वको नामले मनाउने उँधौली अर्थात् न्वागी पूजालाई लिम्बू समुदायले भने ‘चासोक तङ्नाम’ को रूपमा महŒवका साथ मनाउँछन् ।

प्रकृतिपूजक लिम्बूहरूले पाकेको नयाँ अन्नबाली सबैभन्दा पहिलो प्रकृति र देवीदेवतालाई चढाएर मात्र मानिसले खाने गर्दछन् । यसो गरेमा कुनै दुःख–बिराम नहुने, अन्नको सह रहने जनविश्वास छ । यसलाई नै चासोक तङ्नाम भनिएको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लाओतीले बताए ।

लिम्बू जातिले प्रत्येक घर–घरमा चासोक गरे पनि पछिल्लो समय विभिन्न सङ्घ–संस्थाहरूको पहलमा यो पर्वलाई सामूहिक तरिकाले उत्सवको रूपमा मनाउन थालिएको हो ।