सुनसरी । नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेका छैनन् ।
उनीसँग न कुनै कागजात छ, न त कोही सहारा नै छन् । आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट बञ्चित भएका हुन् । ‘मलाई जन्मेको ठाउँसमेत जानकारी छैन’–भुजेलले भने । विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताए । उनी नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगरस्थित एक होटलमा काम गर्न थालेका हुन् । विराटनगरबाट काम सिकेपछि भुजेल अहिले इनरुवाको न्यु विशाल सेकुवा कर्नरमा काम गर्दै आएका छन् ।
उनलाई न आमाबुबा, न त घरको बारेमा नै जानकारी छ । यहाँ काम गर्नुअघि उनको नाम चङ्खे थियो । अहिले उनी अर्जुन भुजेलको नामबाट चिनिन थालेका हुन् । भुजेल एक वर्षदेखि यहाँ काम गर्दै आएका छन् । ‘आमाबुबा र जन्मस्थानका विषयमा थाहा नहुँदा नागरिकता बनाउन समस्या भएको छ’–उनले भने । उनले नागरिकता बनाउन पहल गरिदिन सबैसँग आग्रह गरेका छन् । (रासस)